अस्पताल व्यवस्थापन समितिबारे नेकपामा विवाद

2636

दार्चुला, पुष १२ गते ।
दार्चुला जिल्ला अस्पताल व्यवस्थापन समितिमा पदाधिकारी नियुक्तिबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको विभागिय मन्त्रीस्तरबाट मंसिर ४ गते समितिका पदाधिकारी नियुक्ति गरिएपछि यसबारे पार्टीभित्र विवाद रहदैआएको छ ।
सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीले दार्चुला जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगडाका वासिन्दा एवं नेकपा नेता दलजितसिह धामीलाई नियुक्तिको निर्णय गरेका थिए । समितिका सदस्यहरुमा महाकाली नगरपालिका वडा नम्बर ३ बाँजका दिलिपसिह महर, वडा नम्बर ५ मोहतीका राधिका अवस्थी, वडा नम्बर ५ किम्तडी गणेश जोशी तथा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका उमेशराज जोशीलाई नियुक्ति गरिएको थियो ।
तत्कालिन माओवादीका तर्फबाट जिल्ला कमिटीको सचिवालय सदस्य एवं प्रदेशसभाको ख निर्वाचन क्षेत्रको संयोजक रहेका दलजितसिह धामीलाई अध्यक्ष बनाइएपछि तत्कालिन एमाले पक्षधरले विरोध गरिरहेका छन् । अस्पताल व्यवस्थापन समितिमा नियुक्त गरिदा पार्टी कमिटीमा छलफल नगरिएको भन्दै तत्कालिन एमाले पक्षधरले विरोध गरेका छन् ।
आफुसंग छलफल नै नगरी व्यवस्थापन समितिको सदस्य बनाइएको तत्कालिन एमालेबाट नेकपाको जिल्ला कमिटी सदस्य रहेका गणेशकुमार जोशीले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिको सदस्य बनाइएका अर्का नेकपा जिल्ला सदस्य उमेशराज जोशीले पनि विधि र प्रक्रियासम्मत नियुक्ति नभएको बताउनुभयो । दुबैजनाले जिल्ला अस्पताल व्यवस्थापन समितिमा सदस्यको जिम्मेवारी स्वीकारेका छैनन् । व्यवस्थापन समिति अध्यक्ष धामी र सदस्यहरु राधिका अवस्थी र दिलिपसिह महरले भने मंसिर १८ गते पदभार ग्रहण गरिसकेका छन् ।
जिल्ला अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष पदको नियुक्तिमा धेरै नेता कार्यकर्ताहरुको विरोध रहेको नेकपा जिल्ला सदस्य उमेशराज जोशीले बताउनुभयो । ‘कुनै विधि र मापदण्डअनुसार नियुक्ति गरिएको छैन, पार्टीको कुनै पनि तहमा छलफल समेत गरिएको छैन’ अस्पताल व्यवस्थापन समितिको सदस्य बनाइएका जोशीले भन्नुभयो, ‘छलफल नै नगरी दिइएको जिम्मेवारीमा बस्ने कुरै छैन ।’
नेकपाका अर्का जिल्ला सदस्य गणेशकुमार जोशीले पनि विधि र प्रक्रियाअनुसार नियुक्ति नभएकोले आफुलाई सदस्यको जिम्मेवारी अस्वीकार्य रहेको बताउनुभयो । ‘मेरो अध्यक्ष पदमा दावी थियो तर कुनै विधि, प्रक्रिया र मापदण्ड अपनाइएको छैन, प्रदेश क क्षेत्रमा रहेको अस्पताल व्यवस्थापन समितिको अध्यक्ष ख निर्वाचन क्षेत्रबाट बनाइएको छ’ उहाँले भन्नुभयो । राजनीतिक नियुक्ति दिइदा वरिष्ठता, योगदान र क्षमताको आधारमा दिनुपर्ने उहाँको भनाई छ ।
नेकपा दार्चुलाका अध्यक्ष गणेशसिह खत्री भने पार्टीको उच्च तहका नेताहरुसंग छलफल र समन्वय गरी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष दलजितसिह धामीलाई बनाइएको बताउनुहुन्छ । उहाँका अनुसार यस विषयमा कमिटीगत छलफल नभए पनि प्रदेश इन्चार्ज भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसंग छलफल गरी अध्यक्षको नाम दिइएको हो ।
जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षको नियुक्तिमा नेकपा जिल्ला कार्यालय टीमकै सदस्यहरुको समेत असहमति छ । ‘शुक्रवारको कार्यालय बैठकमा यसबारे गम्भीर छलफल भएको’ एक सदस्यले बताउनुभयो । ‘माघ ७ गते बस्ने जिल्ला कमिटीको बैठकमै यसबारे गम्भीर छलफल गरिने’ ती सदस्यको भनाई छ । जिल्ला कार्यालयका अधिकांश सदस्यहरुको असहमति रहेको अस्पताल व्यवस्थापन समिति गठनको विषय जिल्ला कमिटीमा छलफल गरिने अर्का कार्यालय सदस्यले बताउनुभयो ।
नेकपाका सुदुरपश्चिम इन्चार्ज भीम रावलले टीकापुर अस्पताल, प्रदेश अध्यक्ष कर्णवहादुर थापाले सेती अस्पतालमा आफ्ना मान्छे अध्यक्ष बनाएपछि दार्चुला जिल्ला अस्पताल तत्कालिन माओवादीको भागमा परेको तत्कालिन माओवादी पक्षधर स्रोतको भनाई छ । भागवण्डामा अस्पतालको अध्यक्ष बनाइदा आफ्नो भागमा परेको माओवादीले प्रदेशसभाको ख निर्वाचन क्षेत्र संयोजक दलजितसिह धामीलाई चयन गरेको हो । तर तत्कालिन माओवादी पक्षका नेतासंग पनि यसबारे छलफल नगरिएको एक कार्यालय सदस्यको भनाई छ । माथिल्लो तहका नेतृत्वसंग छलफल गरी आफुले धामीलाई अध्यक्षमा सिफारिस गरेको जिल्ला अध्यक्ष खत्रीले बताउनुभयो ।
सुरुमा तत्कालिन एमालेबाटै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रयास गरिएको थियो । तत्कालिन एमालेबाट नगेन्द्र तिंकरी, नरसिह चैसिर, भगतसिह ऐतवाल, उमेशराज जोशी र गणेशकुमार जोशीको नाम अध्यक्षका लागि प्रस्तावित गरिएको थियो । तर नेताहरुको छलफलबाट अध्यक्षको टुंगो लाग्न नसकेपछि प्रदेश र केन्द्रस्तरका नेताहरुले अध्यक्ष नियुक्तिमा भागवण्डा गरेको स्रोत भनाई छ ।
अस्पतालको अध्यक्ष नियुक्तिमा तत्कालिन एमालेपंक्तिको विरोध रहे पनि नवनियुक्त अध्यक्ष र दुइ सदस्यहरुले मंसिर १८ गते पदभार ग्रहण गरिसकेका छन् । तत्कालिन एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य गेल्बुसिह बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष र सदस्यहरुको पदभार ग्रहण तथा स्वागत कार्यक्रम गरिएको हो । पदभार ग्रहण कार्यक्रममा तत्कालिन एमालेबाट जिल्ला सदस्य बनेका नगेन्द्र तिंकरी, नरसिह चैसिर, शेरसिह धामीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !