स्वार्थरहित पत्रकारिताका चुनौतीहरु

167

शंकरसिह धामी
मंसिर १९ गते बुधवार अपरान्ह खलंगाको वीरेन्द्रवन छेउमा पुगेको थिए । कामचलाउ वसपार्क समेत रहेको त्यसक्षेत्रमा सवारीसाधन, यातायात व्यवसायी, सवारीचालक, गाडीस्टाफ, यात्रुको निरन्तर उपस्थिति रहने गर्दछ । बुधवार पनि सबै प्रकारका पात्रहरु वसपार्क क्षेत्रमा थिए । टिकट काउन्टर छेउमा एकजना यातायात व्यवसायीका अगुवासंग भेट भयो । तत्कालको जल्दोबल्दो विषय दार्चुलाको यातायात क्षेत्रबारे चासो राखिहाले । मैले प्रसंग मात्रै के राखेको थिए ‘तपाई हाम्रो पछि परिरहनुभएको छ, एकदिन तपाईको कलम सधैका लागि बन्द गरिदिन्छु’ भनेर अस्वाभाविक अभिव्यक्ति ती व्यवसायीले दिए । अचम्म लाग्यो । नजिकै रहेका १०÷१२ जना यातायात व्यवसायी र गाडीस्टाफ नजिक आएर कराउन थालिहाले ‘पत्रकारले धेरै नराम्रो लेखे, व्यवसायीलाई खेद्न लागे, ठिक भएन, पत्रकार आफै पनि नियम मिचेर गाडीमा चढछन्, गाडी बुक गराउछन्, अर्कोलाई नियम सिकाउछन्, अन्त पनि नियम पालना भएको हेर्नुपर्यो, अन्य जिल्लामा त यसरी समाचार लेखिदैन, दार्चुलामा मात्रै किन ?’ यस्ता आक्रोसपूर्ण अभिव्यक्ति सबैले एकसाथ भन्नथाले । यस्तो अवस्थाको सामना गर्नुपर्यो कि एउटाको कुरा सुनिरहदा चार÷पाँचजनाले फरक फरक प्रसंग, उदाहरण र गुनासो तथा प्रश्न उठाउन लागे ।
ती व्यवसायीका अगुवाकाे भनाइले एकछिन त मलाई गम्भीर बनायो तर तत्काल स्मरण आयो, आजभन्दा करिब ३ वर्षअघि पनि तिनै व्यवसायीले मलाइ ‘गाडीमा हालेर महाकालीमा फालिदिन्छु’ भनेका थिए । त्यतिबेला गाडीभाडा चर्को भएको विषयमा आवाज उठाएको थिए मैले । स्थानीय प्रशासनको सक्रियतामा गाडीभाडा घटाएपछिको त्यस्तो प्रतिक्रिया मैले पाएको थिए ती व्यवसायीबाट । त्यसबेला मैले उनको भनाईलाई आक्रोसको रुपमा मात्रै ग्रहण गरेको थिए, आज पनि ‘सदाका लागि कलम बन्द गरिदिने’ अभिव्यक्तिलाई आक्रोसकै रुपमा बुझे । र तत्काल सबैको अगाडि भनिहाले ‘एकअर्काबीच सामाजिक सांस्कृतिक सम्बन्ध भएको र राम्रो चिनजान भएकोले यो विषयलाई मैले आक्रोसको रुपमा बुझे, तर जिम्मेवार र गम्भीर भएर भनाई राख्नुहोला ।’
एकसाथ ४÷५ जना बोल्न थालेपछि प्रतिउत्तर दिने म एक्लै भए । व्यवसायीहरु यसरी खनिए कि मानौ दार्चुलाको अहिलेको यातायात समस्या मेरै कारणले जकडिएको हो । व्यवसायीहरुले आफ्नो पक्षमा तर्कहरु गरेनन्, पत्रकार र पत्रकारिता प्रतिका कुतर्क पनि भनिरहे । मैले निस्कर्ष निकाले कि सार्वजनिक सरोकारको विषयमा व्यवस्थित छलफल गरौ । जिम्मेवार भएर छलफल गर्नु आवश्यक छ । हप्तौदेखि आफ्नो व्यवसाय प्रभावित हुदा एकप्रकारको निरासा र आक्रोस हुनु स्वाभाविक होला तर यो आक्रोस यसरी व्यक्त गर्नु ठिक होइन र यसले समाधान दिदैन । सम्बन्धित निकायमा जिम्मेवार पक्ष र पात्रसंग छलफल गर्नु आवश्यक हुन्छ भन्ने निस्कर्ष निकाले ।
यातायातकर्मीहरुको भीडबाट छुट्टिएपछि म एक्लै थिए । एकसाथ विगतका केही घटना स्मरणमा आए । पहिलो, तीन वर्षअघि गाडीभाडा चर्को भएको विषयमा बहस उठाउदा पनि मप्रति यस्तो आक्रोस थियो । व्यवसायी र स्थानीय प्रशासनसंग तिता शब्द पोख्नुपरेको थियो मैले । जनहितका लागि चर्को स्वरमा प्रस्तुत हुनुपरेको त्यो अवस्थालाई स्मरण गरियो ।
दोस्रो घटना स्मरण, २०७० सालको वाढी र त्यसको तीन वर्षपछि दार्चुलामा ग्यास सिलिण्डरको मूल्यबारे आफुले बोल्दा भोग्नुपरेको आक्रोसलाई सम्झिए । २०७० सालमा महाकाली वाढी गएपछि र त्यसको तीन वर्षपछि गरी दुइपटक दार्चुलाको ग्यास सिलिण्डरको चर्को मूल्यबारे आफुले आवाज उठाएको थिए । मेरो घरको भान्साको मात्रै त्यो सरोकार थिएन । दार्चुला खलंगामा वसोवास गर्ने हरेक घर र भान्साको सरोकार थियो । २०७० सालमा त ग्यासको मूल्यबारे आवाज उठाएकाले केही दिन ग्यास नपाएर बस्नुपरेको अनुभव पनि मसंग छ । एकजना चिनेकै ग्यास व्यवसायीले अभिव्यक्ति नै दिएका थिए कि ‘तपाइका लागि ग्यास छैन’ भनेर ।
गएको फागुन महिनामा व्यास क्षेत्रमा दुइ वर्षदेखि सिमा प्रशासन कार्यालय सञ्चालन हुन नसकेको विषयलाई समाचार बनाएको थिए । त्यो समाचारले केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण भएको थियो । समाचारको प्रभाव परेरै जिल्ला प्रशासन कार्यालयले दुईजना कार्यालय सहयोगीलाई व्यासको छाङरुमा पठायो । यद्यपि दुबै कार्यालय सहयोगी व्यासमा १० दिन पनि नबसी सदरमुकाम फर्किए । मैले सीमा प्रशासन कार्यालयको समाचार लेख्नुको उद्देश्य कार्यालय सहयोगीलाई दुख दिनु थिएन । ‘व्यासमै सिमा प्रशासन राखेपछि व्यास गाँउपालिकाका जनताले नागरिकता लगायतका प्रशासनिक सेवा त्यहिबाटै लिनुपर्ने’ तर्क स्थानीय प्रशासकले गरेका थिए । यतिसम्म कि एकदिन मेरै अगाडि व्यास गाँउपालिका अध्यक्षलाई समेत यस्तो भनिहाले ।
व्यास क्षेत्रको भूगोलमा मैले पटक पटक भ्रमण गरेको छुँ । २०३४ सालमा स्थापना भएको सिमा प्रशासन कार्यालयले कहिल्यै पनि नागरिकता वितरण गरेको छैन भन्ने मलाई थाहा छ । व्यासको छाङरुमा रहेको सिमा प्रशासन कार्यालयबाट नागरिकता लिन राप्ला, सुन्सेरा, धौलाकोट र हुतीका जनता जान सक्दैनन र यो सान्दर्भिक हुनै सक्दैन भन्ने थाहा छ । यो वास्तविकता सायद स्थानीय प्रशासक (प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी) लाई पनि थाहा नै छ । सिमा प्रशासनबाट नागरिकता बाँडने न विगतको अभ्यास छ, भौगोलिक अवस्थितिका कारण न अहिले नै सान्दर्भिक छ । तर पनि व्यासामा सिमा प्रशासन राख्दा त्यसक्षेत्रका जनताले त्यहिबाट नागरिकता लिनुपर्ने तर्क दिदै सिमा प्रशासन कार्यालय सञ्चालनमा ढाकछोप गरियो ।
जनप्रतिनिधिसहित व्यासका जनताले मिडियाले सिमा प्रशासन कार्यालयबारे समाचार लेखिदिदा आफुहरुलाई सुविधा होइन असुविधा हुने अवस्था देख्ने खतरा बन्यो । स्थानीय प्रशासनको भनाई हेर्दा पनि व्यासको छाङरुमा सिमा प्रशासन कार्यालय सञ्चालन गरिदा बहुयात्रा अनुमति पत्र, तिब्बत प्रवेश अनुमतिपत्र, नेपाली नागरिकता लगायतका सेवा लिन त्यही जानुपर्ने हो कि जस्तो देखियो । तर यथार्थ यस्तो थिएन । समाचारले औल्याएको कमजोरी सच्याएर सीमा प्रशासन कार्यालय सञ्चालन गर्नुको सट्टा नागरिकता पनि उतैबाट बाडिने हो भन्ने भ्रम छर्ने प्रयास भयो ।
सिमा प्रशासनबारे यो घटनाले मलाई प्रहार भइरहेको थियो । केही दिनका लागि व्यास पठाइएका दुईजना कार्यालय सहयोगीले मलाई सरापे । एकजनाले त मेरो घरमै पुगेर आशु खसालेका थिए । मैले त्यतिबेलै उनलाई स्पष्ट बताएको थिए कि मेरो उद्देश्य कार्यालय सहयोगीलाई दुःख दिने होइन । भारतबाट अतिक्रमित र त्रिदेशीय सीमा क्षेत्र रहेको व्यासमा राज्यको उपस्थिति हुनुपर्छ । सिमा प्रशासन कार्यालय छ, दरबन्दी छ, कर्मचारी छन्, बजेट छ तर व्यासमै कार्यालय सञ्चालन भएन भन्ने हो भनेर स्पष्ट पारे । दुईजना कार्यालय सहयोगी पठाएर कार्यालय सञ्चालन भएको नाटक गर्नु आवश्यक पनि थिएन । तर जीवन निर्वाहका लागि करारको जागिर खाइरहेका सज्जन कार्यालय सहयोगीहरुको सोझो बुझाइभयो । शंकरजीले समाचार लेखिदिदा हामीले त्यति टाढा जानुपर्यो, दुःख पायौ, कष्ट भोग्नुपर्यो भन्ने उनीहरुलाई लागेको थियो ।
गत फागुनमै महाकालीमा भारतीय पक्षबाट एकतर्फी काठेपुल राखिएको समाचारले तरंग ल्याएको थियो । त्यो समाचार ब्रेक गर्नमा म धेरै सक्रिय थिए । तर त्यसको असर यसरी पर्नथाल्यो कि व्यासक्षेत्रका वासिन्दा पत्रकारिताप्रति आक्रोस पोख्न लागे । भारतले काठेपुल राखे पनि नेपालीहरुलाई पनि सुविधा पुगेको उनीहरुको तर्क थियो । सुविधा दुबैतर्फका नागरिकलाई भएको, काठेपुलको आवश्यकता भएको तर भारतले नेपालसंग समन्वय र सहमति गरेर मात्रै पुल राख्नुपर्ने मेरो बुझाइ थियो । काठेपुलको समाचार आएपछि दुई देशका अधिकारीहरुले बैठक राखेर सहमतिमा काठेपुल सञ्चालन गरिनुले मेरो र समग्र पत्रकारिताको बुझाइ सही सावित भयो ।
पोहोर सालको अन्ततिर तम्बाकु, दोपाखे क्षेत्रमा पुग्दा व्यासका २÷३ जनाले म र पत्रकारिताप्रति कडा आक्रोस पोखे . ‘तपाइहरु लेखिदिनुहुन्छ, दुःख हामीले पाउछौ, यहाँ कसैले केही सुधार गर्दैन, सुविधा दिदैन, स्थानीयलाई मात्रै सास्ती हुन्छ, तपाइले लेखेको समाचारले हामीले दुःख पाउनुबाहेक केही हुँदैन’ ती स्थानीयको आक्रोसपूर्ण भनाई थियो । व्यासका स्थानीयको भोगाइ हेर्दा स्वाभाविक पनि हो । तर वास्तविकता यो हो कि अन्तर्राष्ट्रिय सिमाक्षेत्र भएकाले यहाँ राज्यको उपस्थिति हुनुपर्छ, सरकार जिम्मेवार हुनुपर्छ, व्यासका वासिन्दाको दुःखकष्टको निवारण गर्ने दायित्व सरकारको हो । यो वास्तविकतालाई उजागर गर्न हामीले सीमाक्षेत्रको वास्तविकतालाई उजागर गर्नुपरेको हो । हाम्रो नियत यो होइन कि हामी समाचार लेखौ, अनि स्थानीयलाई दुःखकष्ट पुगोस् । पत्रकारिताले सार्वजनिक हित, सुविधा, भलाई र सरोकारलाई उजागर गर्दछ, वल पुर्याउछ ।
यी विगतका केही प्रतिनिधिमूलक घटनाको स्मरणसंगै वर्तमानमा देखिएको दार्चुलाको यातायातको समस्याका फेरि फर्किए । केही निस्कर्ष निकाले, पहिलो, गाडी व्यवसायी निरास र आक्रोसित हुनु स्वाभाविक छ । तीन हप्तादेखिको दैनिकी अस्तव्यस्त भइरहेको, ऋण निकालेर लाखौंको लगानी गरिएको तर नियमित गाडी सञ्चालन हुन नसक्नुले व्यवसायीलाई दुखित, चिन्तित र आक्रोसित बनाएको छ । यद्यपि यसरी आक्रोस पोख्न पाइदैन । गुनासो, पीडा र आक्रोस सम्बन्धित पक्ष, निकाय र पात्रसम्म सभ्य रुपमा पोख्नुपर्छ । धैर्यता प्रदर्शन गर्दै समस्या समाधानका लागि व्यवसायीहरु सक्रिय हुनुको विकल्प छैन ।
मप्रति किन यसरी आक्रोस पोखिन्छ त ? म आफैलाई यो गम्भीर प्रश्न गर्न थाले । जवाफ सहज छ, स्वार्थरहित पत्रकारिताले यस्ता आक्रोस, छलछाम, जालझेल र षडयन्त्र झेल्नैपर्छ । यतिमात्रै होइन भोलि कसैले आक्रमणकै प्रयास पनि गर्न सक्छन् । ‘हामीलाई धेरै सिकाउने भएको थिइस् लौ खा’ भनेर रमिता हेर्ने धेरै हुनसक्छन् । त्यो दृश्य र सम्भावना पनि आकलन गरे । तर आफुलाई कत्ति पनि कमजोर र निरिह ठानिन् । जोसंग स्वार्थ छैन उसंग सबभन्दा धेरै नैतिक वल हुन्छ । त्यही नैतिक वलले उ कहिल्यै हार्दैन । समाचारबाट प्रभावित पक्षको पीडा, आक्रोस, चिन्ता र प्रहारले केही सुन्नुपर्छ, देख्नुपर्छ, भोग्नुपर्छ तर स्वार्थरहित पत्रकारितामा निर्भिक रुपमा उभिरहनुपर्छ । मेरो निस्कर्ष यही हो ।
पत्रकारिता कसैको शत्रुता, विरोध र आलोचनाका लागि हुदैहोइन । सार्वजनिक हित र सरोकारमा बोल्न सक्नुपर्छ, लेख्न सक्नुपर्छ । तब पो पत्रकारिता हुन्छ । कोही रिसाउछ कि, कसैले गाली गरिहाल्छ कि, कसैले धम्कि दिने हो कि, कसैले असहयोग गर्ने हो कि भन्ने चिन्तन र मनोविज्ञानले पत्रकारिता गर्न सकिदैन । त्यो पत्रकारिता होइन, कायरकारिता हो । समाजमा कुनै पनि क्षेत्रका पात्र, पक्ष र निकायप्रति मेरो वैरभाव छैन । हार्दिक सम्मान छ । यद्यपि सार्वजनिक सरोकारका विषयमा गैरजिम्मेवार हुने छुट कसैलाई छैन । झन नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर परिरहदा पत्रकारिता झन धारिलो हुनुपर्छ । नेताका, कर्मचारीका केही स्वार्थपूर्ण सम्बन्ध हुन सक्छन् । ती सम्बन्धहरुले सकारात्मक परिणामको प्रयास नहुन सक्छ । तर स्वार्थरहित पत्रकारिताको आवश्यकता यतिबेला बढ्ने गर्दछ ।
आफुले स्वार्थरहित पत्रकारिता भनिरहदा प्रष्ट पार्न चाहन्छु, दार्चुलाका ६ दर्जन जीप व्यवसायीहरुमध्ये अधिकांशसंग मेरो सामाजिक सांस्कृतिक सम्बन्ध छ । एउटै आर्थिक सामाजिक सांस्कृतिक परिवेशमा हामी छौ । झन केही यातायात व्यवसायी त मेरो इष्टमित्र र आफन्तजन नै छन् । तर यातायात क्षेत्रको समस्या स्वार्थरहित पत्रकारिताले उजागर गर्न सक्नुपर्छ । ३ वर्षअघि चर्को गाडीभाडाको विषय उठाउदा पनि स्वार्थ सम्बन्ध हेरेको थिएन, अहिले पनि हेर्दैन । सम्बन्ध र मित्रता आफ्नो ठाँउमा छ । आम नागरिकले भोग्नुपरेको समस्याबारे निस्पक्ष र निस्वार्थ भएर उजागर गर्ने अठोट र दृढ संकल्प छ । दार्चुलामा जीप व्यवसायलाई चौपट पार्नुपर्छ, अलपत्र पार्नुपर्छ भन्ने बुझाइ र मान्यता सायद कसैको छैन । तर तीन हप्तादेखिको अस्तव्यस्तता र चर्को गाडीभाडाको महत्वपूर्ण विषयमा सबैको ध्यानाकर्षण हुनु आवश्यक छ ।
अन्तमा, एउटा कुरा प्रष्ट पार्न चाहन्छु । कुनै पत्रकारले गल्ती गरेका छन् भने त्यसको लागि स्वयं जिम्मेवार हुन्छन् । कसैले नियम, कानुन मानेनन् भने त्यसको सजायको भागिदार उ स्वयं हुन्छ । एउटा पत्रकारले गरेको गल्तीले सबै पत्रकारलाई हेर्ने प्रवृति गलत हो । पत्रकारिता मात्रै होइन जुनसुकै पेशामा पनि त्यही हो । पत्रकारले लेख्ने समाचारका लागि सर्वप्रथम उँ व्यक्तिगत रुपमा जिम्मेवार हुन्छ । एउटाको विषय र प्रसंग ल्याएर अर्को वा सबैसंग त्यही जोड्न मिल्दैन । एउटा कर्मचारीले भ्रष्टाचार गर्दा सबै कर्मचारी भ्रष्ट हुदैनन्, एउटा सवारीचालकले दुर्घटना गराउदा अन्य चालकलाई कारवाही हुँदैन, उसैलाई हुन्छ । एउटाले अपराध गरे उसैलाई कारवाही हुन्छ । अपराध गर्नेको श्रीमान् वा श्रीमती कसैलाई कारवाही हुदैन । अपराध गर्ने व्यक्ति स्वयंलाई मात्रै कारवाही हुन्छ । यति सामान्य कुरा नराख्दा पनि हुने हो तर केही यातायात व्यवसायीले पत्रकार पत्रकारको प्रसंग ल्याएकाले स्पष्ट मात्रै पारेको हुँ । धन्यवाद ।

तपाईको प्रतिक्रिया दिनुहोस् !