आत्महत्याको अनुसन्धान आवश्यक

0
2788

एक वर्षभन्दा पहिले खण्डेश्वरी घुसाको सिमा नदी चमेलिया नदी किनारमा एक युवक हत्या भएको अवस्थामा भेटिए उनका हत्यारा को हुन् ? अझै प्रष्ट हुन सकेको छैन । घरपरिवार न्यायका लागि गुहार्दा गुहार्दा थाकिसकेको छ । यो बीचमा तीन सरकारको चयनका लागि निर्वाचन भएर अहिले तीन वटै सरकारहरु अस्तित्वमा छन् तर उक्त हत्याकाण्डको अस्तित्व बाँकी छ कि छैन ? न प्रहरीले केही भन्न सकेको छ न स्थानीय सरकारले नै । केही दिन अगाडि मार्मा गाउँपालिकाको घोल्जरमा एक पुरुषलाई आफ्नै घरमा मृत भेटाइयो । प्रहरीले हत्याको आशंका गरेको छ । अनुसन्धान जारी छ । यो घटना घुसाको घटना जस्तै हराउने हो वा अनुसन्धान भएर किनारा लाग्ने हो ? यसै भन्न सकिने अवस्था छैन तर प्रहरीले अनुसन्धानपछि वास्तविकता सार्वजनिक गर्नेछ भन्नेमा अविश्वास गरिहाल्ने ठाउँ भने छैन । यी दुबै घटनाको वास्तविकता प्रहरीले ढिलोचाँडो सार्वजनिक गर्नेछ भन्ने विश्वासलाई कायम राख्नुको बिकल्प देखिदैन ।
हत्या भएका केही घटना बाहेक दार्चुलामा ठूलो संख्यामा आत्महत्या हुने गरेका छन् । स्वयम् प्रहरीको तथ्यांकले जिल्लामा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको देखाउँछ । आत्महत्या आफैमा अपराध हो । जीवनमा असमान्य स्थिति सिर्जना भए व्यक्तिले आत्महत्या गर्ने गरेको विज्ञहरु बताउँछन् तर उक्त असमान्य अवस्था स्वयम् व्यक्तिका कारणले सिर्जना भएको हो वा अरु कसैको कारण यस्तो अवस्था सिर्जना भएको हो ? यसको अध्ययन अनुसन्धान गर्ने कामले खासै प्रभावकारिता लिएको देखिदैन ।
आत्महत्या गर्नेले प्रमाणहरु छोडेको भए, आत्महत्या गर्नु अघि कसैलाई दोषि देखाएको भए र कुनै पक्षले उजुरी गरेमात्रै घटनाको अनुसन्धान हुने हुन्छ तर अरु अवस्थामा आत्महत्याका घटनाहरुको कुनै सुनुवाई हुँदैन । आत्महत्याको दोष पूर्ण रुपमा मृत्यु हुने व्यक्तिमा निहित गरेर समाज, प्रहरी र अन्य सरोकारवाला निकायहरुले आफूलाई चोखो सावित गर्दछन् । यो चोख्याईले सरोकारवालाहरुलाई घटनाबाट दूर राख्न सफल त बनाउला तर बढ्दै गएको आत्महत्याको दरलाई न्युनीकरण गर्न सक्छ र ? प्रत्येक वर्ष बढ्दै गएको आत्महत्याको तथ्यांक हेर्ने हो भने आत्महत्यालाई नजरअन्दाज गर्ने हाम्रो प्रवृत्तिले फाइदा गरेको देखिदैन ।
आत्महत्याका घटनाहरुलाई कम गर्न न परामर्श सेवाको बिस्तार गर्न सकिएको छ न आत्महत्याका कारणहरु पत्ता लगाई अर्को दोषि देखिए कारवाही गर्ने अवस्था छ । यस्तो अवस्थाले समाजमा दीर्घकालीन बिचलन आउनेतर्फ हामी सबै सरोकारवालाहरु समय मै गम्भीर हुनु जरुरी छ ।