एक लाख ४२ हजार जनसंख्यामा स्वास्थ्यसेवा प्रवाह गरिदै

1915

दार्चुला, माघ १५ गते ।
दार्चुलामा १ लाख ४२ हजार ८ सय १८ जनसंख्यामा स्वास्थ्यसेवा प्रवाह भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरीको अनुमानित जनसंख्या निर्धारित गरी सबैमा स्वास्थ्य सेवा पुर्याइदैआएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।
‘वार्षिक लक्ष्य निर्धारण गरी प्रवद्र्धनात्मक र उपचारात्मक सेवा दिइदै आएको छ’ बुधवार सञ्चारकर्मीसंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख भट्टले भन्नुभयो । स्वास्थ्य कार्यालयको लक्षित गरेको जनसंख्यामध्ये महिलाको संख्या ७४ हजार ६ सय ६५ छ ।
दार्चुला जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालका साथै ४० वटा स्वास्थ्य चौकीबाट नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभरी ४२ डट्स सेन्टर, १२ माइक्रोस्कोप सेन्टर, २४ सामुदायिक स्वास्थ्य इकाई र १२ शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेको स्वास्थ्यको तथ्यांक छ ।
दार्चुलाका नौवटै स्थानीय तहहरुमा १ सय ४२ खोपकेन्द्र र १ सय ४६ खोप क्लिनिक नियमित सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर बीरेन्द्रराज भट्टले बताउनुभयो । जिल्लाभरी ३ सय ६७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले निरन्तर स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा काम गरिरहेको उहाँको भनाई छ ।
चालु आर्थिक वर्षमा एक वर्षमुनिका ३ हजार ४९ वालवालिका र ५ वर्षमुनिका १४ हजार ५ सय ४५ वालवालिकामा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो । ३ हजार २ सय गर्भवती महिलाहरुलाई समेत सेवा पुर्याउने लक्ष्य राखिएको छ ।
राष्ट्रिय खोप कार्यक्रम, वालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम, नवजात शिसु तथा वालरोगको एकीकृत कार्यक्रम र सुरक्षित मातृत कार्यक्रम दार्चुलामा सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी, परिवार नियोजन कार्यक्रम, नवजात शिशु, किशोर किशोरी, एचाइभी एड्स, सुरक्षित गर्भपतन सेवा पनि सञ्चालन भइरहेको छ । निसन्तान दम्पत्तिलाई परामर्श सेवा, उमेर ढल्केका महिलालाई स्वास्थ्य सेवा र लैंगिक हिंसा न्युनिकरणको क्षेत्रमा पनि कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले बताउनुभयो ।
गर्भवती जाँच, निशुल्क प्रसुति सेवा, सुत्केरी सेवा तथा नवजात शिसु स्याहारलाई उच्च प्राथमिकता दिएर सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो । रोग नियन्त्रणका साथै रोग लाग्ने नदिनका लागि चेतनामूलक र प्रवद्र्धनात्मक कार्यक्रम पनि स्वास्थ्य कार्यालयबाट सञ्चालन भइरहेको जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिनुभयो ।
‘मिडिया क्षेत्र साझेदार’
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले स्वास्थ्य क्षेत्रले मिडियालाई साझेदारको रुपमा लिएको बताएका छन् । ‘मिडिया हाम्रो सरोकारवाला मात्र होइन, प्रमुख साझेदार हो’ बुधवार खलंगामा आयोजित सञ्चारकर्मीबीच स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो ।
सार्वजनिक सेवा र सामाजिक उत्तरदायित्वका हिसाबले स्वास्थ्य क्षेत्रका लागि मिडिया अभिन्न साझेदार रहेको उहाँको भनाई छ । सरकार कार्यान्वयनमा ल्याएका स्वास्थ्य सम्बन्धि कार्यक्रम र सेवाको पहुँच विस्तार र गुणस्तर सुधारका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने जनस्वास्थ्य अधिकृत भट्टले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव प्रेम चुनाराले स्वास्थ्य क्षेत्र र मिडियाको साझा दायित्व र भूमिकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्न सकिने बताउनुभयो । पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले स्वास्थ्य क्षेत्रसंगको सहकार्य मिडिया क्षेत्रका लागि राम्रो काम गरेर देखाउने अवसर भएको बताउनुभयो । स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा मिडिया क्षेत्रले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !