एड्सले दार्चुलामा चारजनाको मृत्यु, पहिलो चौमासिक चार विरामी थपिए

0
2267

दार्चुला, मंसिर ३० गते ।
दार्चुलामा एड्स रोगले हालसम्म ४ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा थप ४ जना विरामी थपिएका छन् । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाभरी एड्सका विरामीहरुको संख्या ३७ पुगेको छ ।
हालसम्म ४५ जनामा एचआइभीको संक्रमण देखिएकोमा ४ जनाको मृत्यु भइसकेको छ । ४ जना विरामी जिल्ला बाहिरका नागरिक रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । गत आर्थिक वर्षको अन्तिम अर्थात असार महिनामा एड्सका विरामीको संख्या ३३ रहेकोमा साउनदेखि कार्तिकसम्मको अवधिमा ४ विरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य संस्थाको सम्पर्कमा आएका सबै विरामीले नियमित रुपमा एआरभी औषधि प्रयोग गरिरहेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । एड्सका विरामीमध्ये १४ वर्षमुनिका ३ वालवालिका छन् । ३७ जना एड्सका विरामीमध्ये १८ पुरुष र १९ महिला रहेको तथ्यांक सहायक श्यामसिह कार्कीले बताउनुभयो ।
लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा ९÷९ जना विरामी छन् । मालिकार्जुन गाउँपालिकामा ८ जना, महाकाली नगरपालिकामा ७ जना, मार्मा गाउँपालिकामा ३ जना र दुहुँ गाउँपालिकामा १ जना एड्सका विरामी छन् । व्यास, अपिहिमाल र नौगाड गाउँपालिकामा एड्सका विरामी नभेटिएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक छ । ‘गाउँघरमा विरामी भए पनि स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्न नसकेको अवस्था हुनसक्छ’ स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले भन्नुभयो ।
एचआइभी एड्सको नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण हुने जनस्वास्थ्य अधिकृत भट्टको भनाई छ । विरामीको पहिचान, उपचार र रोकथाममा समुदायको सक्रियता आवश्यक हुने उहाँले बताउनुभयो । रोग लाग्नबाट बच्नसक्नु नै पहिलो विकल्प भएको उहाँको भनाई छ । रोग लागिसकेको अवस्थामा समयमै उपचार गराएर नियमित औषधि प्रयोग गरेर केही वर्ष आयु लम्ब्याउन सकिने उहाँले बताउनुभयो ।
हाल देशभरी २९ हजार ९ सय ४४ जना एड्सका विरामी रहेको तथ्यांक छ । एचआइभी संक्रमितमध्ये १७ हजार ७ सय ३२ पुरुष र १२ हजार २ सय १२ महिला छन् । १४ वर्षमुनिका १ हजार २ सय ९६ वालवालिका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका २१ हजार ४ सय ८ जना र ५० वर्षमाथिका ७ हजार २ सय ४० जनामा एचआइभी संक्रमण देखिएको छ ।
देशभरीका एचआइभी संक्रमितहरुमध्ये ६० प्रतिशत विरामीले एआरभी औषधि प्रयोग गरिरहेको तथ्यांक छ । सन् २०३० सम्म एड्सको महामारी विश्वबाटै अन्त्य गर्ने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।
नेपालमा नवजात शिशुमा हुने एड्सको संक्रमणमा उल्लेख्य सुधार आएको तथ्यांक छ । वालवालिकामा हुने संक्रमणमा ७१ प्रतिशतले कमी आएको तथ्यांक सहायक श्याम सिंह कार्कीले जानकारी दिनुभयो । विश्वभर ३ करोड ७८ लाख एड्सका विरामी छन् । सन् २०१८ मा मात्रै नेपालमा ८ सय ७३ नयाँ एड्सका विरामी थपिएका छन् ।
सन् १९८१ मा अमेरिकाबाट पत्ता लागेको एड्स रोगको संक्रमण नेपालमा सन् १९८८ देखि फैलिएको इतिहास छ ।