महाकालीमा बगिरहेकी महिलाको प्रहरीले गर्यो उद्धार

0
1713

विरा दत्त भट्ट, दार्चुला ।
आइतबार विहानै ६ बजे महाकाली नदीमा एक महिला बगिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलालाई खबर आयो । दुम्पानी क्षेत्रमा बग्दै गरेकी महिलालाई पछ्याउदै प्रहरीले जिल्ला अस्पत्ताल गल्फै क्षेत्रबाट महिलालाई उद्धार गर्न सफल भएको छ ।
ब्यास गाउँपालिकाको वडा नं १ घर भएकि ३० बर्षिया सपना ऐतवाललाई महाकाली नदीमा बगेको अवस्थामा प्रहरीले उद्धार गर्न सफल भएको हो ।
प्रहरीलाई जानकारी आउने वित्तिकै ट्युब बोकेर प्रहरी टोली महाकाली नदी किनार पसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीको भनाई छ ।
ट्युब हालेर उद्धार गर्न नसकिएपछि २ जना प्रहरी जवानहरुले महाकाली नदीमै हेलीएर उद्धार गरेका हुन् ।
ब्यासको छाङरु स्थाई ठेगाना भएकि ऐतवाल हाल महाकाली नगरपालिकाको वडा नं ४ तिंकर खेडामा बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीले उद्धार गरेपछि जिल्ला अस्पत्तालमा राखेर उपचार भइरहेको छ । महिलाको अवस्था भने गम्भीर रहेको जिल्ला अस्पत्ताल दार्चुलाका प्रमुख डा. गजेन्द्र दुवालको भनाई छ ।
महिलाको अवस्था गम्भीर र स्थिर छ , अहिले नै भन्न सकिने अवस्था छैन । डा.दुवालले भन्नुभयो ।