उत्खनन् रोकियोस्

2152

महाकाली नदी किनारबाट गिट्टी बालुवा निकाल्ने क्रम कम नहुने हो भने निकट भविष्य मै अर्बौ खर्च गरेर निर्धारणधीन रहेको तटबन्ध र सदरमुकाम खतरामा पर्ने देखिन्छ । निर्माणाधीन भौतिक संरचनालाई भविष्यमा समेत असर नपर्ने गरी नदीजन्य वस्तुहरु उत्खनन् र संकलन गर्न सकिने भएपनि निर्माणाधीन संरचनालाई नै असर पर्ने गरी नदीजन्य वस्तुहरु संकलन गरिनु हुन्न । भविष्यको खतरालाई मध्यनजर गर्दै नदीजन्य वस्तुहरुको संकलनलाई तत्काल बन्द गर्न स्थानीय सरकार तयार हुनु पर्दछ । आफ्नो पराया र भोटका लागि मात्रै सोचेर यस्तो कार्य बन्द नगरिने हो भने भविष्यमा अकल्पनीय क्षति व्यहोर्नु पर्ने अवस्था आउन सक्छ । अकल्पनीय क्षति हुन नदिन समयमै सचेत हुनु जरुरी छ ।
महाकाली नदी सीमा नदी हो । यसले हाम्रोतिर मात्रै नभएर भारततिर पनि क्षति गर्ने हुन्छ । हामीसँग स्रोत र साधनको कमी हुने र महाकालीको वहावले गरेको क्षति तत्काल पूर्ति गर्न सक्ने अवस्थाको सहजै अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा हामीले भारततिर यस्तो कार्य हुन्छ भने रोक्न लगाउनु पर्नेमा हामीतिर रातदिन गिट्टी, बालुवा, ढुंगा बेहिसाब निकाल्दै छौं । यसको असर भारतलाई भन्दा हामीलाई बढि पर्छ तर हामी नै लापरवाह बढी छौं । तटबन्ध ढल्दा सदरमुकामलाई कम क्षति होला तर दक्षिणतिर रहेको तटीय क्षेत्रका बस्तिहरु उच्च जोखिममा पर्नेछन् । आफूसँगै अरुलाई पनि जोखिममा पार्ने अधिकार कसैलाई छैन । उत्खनन् र संकलन त्यसैपनि नियमनकारी पक्ष हो, अझै नियमसङ्गत नभएर बन्द गराउने र त्यस्तो कार्य गर्नेलाई हदैसम्मको कारवाही गर्नु पर्ने पक्ष हो । यस्तो अवस्थामा हामीले गम्भीर र जिम्मेवार भएर यस्ता कामहरुलाई निरन्तरता दिने वा बन्द गर्ने भन्ने बारेमा सचेत हुनु जरुरी छ ।
नदीजन्य वस्तुहरु संकलन गर्ने काम तिन थरीले गर्दै छन् । एक त तटबन्धको निर्माणका लागि निर्माण कम्पनीहरुले । अर्को स्थानीय नागरिक जसले घर निर्माण गर्दै छन् र तेस्रो थरी भनेको व्यापारका लागि । पहिलो र दोस्रो पक्षभन्दा तेस्रो पक्षले गरेको उत्खनन् र संकलन बढी जोखिमपूर्ण हुनेछ । व्यापारका लागि ढुंगा, गिटी र बालुबा संकलन गर्दा निक्कै ठूलो मात्रामा यी वस्तुहरु संकलन हुने हुन्छन् र जोखिम पनि बढी र नजिक पुग्ने हुन्छ । तटबन्धको निर्माणका लागि निकालिने यस्ता वस्तु थप असर नपर्ने गरी निकाल्न नियमन गर्न सकिन्छ भने घर निर्माणका लागि संकलन गर्नेहरुले निक्कै ठूलो परिणाममा संकलन गर्दैनन् । व्यापारिक प्रयोजनका लागि संकलन गरिने काम प्रारम्भिक चरणमा बन्द गराएर बिस्तारै यस्तो उत्खनन्लाई रोक्ने कामको सुरुवात गरिनु पर्दछ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !