आधा दर्जन सुरक्षा पोष्ट राख्न गृहकार्य

0
2365

दार्चुला, मंसिर १७ गते ।
सशस्त्र प्रहरीले दार्चुलाका आधा दर्जन स्थानमा वर्डर आउट पोष्ट (वीओपी) राख्न अध्ययन गरेको छ । दार्चुलाको सशस्त्र प्रहरीको गुल्म स्थापना भएपछि महाकाली नदी किनारको सीमावर्ती क्षेत्रमा पोष्ट राख्न अध्ययन गरिएको डिएसपी भीमवहादुर चन्दले बताउनुभयो ।
व्यासको तिंकर र छाङरु, राप्लाको दुम्लिङ, व्यास गाँउपालिकाको केन्द्र सुन्सेरा, महाकाली नगरपालिकाको दत्तु र लेकम गाँउपालिकाको लालीमा विओपी राख्ने गृहकार्य अघि बढाइएको गुल्मले जनाएको छ । व्यासको तिंकर चीनको सीमा जोडिएको क्षेत्रनजिक पर्दछ भने बाँकी स्थान भारतीय सीमाक्षेत्रमा रहेका छन् । व्यासको छाङरु भारतको गव्र्याङसंग जोडिएको सीतापुल नाका जोडिएको क्षेत्र हो ।
महाकाली नगरपालिकाको दत्तुमा नेपाल भारत जोड्ने महाकाली नदीमाथि झोलुंगे पुल रहेको छ । लेकम गाँउपालिकाको लालीमा पनि दुई देश जोड्ने झोलुंगे पुल निर्माण हुँदैछ । सीमाक्षेत्र र बढी आवतजावत हुने क्षेत्र भएकाले आधा दर्जन स्थानमा वीओपी राख्ने गृहकार्य भएको सशस्त्र प्रहरीले जनाएको छ ।
भौगोलिक अवस्थिति, पूर्वाधारको अवस्था, पहुँच मार्गलगायत अत्यावश्यक विषयको अध्ययन, विश्लेषण गरिसकेको गुल्मपति चन्दले बताउनुभयो । उपल्लो तहको निर्णय र आदेश प्राप्त भएपछि मात्रै प्रस्तावित विओपीहरु स्थापना गरिनेछन् ।