उपप्रधानमन्त्री पोखरेल दार्चुला आउदै

2040

आइतवार दिउसो १ बजे महोत्सव उद्घाटन, सोमबार व्यासक्षेत्र भ्रमण
दार्चुला, फागुन ३ गते ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले आइतवार दिउसो दार्चुला महोत्सवको उद्घाटन गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा फागुन ४ देखि १३ गतेसम्म सञ्चालन हुन लागेको महोत्सव पहिलोपटक उच्चतहबाट उद्घाटन गरिन लागेको हो ।
दार्चुला महोत्सवमा प्रमुख अतिथिको रुपमा उपप्रधानमन्त्री पोखरेललाई निम्ता गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो । आइतवार दिउसो १ बजे महोत्सवको समुद्घाटन गरिने कार्यतालिका छ ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल दार्चुलास्थित नेपाली सेनाको दुर्गादल गुल्मको निरीक्षण भ्रमण जोडेर महोत्सवमा सहभागिता जनाउदैछन् । उपप्रधानमन्त्रीको दार्चुला भ्रमणबारे गृह मन्त्रालयबाट औपचारिक जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
दार्चुला भ्रमणबारे उपप्रधानमन्त्रीको नीजि सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृति समेत लिइसकेको छ । आइतवार विहान १० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उपप्रधानमन्त्रीको टोली काठमाण्डौबाट दार्चुलाका लागि प्रस्थान गर्नेछ ।
उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एकजना सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागिता हुने स्रोतले बतायो । ‘मन्त्रालयका एकजना सहसचिव र नेपाली सेनाका पृतनापतिसहितका अधिकारी पनि उपप्रधानमन्त्रीको टोलीमा सहभागी हुने’ स्रोतको भनाई छ ।
रक्षामन्त्रीस्तरबाट दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरिन लागेको हो । नेपाली सेनाको उच्च अधिकारीहरुले भने समय समयमा ब्यारेकको निरीक्षण गर्दैआएका छन् । काठमाण्डौबाट आइतवार विहान उड्ने सेनाको हेलिकोप्टर दिपायलस्थित नेपाली सेनाको पृतना हेडक्वाटर भएर दार्चुला आउने छ ।
गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जानकारी जिल्लास्तरमा दिइएको छ ।
उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए । तत्कालिन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मंसिर १७ गते दार्चुला पुगेका थिए ।
उपप्रधान तथा रक्षामन्त्री पोखरेल दार्चुलामा एक रात बास बस्ने कार्यक्रम छ । आइतवार व्यारेक निरीक्षण र दार्चुला महोत्सवको उद्घाटन गरेपछि बेलुकी दार्चुलामै बस्ने कार्यतालिका छ । आइतवार अपरान्ह ४ बजे कार्यालय प्रमुखहरुसंग उपप्रधानमन्त्री पोखरेलको छलफल कार्यक्रम हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । दिउसो १ देखि ४ बजेसम्म महोत्सवको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सहभागी हुनेछन् ।
सोमबार विहान ८ देखि १० बजेसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुको भेलालाई उपप्रधानमन्त्री पोखरेलले सम्बोधन गर्ने कार्यतालिका छ । त्यसपछि हेलिकोप्टरमार्फत व्यास क्षेत्रको भ्रमण गर्ने कार्यक्रम समेत छ । सैनिक अधिकारीसहित व्यासक्षेत्रमा गरिन लागेको उपप्रधानमन्त्री पोखरेलको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
दार्चुला तिंकर सडक निर्माणको जिम्मा सेनालाई दिन गृहकार्य भइरहेको बेला रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्रीले सैनिक अधिकारीसहित व्यास क्षेत्रको भ्रमण गर्दैछन् । ‘व्यास क्षेत्रको भ्रमणले ठूलो अर्थ राख्दछ, सडक निर्माण सेनालाई दिने र सिमाक्षेत्रमा राज्यको उपस्थिति वा सक्रियताको सन्देश समेत दिन्छ’ नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले भन्नुभयो । उपप्रधानमन्त्रीस्तरबाट व्यासक्षेत्रको भ्रमण गरिनुले सरकारको प्राथमिकता र सक्रियता समेत देखाउने उहाँको भनाई छ ।
उपप्रधानमन्त्रीको भ्रमणका क्रममा जिल्लाको शान्ति सुरक्षा र विकास निर्माणबारे समेत छलफल गरिने भएको छ । उपप्रधानमन्त्री पोखरेलको दार्चुला भ्रमण गराउन दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले एक वर्षदेखि पहल गर्दैआएका थिए । गतवर्षको दार्चुला महोत्सवमा उपप्रधानमन्त्री इश्वर पोखरेलको भ्रमण तय गरिए पनि मौसमी प्रतिकुलताले हुन सकेको थिएन । यसपालीको महोत्सवमा भने उपप्रधानमन्त्री पोखरेलको दार्चुला भ्रमण निश्चितप्रायः भएकोमा स्थानीयस्तरमा उत्साह बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !