आत्महत्या र सार्वजनिक मुद्दाको संख्या वृद्धि

2216

दार्चुला, भदौ ८ गते ।
दार्चुलामा आत्महत्या र सार्वजनिक मुद्दाको संख्या बढेका छन् । तीन वर्षको तुलना मुद्दाको संख्या एक तिहाईले बढेको प्रहरी तथ्यांक छ ।
आर्थिक वर्ष २०७२÷७३ मा २० प्रकृतिका ५२ मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा ५७ मुद्दा दर्ता गरिएका छन् भने गत वर्ष २०७४÷७५ मा प्रहरीले दर्ता गरेका मुद्दा संख्या ८० पुगेको छ ।
अघिल्लो वर्ष १७ प्रकारका मुद्दा दर्ता गरिएका छन् भने गत वर्ष २० प्रकारका घटनाको मुद्दा दर्ता गरिएको प्रहरीको अभिलेख छ । पछिल्ला वर्षहरुमा आत्महत्याका घटना बढिरहेका छन् । गतवर्ष मात्रै १५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । अघिल्लो वर्ष यो संख्या १० थियो भने आर्थिक वर्ष २०७२÷७३ मा १४ जनाले झुण्डिएर आत्महत्या गरेका थिए ।
केही सार्वजनिक अपराध सम्बन्धि गतवर्ष १५ वटा मुद्दा दर्ता गरिएका छन् । आर्थिक वर्ष २०७३÷७४ मा ७ र आर्थिक वर्ष २०७२÷७३ मा ६ वटा सार्वजनिक मुद्दा दर्ता भएको प्रहरी अभिलेख छ ।
जवर्जस्तीकरणी उद्योगका मुद्दा पनि बढेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा एउटा मुद्दा दर्ता भएकोमा गतवर्ष ५ वटा मुद्दा दर्ता भएका छन् । २०७३÷७४ मा जवर्जस्तीकरणी उद्योगमा कुनै मुद्दा दर्ता नभएको अभिलेख छ । जवर्जस्तीकरणीको प्रयास गरेको अवस्थामा उद्योगअन्तर्गत मुद्दा गर्ने प्रावधान छ ।
जवर्जस्तीकरणी भएको अवस्थाका गत वर्ष २ मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७२÷७३ मा जवर्जस्तीकरणीका २ मुद्दा थिए भने आर्थिक वर्ष २०७३÷७४ मा ३ मुद्दा दर्ता गरिएका छन् । गत वर्ष २०७४÷७५ मा नदी बगेर मृत्यु भएका ३ घटना छन् जबकी अघिल्ला दुई वर्षमा यस्ता घटना नभएको प्रहरी अभिलेख छ ।
दार्चुलामा भीरबाट लडेर मृत्यु हुने घटना पनि बढिरहेका छन् । गतवर्ष ९ जनाको भीरबाट लडेर ज्यान गुमेको छ । आर्थिक वर्ष २०७२÷७३ मा ५ जना र २०७३÷७४ मा ६ जनाको भीरबाट लडेर ज्यान गएको प्रहरीको तथ्यांक छ ।
कर्तव्य ज्यानका मुद्दा भने घटेका छन् । गतवर्ष एउटा मुद्दा मात्रै दर्ता गरिएको छ । आर्थिक वर्ष २०७२÷७३ मा ३ वटा र २०७३÷७४ मा ५ वटा कर्तव्य ज्यानका मुद्दा प्रहरीले दर्ता गरेको थियो । भवितव्य ज्यान सम्बन्धि ३ मुद्दा, सवारीसाधनबाट भवितव्य ज्यान ३ मुद्दा र बहुविवाहका ३ मुद्दा गतवर्ष जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
पानीमा हामफाली आत्महत्या २ जनाले र पानीमा डुबेर मृत्यु भएका २ जनाको अभिलेख पनि प्रहरीमा छ । नकबजनी चोरीका ३ घटना, भीरबाट ढुंगा खसेर भवितव्य मृत्यु २ र सरकारी सम्पत्ति आगो लगाइ क्षति गरेको एउटा मुद्दा प्रहरीले गतवर्ष दर्ता गरेको छ ।
जुनसुकै मुद्दा पनि कानुनको दायरामा ल्याउने प्रयास गरिएकाले गतवर्ष मुद्दाको संख्या बढेको दार्चुला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले बताउनुभयो । आपराधिक घटनाप्रति नागरिकको चासो र सचेतना बढेकोले पनि मुद्दाको संख्या वृद्धि भएको उहाँको भनाई छ । ‘नागरिकले कानुनी उपचार खोज्छन् र प्रहरीको क्रियासिलता पनि बढेको छ’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता बोहराले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !