संक्रान्ति अर्थात स्वयं क्रान्ति

100

विक्रमसिह धामी
कुनै पनि धर्म निरपेक्ष राज्यको कुनै मन्त्री वा सरकारी उपल्लो अधिकारीले धार्मिक पुरस्कार, पदवी वा विभुषणबाट अभिसिप्त, आभुषित हुनु वा प्राप्त गर्नु आफैमा अपराध सरहको मान्यता विकसित हुँदैआएको छ । गैरराजनीतिक, गैरसामाजिक र गैरसांस्कृतिक सोचको विकास बढिरहेको हाम्रो जस्तो उग्र अग्रगामी सोचको वलियो खोलभित्र कैद चिन्तनले पत्याउनै नसक्ने, भरोसा गर्नै नहुने र अझ बलियोसित भन्ने हो भने हुनै नसक्ने र भइहाले पनि पत्याउनै गाह्रो पर्ने एक घटना मित्र राष्ट्र भारतमा घटन पुग्यो ।
भारतको संघीय सरकारका प्रौद्योगिकी एवं वाणिज्य मन्त्री निरन्जन ज्योतीलाई शंकराचार्य परम्पराअन्तर्गत निरञ्जन अखडाले महामण्डलेश्वरको महिमामण्डित उपाधिबाट विभुषित गर्यो । उक्त समारोहमा भारत वर्षका १३ अखडाहरुका आचार्य तथा महामण्डलेश्वरहरुले सहस्त्र समउपस्थिति मात्रै जनाएनन् बरु नवनियुक्त महामण्डलेश्वर निरन्जन ज्योतीलाई सरकारी जिम्मेवारीलाई सरल, निस्पक्ष र आकर्षक तुल्याउन विभुषणले सहज हुने तथा मन्त्री स्वयंको आभा र उचाइमा टेवा पुर्याउने आशिर्वचन पनि दिए । महामण्डलेश्वर वैदिक सनातन धर्म (हिन्दु धर्म) को सर्वोच्च आभुषण जगद्गुरुपछि तेस्रो र आदि जगतगुरु शंकराचार्यबाट स्थापित चारवटा मठका प्रमुख शंकराचार्य पछिको दोस्रो उपाधि हो ।
माघ महिना वैदिक सनातन धर्मावलम्बीहरुको लागि उत्तम मानिन्छ । र यो महिनामा सूर्य उत्तरायणतर्फ सर्ने तथा महाभारतको प्रमुख पात्रमध्येका एक भिष्मपितामहले ६ महिनाको सरशैया (वाणहरुको विछ्यौना) पछि देह त्याग समेतको भिष्म एकादशी पनि यही महिनामा पर्ने भएकोले यस्तो धार्मिक महत्व झन उचो छ । मित्रराष्ट्र भारतको चारवटा कुम्भ मेला (नासिक, उज्जैन, प्रयाग र हरिद्वार) मध्ये प्रयाग (इलाहावाद) मा मकर संक्रान्तिदेखि कुम्भ मेला आयोजित छ भने नेपालमा पनि यसै वर्षको चैत्र २३ गतेदेखि कौसीकी (कोशी) को तट चतरामा अर्ध कुम्भ आयोजित हुनेछ ।
नेपालको आध्यात्मिक उचाइ सुरुबाट राजा जनक, सीता हुँदै वुद्धसम्म र ऋषि परम्परा वेदपुराण र उपनिषदका रचयिता वेदव्यास (कृष्ण द्वपायन) देखि मार्कण्डेय, भृंगु, वाल्मिकी र वशिष्ठ हुँदै आजको नेपालका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभुषित वालसन्त मोहनशरण देवाचार्य महाराजश्री सम्म निरन्तर छ । यो परम्परा र संस्कृतिबाट सुशोभित हामी नेपालीहरुलाई निरंकुश राणाशाहीको अन्त्यका लागि सामूहिक आत्मदह गर्ने योगमायादेखि सयौं साधवीहरुको वलिदान स्वयं प्रेरणा हो ।
धर्महरुले प्रेम गर्न सिकाउछन्, द्वेष र विभेदका विरुद्ध संसारका सबै धर्म लामवद्ध छन् र त्यसमा पनि वैदिक सनातन धर्मले सबै सुखी रहुन र सबै निरोगी रहुनको उद्घोष गर्दछ । यो धर्मले विषालु सर्पदेखि खतरनाक बाघलाई नाग र नरसिंह देवताका नामले पुजा गर्छ । यो धर्मले आकाश, जल, पहाड, भूमि, तलाउ, नदी, रुख, झार, हिमाल र यहाँसम्म कि ढुंगोलाई पनि देवता मान्दछ । यसले जिवनको लक्ष केवल भगवत भक्तिलाई स्वीकार्दछ र प्रेमलाई वासना नभई कामनाका रुपमा अंगिकार गर्दछ । तर यो सभ्यता र संस्कृतिमा हुर्के बढेका हामी नेपालीहरु किन खण्डित छौ ? किन तोडिएका छौ ? समग्रताका लागि हुनुपर्ने हाम्रो एकाग्रता किन विखण्डित छ ? हाम्रो राजनीतिले तोड्न मात्र जान्दछ जोड्न जान्दैन । धर्म र परम्पराले जोडिएको हाम्रो समाज भाँचिनुमा निर्विकल्प दोषको एकछत्र भागिदार राजनीति नै हो भनी ठोकुवा गर्ने जमात बढ्दो छ । यस्ता अपजसहरुमाझ अझ अलोकप्रिय र घुणित बनिरहेको हाम्रो राजनीति मूल्य र परम्पराको अवज्ञाका लागि त हौसिएकै छ र थप जनता वा बहुसंख्यकहरुका भावनासंग पनि पौठेजोरी खेल्दैआएको छ । बेला, कुबेलाका खेलिदैआएका पौठेजोरीका पाइलाहरु थामिएका छैनन् । यसैको पछिल्लो उदाहरण हो होली वाइन र निर्मला प्रकरण ।
नेपाली समाज गरिबी, वेरोजगारी, पछौटेपन, अवहेलना र तिरस्कारमा अभ्यस्त नै छ । तर जिस्किने शैलीको सदा प्रतिकारमा रहिआएको छ । जिस्किनुलाई साधारण तथा ठट्टाका रुपमा हेरे पनि जिस्किनुले कहिलेकाही वास्तविकता उजागर गरिदिन्छ । उदघाटित वास्तविकतालाई कार्यकर्ता वा योजना वा आर्थिक प्रलोभनबाट टाल्ने प्रयास हुदैआएको छ । योजना र आर्थिक प्रलोभनले पोषितहरुका माध्यमले बन्धित गर्न खोज्दा आउने परिणाम, प्रजातन्त्रका बदला तानाशाही वा तानाशाहीका बदला प्रजातन्त्र वा वैकल्पिक अन्य बाटा समेत हुन सक्दछन् । आजको सन्दर्भ प्रजातन्त्रलाई अनुशासन र चरित्रको व्यवस्था बनाउन सकिएन भने सबै किसिमका बाटाहरुको प्रयोग भइसकेको यो मुलुकमा हुन बाँकी साम्प्रदायिक विद्रोह वा दंगापछिको भागिदारी स्वयं हाम्रो चरित्र नै हुने पक्का छ ।
अतः राजनीतिलाई पेशा सम्झिदा पेशामा हुने लाभ, हानी वा नाफा, नोक्सानको हिसाब किताब पनि संगसंगै रहने पक्का छ । र राजनीतिलाई सेवा सम्झिदा सेवाका लागि चाहिने बन्दोवस्ती (गरिब, दुःखी, वा विमारी वा निम्न वर्ग) पनि संगै रहन्छ । सेवा सम्झिदा पनि दुइवर्ग सेवाग्राही र सेवक अर्थात दास र मालिकको अस्तित्व पनि विद्यमान रहन्छ । त्यसैले राजनीति न पेशा हो न त सेवा नै । राजनीति विशुद्ध धर्म हो, धारण गर्न लायक । त्यसैले साधवी निरन्जन ज्योती वा उमा भारती वा योगी आदित्यनाथको राजनीति प्रवेश स्वयं भारतीय जनताको माग र विश्वास हो । त्यसैले नेपालमा पनि माघे संक्रान्ति जुन क्रान्तिका लागि आन्दोलन वा विद्रोहको जरुरत छैन स्वयंमा आफै क्रान्ति हो । स्वयं क्रान्ति अर्थात संक्रान्ति । यो संक्रान्तिले नेपाली राजनीतिको हृदयमा पवित्रता, साधुवादको वीजरोपण गर्न सकोस्, हार्दिक मंगलमय शुभकामना ।
(लेखक नेपाली काग्रेसका महासमिति सदस्य एवं जगतगुरु मोहनशरण देवाचार्यका प्रवक्ता हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया दिनुहोस् !