आधारभूत सुविधाको माग गर्दै रिले अनशन

0
1911

दार्चुला, माघ १५ गते ।
भारतको धारचुला तहसिलअन्तर्गतका आधा दर्जन गाउँका वासिन्दाले आधारभूत सुविधाको माग गर्दै शनिवारदेखि रिले अनशन सुरु गरेका छन् । दारमा, व्यास र चौदास घाटीका वासिन्दाले सडक, मोबाइल, स्वास्थ्य सेवाको माग गरेका हुन् ।
लामो समयदेखि तिनवटै घाटी क्षेत्रमा आधारभूत सेवा विस्तार हुन नसकेकोमा स्थानीयको गुनासो छ । माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने समेत स्थानीयले बताएका छन् । लामो समयदेखि मोबाइल सेवा माग गरिए पनि हालसम्म केही प्रगति नभएको स्थानीयको भनाई छ ।
केही मोबाइल टावर राखिए पनि नियमित र गुणस्तरीय सेवा उलब्ध नभएको स्थानीयले बताएका छन् । प्रस्तावित सडकको निर्माण चाँडो गर्न र निर्माण गरिएका सडकमा कालोपत्रे गर्न पनि माग गरिएको छ । तहसिल कार्यालयमा स्थानीय वासिन्दाले रिले अनसन सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चीन र नेपालको सिमाक्षेत्र रहेको गाउँमा आधारभूत सेवा पुर्याउन भारतीय नागरिकले आफ्नो सरकारसंग माग गरेका छन् । यातायात, स्वास्थ्य र सञ्चार सेवाको अभाव हुँदा ग्रामिण क्षेत्रका वासिन्दा बसाइ सरिरहेकोमा सरकारको ध्यानाकर्षण गराउन खोजिएको स्थानीय सुरेश जेठाले बताउनुभयो । अनशन कार्यक्रममा स्थानीय सागर विष्ट, रमेश सिंह, महेन्द्र सिंहलगायतका अगुवाहरुको सहभागिता छ ।