छुच्चो र प्रतिपक्षी पत्रकारिता

498

शंकरसिह धामी
जीवनमा पत्रकारिता पेशा नै गर्ने अठोट गरी पत्रकारितामा होमिएको मलाई यो क्षेत्रमा सक्रिय भएको डेढ दशक पूरा भएको छ । पत्रकारिता क्षेत्रबाट समाज र देशको सेवा मात्रै नभएर ज्ञान र प्रसिद्धि पनि देखेको थिए मैले । यही पक्षले मलाई पत्रकारिता क्षेत्रमै सक्रिय बनायो । पत्रकारिता सुगमबाट होइन दुर्गमबाट गर्नुपर्छ । सञ्चारमाध्यमको धेरै विकल्प नभएको ठाँउबाट पत्रकारिता गर्नुपर्छ भन्ने मान्यता थियो र आफ्नै गृहजिल्लाबाट पत्रकारिता थालनी गर्ने अठोटका साथ काठमाण्डौबाट डेढ दशकअघि दार्चुला पुगेको थिए ।
दार्चुलाबाट नियमित पत्रिका प्रकाशनको थालनी गरियो । लगत्तै दैनिक पत्रिका प्रकाशनको जमर्को गरियो । जबकी त्यतिबेला जिल्लामा असफेट प्रेसको सुविधा नै थिएन । तर पनि केही गर्नुपर्छ भन्ने सोच र प्रयासले अगाडि बढ्न प्रेरित गरिरह्यो । आठ वर्षअघि रेडियो स्थापनाको जमर्को पनि गरियो । पत्रकारिता क्षेत्रका सहकर्मीहरुको साथ, सहयोग र ऐक्यवद्धताले थप हौसला दिइरह्यो । दार्चुलामा पत्रकारिता पेशाको थालनीदेखिनै पत्रकार र पत्रकारितालाई हेर्ने, बुझ्ने धेरैका धेरै दृष्टिकोण छन्, प्रदर्शन गर्ने व्यवहार पनि फरक फरक छन् । जुन दृष्टिकोण र व्यवहार देख्दै, भोग्दै आएका छौ । पत्रकारिता पेशामा लागेका हरेक पात्रको संघर्ष, क्रियासिलता, बुझाइ र अनुभव आआफ्नै होला । यहाँ म नितान्त मेरा व्यक्तिगत बुझाइ र अनुभव अभिव्यक्त गर्दैछु ।
पत्रकारिताको थालनीको सुरुवातीदेखि नै म पत्रकारिता पेशामा कसैसंग पनि कम्प्रोमाइज गर्नु हुँदैन भन्ने मान्यता राख्दैआएको छु र त्यहीअनुसारको व्यवहार पनि प्रदर्शन गरेको छुँ । पत्रकार महासंघको दार्चुला शाखा स्थापना होस् कि प्रथम अधिवेशनबाट एक भोटले अध्यक्ष पदमा चुनाव हार्दा होस् कहिल्यै पनि मैले राजनीतिको सहारा लिएको छैन । पेशागत नेतृत्व मात्र होइन, पेशागत धर्म (समाचार कर्म) गर्दा पनि मैले कहिल्यै पेशागत मूल्य, मान्यतालाई नजरअन्दाज गरेको छैन । मेरो ब्रह्माण्ड (विवेक)ले ठानेको तथ्यगत विवरणलाई समाचारमा स्थान दिएको छुँ । आफुले जस्तो सोचे, जस्तो गरे अन्य सहकर्मीले पनि त्यस्तै कडाँ र स्पष्ट पत्रकारिता गरुन भन्ने मेरो प्रयास रहिआएको छ । यसक्रममा केही मित्रहरुले मेरो प्रयासलाई निरन्तर साथ दिदैआएका छन् । म आवद्ध रहेको मिडियाभन्दा फरक मिडियामा आवद्ध भएर पनि पत्रकारिता पेशाको मूल्य, मान्यता र अवस्थाबारे समान धारणा र दृष्टिकोण रहेका साथीहरु पनि छन् ।
सुरुदेखि नै स्पष्ट बोल्ने प्रयास आफुले गरेको ठान्छु । आफुले प्रस्तुत गर्ने अभिव्यक्तिले अर्कोलाई पोल्छ, पेल्छ र ठोक्छ भन्ने थाहा हुदाहुदै म त्यसो गरिरहन्छु । किनकी मेरो स्पष्ट बुझाइ छ, पत्रकारिता शक्ति र अधिकार प्रयोग गर्नेहरुको स्थायी प्रतिपक्ष हो । राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्ति मात्रै होइन, प्रशासनिक र सुरक्षा अधिकारीहरुको स्थायी प्रतिपक्ष पनि पत्रकारिता हो भन्ने ठान्छु । आफ्नो अधिकारको खोजी गर्ने र अधिकार प्रयोग गर्ने नागरिकको पनि प्रतिपक्ष हो पत्रकारिता । किनकी अधिकार र शक्तिको प्रयोग गर्नेको खवरदारी पत्रकारिताले गर्न सक्नुपर्छ ।
एक दशक अघि स्थानीय निकायहरुको सार्वजनिक सुनुवाई कार्यक्रममा सहजिकरण गरिसकेपछि तत्कालिन स्थानीय विकास अधिकारी विष्णुसिह विष्टले चियागफमा भन्ने गर्नुहुन्थ्योर्, हामी सार्वजनिक सुनुवाई गर्न तपाईहरुसंग सम्झौता गर्छौ, बजेट दिन्छौ, कार्यक्रम गराउछौ, तर यहाँहरु सार्वजनिक सुनुवाईमा पनि हामीलाई प्रश्न गर्नेहरुलाई उभ्याउनुहुन्छ त्यतिमात्रै होइन समाचारमा पनि बेस्सरी पेल्नुहुन्छ ।’ उहाँ मेरा इष्टमित्र र शुभचिन्तक हुनुहुन्छ । यद्यपि धेरै औपचारिक कार्यक्रममा उहाँलाई नै मैले कडा प्रश्न र जिज्ञासा राख्ने अवसर आएको थियो । नाता, सम्बन्ध आफ्नो ठाँउमा छ तर पदीय भूमिका निर्वाह गर्नुपर्छ भन्ने स्पष्ट मान्यता मेरो विगतदेखि रहिआएको छ ।
समाचार लेख्दा तथ्यमा आधारित भएर वास्तविकताको उजागर गर्न सक्नुपर्छ । कतिपय अवस्थामा देखिने विवरणभन्दा पनि त्यो विवरणभित्र रहेको सम्बन्धलाई पनि उजागर गर्नुपर्छ । समाचार लेखेपछि कुनै न कुनै व्यक्ति वा पात्रलाई सकारात्मक वा धेरैजसो सन्दर्भमा नकारात्मक असर पार्दछ । तर पनि समाचार रोकिनु हुँदैन । एउटा व्यवसायिक पत्रकारले आफ्नै भाइले कसैको हत्या गरेको छ भने तत्काल आफु आवद्ध सञ्चारमाध्यममा ब्रेकिङ न्युज दिन सक्नुपर्छ । हाकिम र नेता दाईहरुलाई फोन र भेट गरी भाईलाई बचाउने प्रयास गर्ने होइन ।
आफुले लेखेको, भनेको, बोलेको विषयमा धेरैको असहमति आउन सक्छ, विरोध आउन सक्छ, कतिपय अवस्थामा त चुनौती र धम्की पनि आउन सक्छ । भौतिक आक्रमण कै जोखिम हुनसक्छ भन्ने जान्दाजान्दै पनि व्यवसायिक पत्रकारले तथ्यगत कुरा राख्न सक्नुपर्छ । चिनेजानेकै, ठुलाबडा, आफन्तजनलाई नै असर पुर्याउने खबर पनि भन्न, लेख्न र प्रस्तुत गर्न सक्नुपर्छ । अरुले के भन्लान् ? रिसाउने पो हुन् कि ? असहयोग पो गर्ने हुन् कि ? जस्ता मनोवैज्ञानिक डरले पछाडि फर्किनु भनेको पत्रकारिता होइन । कायरले वास्तविक पत्रकारिता गर्न सक्दैन । अरुलाई खुशी बनाएर आफ्नो स्वाथ्र्य पूरा गर्ने प्रयास व्यवसायिक पत्रकारिता हुन सक्दैन ।
डेढ दशकको पत्रकारिता यात्रामा कसैको पनि गुलामी गर्नुपरेन पत्रकारितामा टिकिरहनलाई । पत्रकारिता गर्नलाई कसैको डर, त्रास र आर्शिवादको आवश्यकता महसुन भएन । यद्यपि आफुले उठाएका मुद्दा र समाचारमा आम नागरिक जीवनको सरोकार रहेकोमा ढुक्क हुने गर्छु । कुनै व्यक्ति वा पात्र वा निकाय विशेषको निगाहमा मात्रै पत्रकारिता गर्नुपर्छ, यस्तो पत्रकारिता गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन । आफ्नै पत्रकारिताबारे फर्केर हेर्दा गर्व लाग्छ, आजका दिनसम्म कसैलाई खुशी बनाउने प्रयास गरिएको छैन । कसैप्रति व्यक्तिगत आग्रह र पूर्वाग्रह राखिएको छैन । जे जति भनियो, बोलियो, लेखियो तथ्यमा आधारित भएर । सार्वजनिक सरोकारको विषयलाई स्थान र महत्व दिने गरेको छुँ ।
जस्को विषयमा प्रष्ट रुपमा लेखिन्छ, भनिन्छ, बोलिन्छ ती पक्षको प्रतिक्रिया र बुझाई मप्रति सकारात्मक हुँदैन भन्ने मलाई थाहा छ । उहाँहरुले मन पराउदैनन् भन्ने स्पष्ट थाहा छ । तर पनि म मेरो पत्रकारिता पेशामा ढुक्क छुँ । मैले तथ्यगत प्रस्तुति राख्न सके पो म पत्रकार । स्पष्ट रुपमा बोल्न र लेख्नलाई डराउछु भने म कसरी पत्रकार ? अहिलेसम्म दार्चुलाका कुनै पनि हाकिमलाई दाई भनेर सम्बोधन गरेको छैन । यद्यपि राजनीतिक क्षेत्रका केही पात्रलाई सामाजिक नातासम्बन्धका हिसाबले दाई भनेर सम्बोधन गर्छु ।
कहिलेकाही सोच्दछु यति कडा रुपमा प्रस्तुत भएर किन धेरैको छुच्चो हुनु ? तर निस्कर्षमा पुग्छु कि पत्रकारिता भनेको छुच्चो पेशा हो । कुनै पात्र र प्रवृतिलाई खुशी बनाउन मात्र पत्रकारिता गर्ने हो भने त समर्थक र शुभचिन्तकहरु नै काफी छन् । किन पत्रकार हुनु ? त्यसकारण पत्रकारिता भनेको छुच्चो पेशा हो । छुच्चो मान्छे मात्रै व्यवसायिक पत्रकार हो, दाई पत्रकारिता त धेरैले गर्न सक्छन् । जीवन निर्वाहका लागि मात्रै पत्रकारिता पेशा गर्नेहरु पनि छन् । तर व्यवसायिक पत्रकारिता भनेको छुच्चो हुन्छ । र सधैभरी सत्ता, शक्ति र अधिकारको प्रयोगकर्ताको विपक्षमा हुन्छ भन्ने मेरो स्पष्ट बुझाई छ । विपक्ष भनेको सधैभरी विरोध गरिरहने होइन, रचनात्मक प्रतिपक्ष हो । राम्रोको समर्थन र गलतको खवरदारी गर्नु । मेरो पत्रकारिता पेशाको आधारस्तम्भ पनि यही बुझाई हो ।
पत्रकारिताको विषय, सन्दर्भ र विवरणमा गाम्भीर्यता हुनुपर्छ । तथ्य हुनुपर्छ, महत्व हुनुपर्छ तब मात्रै सार्वजनिक चासो र सरोकारको विषय बन्दछ । सार्वजनिक चासो र सरोकारका विषय मात्रै समाचार बन्दछन् । सत्य र न्यायको पक्षमा पत्रकारिताले वकालत गर्न सक्नुपर्छ । सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा पत्रकार र पत्रकारितासंग नैतिक वल हुनुपर्छ । स्वाथ्र्य हुनुहुँदैन । स्वाथ्र्यरहित पत्रकारिताले मात्रै अरुलाई हल्लाउन सक्छ, थर्काउन सक्छ, सच्याउन सक्छ । मातृभूमि र नागरिक जीवनको भलाईका लागि अरु सबै स्वाथ्र्य, सम्बन्ध र असरलाई तिलाञ्जली दिन सक्नुपर्छ पत्रकारिताले । जय मातृभूमि !

तपाईको प्रतिक्रिया दिनुहोस् !