मालिकार्जुन धामको महत्व र अवस्था

483

शंकरसिह धामी
दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिकामा अवस्थित मालिकार्जुन धार्मिक क्षेत्र जिल्लाकै प्रमुख धार्मिकस्थलमा रुपमा परिचित छ । इतिहास, परम्परा र पूजापाठ गर्ने संस्कृति तथा भक्तजनहरुको सहभागिताका आधारमा जिल्लाकै प्रमुख धार्मिकस्थलमा रुपमा मालिकार्जुन क्षेत्रलाई स्वीकारिएको छ । परम्परा र संस्कृतिका आधारमा मात्रै होइन सरकारीस्तरबाट समेत मालिकार्जुन धार्मिकक्षेत्रको महत्व बढाउन योगदान भएको छ ।
दार्चुला सदरमुकाम खलंगाबाट ५० किलोमिटरको सडक दूरीमा रहेको मालिकार्जुन धार्मिकक्षेत्रमा मुख्यतः तीन प्रकारको संस्कृति तथा अभ्यास भइरहेको देखिन्छ । पहिलो, परम्परागत रुपमा पूजापाठ । मालिकार्जुन धार्मिकक्षेत्र र यसअन्तर्गत पर्ने शैल्यशिखर क्षेत्रको बारेमा परम्परागत मान्यता रहिआएको छ । भारतको कत्युरबाट धर्म रक्षाका लागि भाग्दैआएका केही पूर्वजहरुको भक्ति र समर्पणले मालिकार्जुन भगवानको वासस्थान श्री शैल्यशिखर क्षेत्र रहेको मान्यता छ । पाल, पन्त, रिठाल, मडाल, अठोला, गोदालो भन्ने सांस्कृतिक तथा जातिगत मान्यता र भूमिका पनि रहिआएको छ । यही परम्परागत मूल्य, मान्यताका आधारमा वुढापाका र कारिन्दाहरुले पूजापाठ गर्दैआएका छन् । विगतदेखि नै हरेक जाती र पक्षलाई केही न केही भूमिका दिइएको छ । जिम्मेवारी छ र मानसम्मान पनि दिइएको छ । रजबार, पन्ना, मुखिया, भणरे, पतरे, भोकरिया जस्ता पदिय जिम्मेवारी समेत बाँडफाँड हुँदैआएका छन् ।
मालिकार्जुनलाई शिवको रुपमा पूजा गरिदैआएको छ । यद्यपि परम्परागत रुपमा मालिकार्जुनको उत्पत्ति, संस्कृति र विकासबारे केही मौलिक मान्यता छन् । मालिकार्जुनको महिमा स्थानीय लोकसंस्कृति खासगरी झोडोमा मौलिक ढंगले प्रस्तुत गरिएको छ । आफ्ना पूर्वजहरुको बसाइसराईसंगै भगवान मालिकार्जुन, लटिनाथ, कैलपाल र वालिचन देवताको स्थापना र भूमिका रहदैआएको मान्यता छ । यो पहिलो परम्परागत संस्कृति र अभ्यासलाई अहिलेसम्म प्रायजसोले निरन्तरता दिदैआएका छन् ।
मालिकार्जुन धार्मिकक्षेत्रको संस्कृति र अभ्यासलाई पछिल्लो समय सरकारीस्तरबाट नयाँ आयाम थपिएको छ । पछिल्ला केही वर्षमा सरकारी बजेट र कार्यक्रमसमेत मालिकार्जुन धार्मिक क्षेत्रका लागि प्राप्त भएका छन् । स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारसम्मले मालिकार्जुन धार्मिक क्षेत्रका लागि आफ्ना कार्यक्रम र बजेट तर्जुमा गरिरहेका छन् । मालिकार्जुनको धार्मिक तथा आध्यात्मिक महत्वभन्दा पनि धार्मिक पर्यटनको विकासलाई सरकारहरुका कार्यक्रम र बजेटले सम्बोधन गर्न खोजेको छ । सरकारको यो पाटोलाई पछिल्लो समय जगतगुरु मोहनशरण देवाचार्यजीले ज्योतिर्लिंग स्थापना गरी थप वल पुर्याएका छन् । मालिकार्जुन दर्शन गर्न आउने भक्तजनले सहज रुपमा मालिकार्जुनको दर्शन गर्न सकुन भनेर दुई वर्षअघि ज्योतिर्लिंग मालिकार्जुन मन्दिरमा स्थापना गरिएको छ । नेपाल सरकारले पछिल्लो समय पर्यटकीय पूर्वाधार विकास गर्नुपर्ने देशभरीका एकसय वटा गन्तव्यहरुको सुचीमा मालिकार्जुन धार्मिक क्षेत्रलाई राखेको छ । देशभित्रको पर्यटकीय तथा धार्मिक क्षेत्रको विकास र प्रचारप्रसारका लागि सरकारको यो प्रयास सान्दर्भिक छ ।
मालिकार्जुन धार्मिक क्षेत्रको तेस्रो संस्कृति तथा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको आध्यात्मिक रहस्य हो । कैलाशको आगन र हिमालयको सामुन्ने रहेको श्री शैल्यशिखर क्षेत्रको अवस्थितिले यसक्षेत्रको आध्यात्मिक महत्व र रहस्यलाई संकेत गर्दछ । परम्परागत मान्यतामा केही पूर्वजसंगै भगवान मालिकार्जुन यसक्षेत्रमा आएको भनिए पनि आध्यात्मिक चिन्तन र चेतनाले यसक्षेत्रको आदिकालदेखिको महत्व देखिन्छ । जगतगुरुले पछिल्लो समय उदघोष गरेजस्तै भगवान शिवका १२ ज्योतिर्लिंगमध्ये एउटा ज्योतिर्लिंग मालिकार्जुन हो । यहाँको भौगोलिक अवस्थिति र आध्यात्मिक दृष्टि र चेतनाले यसलाई पुष्टि गर्दछ ।
परम्परागत मान्यता र पर्यटकीय विकास र प्रचारको पक्षभन्दा पनि कयौं गुणा महत्वपूर्ण यसक्षेत्रको आध्यात्मिक महत्व छ । तर भौतिकताले गाजिएको समाज र चिन्तनले अध्यात्मको वास्तवितालाई आत्मसात गर्न चुनौतीपूर्ण छ ।
माथि उल्लेखित तीनवटै संस्कृति, अभ्यास तथा अवस्थितिलाई हरेक पक्षले आफ्नो अनुकुलतामा मात्रै चित्रण गरिरहेको छ । र आफ्नै बुझाइ र स्वार्थमा केही अभ्यास पनि भइरहेका छन् । जस्तो, परम्परागत रुपमा कारिन्दाहरुले गर्दैआएको पूजापाठ, तीनवटै तहका सरकारहरुले गर्दैआएको पर्यटकीय पूर्वाधार र प्रचारको कार्य तथा वास्तविक आध्यात्मिक चिन्तनले मालिकार्जुन क्षेत्रको पहिचान गर्ने प्रयास । यी तीनवटा मध्ये अघिल्ला दुइटा अभ्यास सशक्त छन् । आध्यात्मिक चिन्तनले मालिकार्जुन धार्मिक क्षेत्रको पहिचान गर्ने पाटो कमजोर छ । भौतिकता र स्वार्थमा हिडिरहेको समाजमा आध्यात्मिक चिन्तन भएका पात्र भेटाउनु चुनौतीपूर्ण छ । आफ्नो, परिवारको, आफन्तजनको स्वार्थपूर्तिमा डुबिरहेको वर्तमान समाजमा आध्यात्मिक चिन्तन र चेतना जागृत हुनु निकै चुनौतीपूर्ण छ । यद्यपि आध्यात्मिक चिन्तन र चेतनाले मात्रै यस क्षेत्रको वास्तविकता उजागर हुनेछ ।
धर्म, संस्कृति र परम्पराको नाममा र यस क्षेत्रको परम्परागत अभ्यासले समाज र मानव जीवनलाई संकीर्ण बनाएको छ । व्यक्तिगत इच्छा र स्वार्थपूर्तिका लागि पूजापाठ गर्ने, गराउने प्रवृति छ । आफ्नो भौतिक उपलब्धि चाहने र अर्काको भलाई र कल्याणको कामना समेत गर्न नसक्ने संकीर्णताले समाज र धार्मिक संस्कृति गाजिएको छ । यस्तो परिवेश र पृष्ठभूमिमा स्थानीय, प्रदेश र संघीय सरकारले मालिकार्जुन धार्मिक क्षेत्रको पर्यटकीय पूर्वाधार विकासका लागि गरिरहेको प्रयास कति सार्थक हुन सक्छ ? हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !