उत्तराखण्डका विधायक धामीको काग्रेस छोड्ने चेतावनी

0
1938

दार्चुला, माघ १४ गते ।
उत्तराखण्डका विधायक हरिश धामीले आफुमाथि अन्याय भएको भन्दै काग्रेस छोड्ने चेतावनी दिएका छन् । धारचुला–मुनस्यारी क्षेत्रबाट निर्वाचित विधायक धामीले शनिवार घोषणा गरिएको काग्रेस प्रदेश सचिवको पद त्यागको घोषणा पनि गरेका छन् ।
भारतीय राष्ट्रिय काग्रेस पार्टीले ३१ महिनाको प्रतिक्षापछि शनिवार उत्तराखण्ड प्रदेश समितिको घोषणा गरेको छ । १ सय ५२ सदस्यीय प्रदेश समितिमा विधायक धामीलाई अन्तिम क्रममा राखिएको छ । पार्टीले सही मुल्यांकन नगरेको भन्दै प्रदेश सचिव पदबाट राजिनामाको घोषणा गरिएको हो ।
आफ्नो निर्वाचन क्षेत्रका जनतासंगको छलफलपछि काग्रेस छोड्ने चेतावनी समेत विधायक धामीले दिएका छन् । छलफलपछि पार्टी त्यागको घोषणा गर्ने दिन निर्धारण गरिने उहाँले बताउनुभएको छ ।
उत्तराखण्ड प्रदेश कार्यकारिणी समितिमा प्रीतम सिंह अध्यक्ष छन् । पूर्व मुख्यमन्त्री एवं काग्रेसका नेता हरिश रावत निकट विधायक धामीलाई उपयुक्त जिम्मेवारी नदिइएको उनका समर्थकहरुले बताएका छन् । उत्तराखण्ड काग्रेसमा अध्यक्ष प्रीतम सिंह र हरिश रावतको समूहबीच पार्टीभित्र संघर्ष छ ।
काग्रेस पार्टीले सन् २०१७ मा प्रीतम सिंहलाई उत्तराखण्ड अध्यक्ष बनाएको थियो । काग्रेसका राष्ट्रिय महासचिव केसी वेणुगोपालले शनिवार उत्तराखण्ड प्रदेश कार्यकारिणी समितिको घोषणा गरेका हुन् । समितिमा २२ उपाध्यक्ष, ३१ महासचिव, १ कोषाध्यक्ष र ९८ प्रदेश सचिव बनाइएका छन् । धारचुलाका विधायक हरिश धामीलाई सबैभन्दा अन्तिम क्रममा सचिव बनाइएको छ ।
भारत र उत्तराखण्डभरी मोदी लहर चलिरहदा सन् २०१७ को निर्वाचनमा हरिश धामी ३ हजार मतअन्तरले विधायकको पदमा विजयी भएका थिए । पिथौरागढका ४ विधानसभा क्षेत्रमध्ये धारचुला–मुनस्यारी क्षेत्रमा मात्रै काग्रेसले जितेको थियो । यसअघि सन् २०१२ को निर्वाचनमा पनि हरिश धामी धारचुला विधानसभा क्षेत्रबाट निर्वाचित भएका थिए ।
एक वर्षपछि सन् २०१४ मा उपनिर्वाचनमार्फत तत्कालिन मुख्यमन्त्री हरिश रावत यसक्षेत्रबाट निर्वाचित भएका थिए । आफुले जितेको निर्वाचन क्षेत्रमा हरिश धामीले हरिश रावतलाई उम्मेदवार बनाएर उपनिर्वाचनमा १० हजार मतअन्तरले जिताएका थिए । हरिश धामी रावतका विश्वासमात्र मानिन्छन् । धामीले पूर्व मुख्यमन्त्रीलाई राजनीतिक गुरु मान्ने गरेका छन् ।