म समाचार किन लेख्छु ?

183

शंकर सिंह धामी
मेरो पेशा पत्रकारिता हो । पत्रकार भएकाले सार्वजनिक सरोकार र चाँसोका विषयमा समाचार लेख्ने जिम्मेवारी हो । मैले लेखेका समाचारले समाजलाई सुसूचित गराउनुपर्छ भन्ने मेरो मान्यता छ । समाचारले सुचना मात्रै दिदैन नैतिक दबाव दिन्छ र जवाफदेहिता खोज्छ । साथसाथै, राम्रा अभ्यास र पक्षलाई हौसला पनि दिन्छ पत्रकारिताले । मैले बुझेको पत्रकारिताको सारांश यही हो । लोकहितमा केन्द्रीत भएर विषयवस्तु मिडियाले पस्किनुपर्छ । राम्रोलाई हौसला दिनु र नराम्रोको खवरदारी गर्नु नै पत्रकार र पत्रकारिताको काम हो ।
पत्रकार आफैमा न्यायाधिश होइन । के ठिक, के गलत भनेर उसैले फैसला गरिहाल्ने होइन । तर समाचारले कुन विषय र प्रसंगलाई उठान गरेको छ, कोबाट कस्तो जवाफदेहिता र नैतिकता खोजेको छ भन्ने प्रस्तुतिबाट बुझिन्छ । एउटै घटनालाई फरक फरक दृष्टिकोण (एंगल)ले समाचार लेख्न सकिन्छ । पत्रकारका योग्यता, क्षमता, बुझाइ र प्राथमिकताले पनि समाचारको दृष्टिकोण निर्धारण हुन्छ । यद्यपि सार्वजनिक सरोकार र लोकहित समाचारको केन्द्रविन्दुमा रहनुपर्छ ।
मैले समाचार लेख्दा बेलामौकामा आलोचना पनि आउँछन् । आलोचना आउनु नराम्रो भने ठान्दिन । किनकी मलाई थाहा छ वर्तमानमा आलोचना तथ्यमा टिकेर हुँदैन, पूर्वाग्रहले गरिन्छ । त्यतिमात्र होइन घटना वा समाचारसंग असम्बन्धित पात्रले समेत आलोचना गरिरहेका छन् । त्यस्तो आलोचनाको सतह विरोध र धम्कीसम्म पनि पुग्ने गरेको छ । हालसालै दार्चुलाको दुहुँ गाउँपालिकासंग सम्बन्धि ३ समाचार म आवद्ध मिडियामा आए । तीमध्ये दुई समाचार त म आफैले लेखे र एउटा समाचार मेरा सहकर्मीले लेखे । यी तिनवटै समाचारबारे विषयवस्तु र तथ्यपरक प्रतिक्रिया होइन, कडाँ आलोचना, आपत्ति र गुनासो मात्र देखिए ।
मैले लेखेको पहिलो समाचार दुहुँ गाउँपालिकाले २०७५ असोजमा खोलेको सव इन्जिनियर र सहायक सव इन्जिनियर पदको विज्ञापन अलपत्र रहेको विषयमा थियो । समाचारमा आवश्यक सबै तथ्यहरु उल्लेख गरेको थिए । सरोकारवालाको भनाई र जवाफदेही पात्र र निकायको भनाई पनि समाचारमा थियो । ‘आफुले २०७६ जेठदेखि मात्र काम गरेकोले त्यसबारे आफुलाई थाहा नभएको’ गैरजिम्मेवार प्रतिक्रिया दिने प्रमुख प्रशासकीय अधिकृतको भनाई समाचारमा हुँबहुँ राखेको थिए । समाचारमा गाउँपालिका अध्यक्षको समेत भनाई समेट्ने प्रयास गरे तर फोन उठेन । राष्ट्रियसभा निर्वाचनमा डोटी पुगेका गाउँपालिका अध्यक्षको व्यस्तता हुन सक्छ भन्ने ठाने ।
अर्को समाचार दुहुँ गाउँपालिकाले २०७६ साउनमा ३ जना कार्यालय सहयोगीको विज्ञापनको नतिजा ६ महिनासम्म प्रकासित नभएको बारे छ । उक्त विज्ञापनको नतिजा प्रकाशनमा ढिलाईको कारण ‘विद्युत आपुर्ति, चाडपर्व र कार्यव्यस्तता’ बताउने प्रमुख प्रशासकीय अधिकृतको प्रतिक्रियाले मेरो चित्त बुझेन । तर समाचारमा उनको प्रतिक्रिया हुँबहु राखे । गाउँपालिका अध्यक्षले भने प्रमुख प्रशासकीय अधिकृतले भन्नुपर्ने वा भन्नसक्ने जवाफदिए, ‘प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारले दिएको ६० बुँदे निर्देशनका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।’ त्यति मात्रै होइन, कार्यालय सहयोगीका दुइटा स्वीकृत दरबन्दी भएको र तेस्रो दरबन्दी नभएकोले अख्तियारको निर्देशनका कारण नतिजा निकाल्नमा ढिलाइ भएको अध्यक्षको भनाई आयो । अध्यक्षको भनाईलाई पनि समाचारमा राखे ।
गाउँपालिका अध्यक्षको भनाईले म अचम्ममा परे । किनकी दरबन्दी नभईकन किन विज्ञापन गरियो त भन्ने थप प्रश्न खडा भयो । दार्चुलामा सबैभन्दा कम करारका कर्मचारी भर्ने दुहुँ गाउँपालिका भएको अध्यक्षले स्मरण गराए । यसमा म सहमत छुँ । तर कम कर्मचारी भर्ना गरे पनि विधि र प्रक्रियामा कैफियत प्रष्ट देखियो । यो तथ्यलाई उजागर गर्दै थप समाचार लेख्न सकिन्छ र लेख्न बाँकी नै छ ।
दार्चुलाका स्थानीय तहहरुमा समस्या छन्, अनियमिमता होला तर तथ्यपरक ढंगले ती विषयमा प्रस्तुति गर्नुपर्छ । यसमा म प्रष्ट छुँ । तर अन्यको तुलनामा मैले कम गल्ती गरेको छुँ भनेर कसैले उन्मुक्ति पाउदैन । आफुबारे समाचार बनाइदा अर्काको विषय र सन्दर्भ लिएर भाग्न सकिदैन । ‘हाम्रा सामान्य कमजोरी पनि खोतल्ने, अन्यका ठूल्ठूला गल्ती नदेख्ने’ भन्ने प्रवृति राजनीतिमा मात्रै होइन सबैक्षेत्रमा व्याप्त छ । मिडियाले एउटै स्थानीय तहको बारेमा बारम्बार समाचार लेख्दैमा आत्तिनुपर्ने किन ? फरक विषय र सन्दर्भमा फरक फरक दृष्टिकोणबाट समाचार लेख्न सकिन्छ । अर्काको ठूलो कमजोरी वा गल्ती छ भने तथ्यसहित जानकारी दिन सकिन्छ । ‘हाम्रोभन्दा बढी र ठूलो गल्ती गर्नेलाई नदेख्ने मलाई मात्रै हेर्ने’ भनेर असन्तुष्टि राखिन्छ । आफ्नोबारेमा प्रश्न वा जिज्ञासा आउदा अरुलाई देखाएर आफु सही बनिदैन, पदीय जवाफदेहिता देखाएर आफ्ना विषयवस्तु प्रष्ट पार्नुपर्छ । एउटालाई प्रश्न गर्दा वा एउटाको समाचार बनाउदा अर्कालाई देखाएर सामान्यीकरण गर्न खोज्ने प्रवृति डेढ दशकको पत्रकारितामा धेरैपटक देखियो र भोगियो ।
दुहुँ गाउँपालिकाबारे मैले लेखेका यी दुई समाचारबारे गाउँपालिका र सम्बन्धित पात्रहरुको कुनै प्रतिक्रिया प्राप्त भएको छैन । तर दुहुँ क्षेत्रका केही युवा मित्रहरुले सामाजिक सञ्जालमा गम्भीर आरोप मात्रै लगाएका छैनन्, श्रृंखलावद्ध प्रहार गर्न खोजेका छन् । दुहँु गाउँपालिकाको मात्रै समाचार बनाएकोमा उहाँहरुको आपत्ति देखिन्छ । नकारात्मक समाचार मात्रै लेखेकोमा गुनासो छ । पूर्वाग्रह राखेर समाचार लेखिएको, अहिलेसम्म मिडियाले जोगाएको मिडियाकै इज्जत र प्रतिष्ठामा आँचपुगेको प्रतिक्रिया पनि छ । यी प्रतिक्रियाहरु हेर्दा वर्तमान समाज र राजनीतिको चरित्र देखिन्छ । पक्षधरता मात्र होइन गलतको वचाउ गर्न प्रहार गर्ने अरिंगाल प्रवृति पनि देखिएको छ । समाचारमा कुनै कमजोरी वा पूर्वाग्रह भए तथ्यपरक रुपमा छलफल गर्न सकिन्छ । समाचारमा प्रस्तुत तथ्य र विवरणमा के के गलत छ भनेर केलाएर भन्नुपर्छ । तर समाचार लेख्दैमा भयंकर गल्ती गरिएको केही मित्रहरुलाई महशुस भएको छ ।
समाचारमा तथ्य, आधार, कारण र सन्तुलन हुनुपर्छ । मैले लेखेका समाचारमा यी कुरा सबै छन् । आफुले लेखेका समाचारबारे पत्रकार जिम्मेवार र जवाफदेही हुनुपर्छ । यो कुरा मैले प्रष्ट बुझेको छुँ । हाम्रा मात्रै समाचार लेख्ने, अरुका नलेख्ने भन्ने गुनासोलाई मैले ग्रहण गरेको छुँ । पत्रकारिताले उच्च नैतिकता र जवाफदेहिता खोज्ने हो । नैतिकता र जवाफदेहिता प्रदर्शन गर्नु सार्वजनिक जीवनका पात्रहरुको पहिलो कर्तव्य हो । तर वर्तमान समयमा नैतिकता र जवाफदेहिताको दयनिय अवस्था छ । धेरैजसो भूगोल र क्षेत्रमा वाकपटुता, तर्कवितर्क, आफु र आफ्नो कामलाई जसरी पनि ठिक ठहर्याउने हर्कत भइरहेको छ ।
मैले बुझेको छुँ, मैले समाचार लेख्दैमा कायापलट हुनेवाला छैन । किनकी समाज र प्रणालीका सबै अवएवहरु सक्रिय भएपछि मात्रै केही सुधार हुन्छ । अहिलेको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवेश धेरै जकडिएको छ । व्यक्ति, समूह, पार्टीगत स्वार्थमा लिप्त वर्तमान परिवेशमा जवाफदेहिता खोज्नु र देखाउन सक्नु दुबै चुनौतीपूर्ण छ । तर आफ्नो लेख्ने, बोल्ने, कराउने र निर्भिक भइरहने यात्रालाई अगाडि बढाइरहन्छु । आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गरिरहन्छु । समाचार आफ्नो पेशागत धर्म निर्वाह गर्न लेख्छु । कसैप्रति आग्रह, पूर्वाग्रह छैन, राख्दिन । मलाई थाहा छ मान्छेको छोटो जिवनमा आग्रह पूर्वाग्रहले अल्झ्याउँछ मात्रै । सार्वजनिक पद र जिम्मेवारीमा भएका सबै पात्रहरुलाई सम्मानभाव राख्छु । उहाँहरुको अधिकार र भूमिकालाई सम्मान पर्छु । संगसंगै पद, जिम्मेवारी र अधिकारको खवरदारीमा पनि छुँ । जति सकिन्छ खवरदारी गर्छु । कसैले मन दुखाए, गुनासो गरे, आलोचना गरेमा मेरो आपत्ति छैन । बरु, आफुले लेखेको र बोलेको विषयमा प्रष्ट पार्नेछु ।

तपाईको प्रतिक्रिया दिनुहोस् !