भ्रमण र उपलब्धि !

178

बझाङको खप्तड छन्ना गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र व्यापारीहरुले गाउँपालिकाको दश लाख खर्च गरेर अवलोकन भ्रमण गर्न गएको कुराको त्यहाँका स्थानीयले सार्वजनिक रुपमै बिरोध गरेका छन् तर उक्त गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी र व्यापारीहरु मात्रै नभएर देशका सात सय त्रिपन्न स्थानीय सरकारमध्ये झण्डै चालिस प्रतिशतले यो आर्थिक वर्षमा अवलोकन भ्रमणका लागि करोडौं खर्च गरेका छन् । न्युनतम् दश लाखदेखि एक करोडसम्म अवलोकन भ्रमणका लागि खर्च छुट्याएका स्थानीय सरकारहरुको अवलोकन भ्रमण उपलब्धिमूलक हुनु पर्ने कुरामा दुई मत हुन सक्दैन तर भ्रमणको उपलब्धी के भयो भनेर न कुनै स्थानीय सरकारले सार्वजनिक गरेको छ न त्यस्तो उपलब्धी आम नागरिकले नै देखेका छन् । बझाङका नागरिकहरुले भ्रमणको बिरोध गरेका भए पनि अवलोकन भ्रमणप्रति आम नागरिकहरु रुष्ट छन् भन्ने ठोकुवा गर्न सकिने अवस्था छैन । किनकि आम नागरिकले भ्रमणकर्मीहरुले अवलोकन भ्रमणबाट प्राप्त ज्ञान, सिपको प्रयोग आफ्नो निकायमा गर्ने विश्वा टुटि सकेको छैन ।
दार्चुलाका स्थानीय निकायका प्रतिनिधि र कर्मचारीहरु पनि विभिन्न अवलोकन भ्रमणमा निस्केका छन् । लाखौंको वजेट खर्च भएको छ, यद्यपि उनीहरुको भ्रमणको उपलब्धी भने न देखिएको छ न उपलब्धी देखिन समय नै भएको छ । तसर्थ भ्रमणको औचित्यमाथि अहिले नै प्रश्न गरिहाल्ने अवस्था छैन तर सहभागिता कसको हुने ? भ्रमणको तयारी, अध्ययन र रिपोर्टिङको पाटो के हुने ? प्राप्त ज्ञान, सिपलाई उतार्न कस्तो कार्ययोजना बन्ने ? त्यस्तो कार्ययोजनाको कार्यान्वयनको स्वरुप कस्तो हुने ? जिम्मेवारी कसको हुने ? नियमनकारी को हुने ? भन्ने जस्ता प्रश्नहरुको भने लेखाजोखा गर्न भने छुट हुनुहुदैन । स्थानीय सरकारहरुले गर्ने भ्रमणका सन्दर्भमा यस्ता प्रश्न अनिवार्य गर्नु पर्ने दिन आएको छ । किनकि हामीले प्रश्न गर्न सकेनौं भने कसैको सोख पूरा गर्ने वहानाका रुपमा भ्रमणहरु आयोजना गरिन सक्छन् ।
अवलोकन भ्रमणमा जनप्रतिनिधिहरु आफै सहभागि हुने वा जुन विषय क्षेत्रको अध्ययन, अवलोकन गर्नु पर्ने हो, उक्त विषय क्षेत्रको कर्मचारीहरुलाई भ्रमणमा खटाई नयाँ योजना बनाउन प्रेरित गर्नु पर्ने हो ? जनप्रतिनिधिहरुले सुशासन, पारदर्शिता र जिम्मेवारीको ज्ञान, सिप लिन अवलोकन भ्रमण गर्ने हो र कर्मचारीले विषयगत क्षेत्रको विकासका लागि भ्रमण गर्ने हुन् भने भ्रमणहरुलाई उपलब्धिमूलक बनाउन सहज हुने देखिन्छ । अहिले विषयगत क्षेत्रको आधारभूत ज्ञान भएको प्राविधिक जनशक्ति समेत स्थानीय सरकारहरुसँग छ । उक्त जनशक्तिको प्रयोग गरेर स्थानीय सरकारले उत्पादन र जनजिविकाको क्षेत्रमा उल्लेखनीय काम हुन सक्छन् । यसप्रति सरोकारवालाहरुको गम्भीर ध्यान जानु अनिवार्य छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !