अपिहिमाल गाउँपालिकाको सम्पर्क कार्यालय खलंगामा

0
1989

मासिक २० हजार भाडा तिरिदै
दार्चुला, माघ १९ गते ।
दार्चुलाको सर्वाधिक विकट र दूरीमा रहेको अपिहिमाल गाउँपालिकाको सम्पर्क कार्यालय खलंगामा सञ्चालन हुँदैआएको छ । लेखा कर्मचारी र इन्टरनेट अभावमा दुई वर्षदेखि सदरमुकाममा गाउँपालिकाको सम्पर्क कार्यालय सञ्चालन गरिएको छ ।
गतवर्षसम्म महाकाली नगरपालिकाको वडा नम्बर ५ मोहतीमा एउटा कोठा भाडा लिएर सञ्चालन हुँदैआएको सम्पर्क कार्यालय साउनदेखि मासिक २० हजार भाडा तिरेर सञ्चालन हुँदैआएको छ । गाउँपालिकामा लेखा कर्मचारी नहुँदा सदरमुकाममा कार्यालय सञ्चालन गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले बताउनुभयो ।
गाउँपालिका केन्द्र खण्डेश्वरीमा इन्टरनेटको समस्या भएकाले पनि खलंगामै सम्पर्क कार्यालय सञ्चालन गर्नुपरेको उहाँको भनाई छ । साउन महिनादेखि महाकाली नगरपालिकाको वडा नम्बर ४ मुख्य बजारक्षेत्रमा ४ कोठा भाडामा लिएर कार्यालय सारिएको छ । साविकको स्थानीय शान्ति समितिको कार्यालय रहेको नीजि घरमा गाउँपालिकाको सम्पर्क कार्यालय रहेको छ ।
खलंगामा गाउँपालिकाको सम्पर्क कार्यालय सञ्चालन गर्नेबारे कार्यपालिकाले कुनै निर्णय नगरेको अध्यक्ष डिएन घाजिरेलले बताउनुभयो । ‘कर्मचारीहरुले आफ्नो सहजताका लागि व्यवस्था गरेका हुन्, खलंगामा घरघाडा लिएर कार्यालय सञ्चालन गर्ने निर्णय भने गरेका छैनौ’ गाउँपालिका अध्यक्ष घाजिरेलले भन्नुभयो । गाउँपालिकालाई लेखा कर्मचारी नहुँदा लामो समयदेखि समस्या झेल्नुपरेको उहाँको भनाई छ ।
खलंगास्थित सम्पर्क कार्यालयमा एकजना कार्यालय सहयोगीले नियमित रुपमा कार्यालय खोल्ने गर्दछन् । कार्यालयमा ल्यापटप कम्प्युटर, प्रिन्टर, फोटोकपि मेसिन राखिएका छन् । कर्मचारी खलंगा आएको बेला यतैबाट सबैजसो कामकाज हुने गरेको कार्यालय सहयोगी बताउँछन् ।
भाडामा लिएकामध्ये दुई कोठामा कार्यालय सामान छ भने बाँकी दुइ कोठा कर्मचारीले आवाश बनाएका छन् । कार्यालयका कोठाहरुमा प्रमुख प्रशासकीय अधिकृत र लेखा कर्मचारीको छुट्टाछुट्टै कुर्सी र टेबुल राखिएको छ । ५ वटा दराज र केही कुर्सीहरु पनि कार्यालयमा राखिएका छन् ।
गाउँपालिकाका धेरै फाँटका कर्मचारी पनि खलंगाकै सम्पर्क कार्यालयमा भेटिने गरेका छन् । आफुले दुइपटक सम्पर्क कार्यालय पुग्दा लेखा, प्राविधिक, जलस्रोत व्यवस्थापन परियोजनाका कर्मचारी भेटेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले बताउनुभयो । सम्पर्क कार्यालय सञ्चालन गरिए पनि साइनबोर्ड भने राखिएको छैन ।
खलंगामा सम्पर्क कार्यालय सञ्चालन गरिएकोमा गाउँपालिका क्षेत्रमा भने विरोध भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खण्डेश्वरी गाउँपालिका कमिटी अध्यक्ष पोखरसिह रोकायाले तत्काल खलंगाको कार्यालय हटाउन माग गरिएको बताउनुभयो । ‘यसबारे पार्टी कमिटीले निर्णय गरी गाउँपालिकाको पार्टी इन्चार्जसमेत रहनुभएका अध्यक्षजीलाई जानकारी गराएका छौ’ उहाँले भन्नुभयो ।
लेखाका कर्मचारी व्यवस्थापनका लागि गृहकार्य भइरहेको र एक महिनाभित्र खलंगाको कार्यालय बन्द गरिने गाउँपालिका अध्यक्ष डिएन घाजिरेलको भनाई छ । अपिहिमाल गाउँपालिकाको लेखा फाँटको जिम्मेवारी जिल्ला अदालतका सलेप दिपकसिह धामीले हेर्दैआएका छन् । जिल्ला अदालतमा आफ्नो दरबन्दी रहेको र थप जिम्मेवारीमा २०७५ मंसिरदेखि अपिहिमाल गाउँपालिकाको लेखा आफुले हेर्दैआएको सलेप धामीले बताउनुभयो ।
पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीको सरुवा भएको छ । अपिहिमाल गाउँपालिकाबाट जोशीको शैल्यशिखर नगरपालिकामा सरुवा भएको छ । गाउँपालिकामा कार्यरत नायवसुब्बा लक्ष्मणसिह धामीलाई माघ ७ गतेदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । गाउँ कार्यपालिकाले दुई हप्ताअघि खलंगाको सम्पर्क कार्यालय बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत धामीले बताउनुभयो ।