एउटै डाेरीमा सरकार र प्रतिपक्ष !

0
2277

सामान्यतः सरकार र प्रतिपक्ष भिन्न भिन्न मान्यतामा अडिन्छन् । त्यसैअनुसार आफ्ना कार्य सम्पादन गर्दछन् । सरकारका नीति तथा कार्यक्रमको बिरोध प्रतिपक्षले गर्दछ भने प्रतिपक्षले उठाएका प्रश्नहरुको जवाफ दिने र आफ्ना कार्यक्रमको बचावट सरकार पक्ष गर्दछ । तर केही महिनादेखि सरकार र प्रतिपक्ष एउटै डोरीमा अल्झिएका छन् । यद्यपि सरकार र प्रतिपक्ष त्यो डोरीको विपरीत धु्रवमा नभएको भने होइन । सरकार र प्रतिपक्षलाई एउटै डोरीमा विपरीत धु्रवमा राख्ने कार्य कञ्चपुरकि निर्मलाको बालात्कार र हत्याकाण्डले गरेको छ ।
निर्मलाको काण्डले कञ्नपुर मात्रै नभएर संयुक्त राष्ट्र संघको समेत ध्यानाकर्षण गराएको छ । बालात्कर गरेर हत्या गरिएकि निर्मलाको बालात्कार र हत्यामा संलग्न भएकाहरुलाई अहिलेसम्म सरकारले नियन्त्रणमा लिन सकेको छैन । यसै कुरालाई लिएर कञ्चनपुरमा अधिकारकर्मीहरुले आन्दोलन थाल्ने निर्णय गरेका हुन् भने संयुक्त राष्ट्र संघले निर्मलाको मुद्दाका आधारमा नेपाल सरकारको मुल्याङ्कन गर्ने धारणा सार्वजनिक गरेको छ । यसले सरकार आन्तरिक र बाह्य दुबै क्षेत्रबाट निर्मलाको हत्याकाण्डमा संलग्नहरुलाई सार्वजनिक गर्न र दोषिलाई कारवाही गर्न थप दबाव दिएको छ । संगीन अपराधमा संलग्नहरुलाई सार्वजनिक गर्न नसक्नु, तिनीहरुलाई पक्रन नसक्नु तथा निर्दोषलाई दोषि देखाउने प्रहरीलाई कारवाही गर्न नसक्नु सरकारका कमजोरी रहेका छन् । यद्यपि प्रमाण नष्ट गरेको आरोपमा केही प्रहरी अधिकृतहरुलाई भने सरकारले कारवाही गरेको देखाएको छ ।
आम नागरिकले केही प्रहरी अधिकृतहरुलाई कारवाही चाहेका छैनन् । सबै माग दोषि पत्ता लगाउने र कारवाही गर्नै पर्ने हो । सामाजिक न्याय र कानुनी राज्यको अवधारणाले पनि कोही पनि व्यक्ति अपराधबाट उन्मुक्ति पाउनु हुँदैन । त्यसमाथि संगीन आरोप लागेकाहरुको अहिलेसम्म पहिचान गर्न नसक्नु सरकारको कमजोरीका रुपमा लिनै पर्ने हुन्छ । सरकारले केही प्रहरी अधिकृतहरुलाई कारवाही गरेर अनुसन्धान गरिरहेको ढोङ गर्नु व्यर्थ हो । अपराधीसम्म पुग्ने प्रयास गरिनु पर्दछ । आम नागरिकले त्यस किसिमको अपराध गरेको भए उहिल्यै नियन्त्रणमा आउने र बलिया तथा पहुँचवालाहरुले त्यस्तो गरेका हुनाले मुद्दाले किनारा पाउन नसकेको आम बुझाइ रहेको छ । सरकारले दोषि पत्ता लगाउन र कारवाही गर्न जति ढिला गर्दछ त्यति नै यो बुझाइ बलियो हुने र सरकारमाथि आन्तरिक र बाह्य दबाव थप सिर्जना हुने प्रष्ट संकेतहरु देखिएका छन् ।
सरकारले प्रधानमन्त्रीका पोष्टर पोलमा टाँस्ने र प्रतिपक्षले परोक्ष्य रुपमा निर्मलाको पोष्टर पोलमा टाँस्ने काम देखाएको प्रतिश्पर्धाले सरकार र प्रतिपक्ष एउटै डोरीमा झुण्डिएको प्रष्ट भएको छ । जनताले न्याय चाहेका छन् । निर्मला काण्डमा दोषि देखिएका अपराधिलाई सजाय भएको हेर्न चाहेका छन् ।