ओम पर्वतको फोटो नेपाली पक्षलाई उपहार

0
2232

दार्चुला, पुष ५ गते ।
भारतीय पक्षले नेपाली अधिकारीहरुलाई अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पर्ने ओम (ॐ) पर्वतको फोटो उपहार दिएका छन् । सिमाक्षेत्रमा आयोजना गरिएका दुई देशका अधिकारीहरुको समन्वय बैठकका क्रममा ओम पर्वतको फोटो उपहार दिइएको हो ।
सिमाक्षेत्रमा समन्वय र सहजता ल्याउन आयोजना गरिने बैठकमा भारतीय पक्षले नेपाली भूमिकै प्राकृतिक सम्पदाको फोटो नेपालका अधिकारीहरुलाई दिएका छन् । सन् २०१८ मा आयोजित सिमा बैठकमा नेपाली अधिकारीहरुलाई ओम पर्वतको फोटो उपहार दिइएको हो ।
ओम पर्वत भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पर्दछ । दशकौंदेखि नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीले क्याम्प बनाएर बस्दैआएका छन् ।
सिमा बैठकमा सहभागी सबै नेपाली अधिकारीहरुलाई ओम पर्वतको फोटो फ्रेमिङसहित उपहार दिइएको थियो । महाकाली नदी नियन्त्रण आयोजना कार्यालयमा ओम पर्वतको फोटो अहिले पनि झुण्ड्याइएको छ । पिथौरागढ बैठकमा सहभागी अन्य निकायका प्रमुखहरुले भने ओम पर्वतको फोटो कार्यालयमा राखेका छैनन् । ‘सुन्दर तस्वीर भएकोले कार्यालय प्रमुखहरुले आफ्नो आवाश वा घरमा पुर्याएका होलान्’ नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले भन्नुभयो । अतिक्रमित नेपाली भूमिमा पर्ने सम्पदा फोटो हो भन्ने जानकारी भएपछि कार्यालयमा नराखिएको पनि हुनसक्ने उहाँको भनाई छ ।
सिमा बैठकमा प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्दछन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, वन, अपिनाम्पा संरक्षण क्षेत्र, तत्कालिन जिल्ला प्राविधिक कार्यालय, महाकाली नदी नियन्त्रण आयोजना, भन्सारलगायतका कार्यालय प्रमुख सहभागी हुन्छन् । ‘भारतीय पक्षले अतिक्रमित नेपाली भूमिको ओम पर्वतको फोटो उपहार दिएर सिमा अतिक्रमणलाई वैधता दिन खोजेको’ पत्रकार महासंघ जिल्ला अध्यक्ष धामीको भनाई छ ।
उपहार स्वरुप नेपाली पक्षलाई प्राप्त ओम पर्वतको फोटोमा ‘जिला प्रशासन पिथौरागढ सप्रेम भेट’ लेखिएको छ । सन् २०१८ मा नेपाल र भारतका अधिकारीहरुबीच दुईपटक सिमा बैठक बसेको अभिलेख छ । ५ मार्च २०१८ अर्थात २०७४ फागुन २१ गते भारतको पिथौरागढमा सिमा बैठक बसेको थियो । उक्त बैठकमा नेपाली पक्षको नेतृत्व दार्चुलाका तत्कालिन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व पिथौरागढका डिएम सि रविशंकरले गर्नुभएको थियो ।
१२ जुलाइ २०१८ अर्थात २०७५ असार २८ गते दार्चुला सदरमुकाम खलंगामा सिमा बैठक बसेको थियो । उक्त बैठकमा नेपाली पक्षको नेतृत्व तत्कालिन प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व पिथौरागढका डिएम सि रविशंकरले गर्नुभएको थियो ।
यी दुई बैठकमध्ये एउटा बैठकमा भारतीय पक्षले ओम पर्वतको तस्वीर नेपाली पक्षलाई दिएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताउनुभयो । ‘कुन बैठकमा यो फोटो दिइएको हो भन्ने ठ्याक्कै जानकारी छैन तर सन् २०१८ मा आयोजित बैठकमा दिइएको भने निश्चित हो’ ती कर्मचारीले भन्नुभयो । अन्य बैठकहरुमा भारतको धारचुला तहसिलमा पर्ने नारायण आश्रम मन्दिर, मुनस्यारी तहसिलमा पर्ने पञ्चाचुली हिमाल र नैनीताल शहरको फोटो उपहार दिइएको छ ।
पछिल्लो पटक २०७५ चैत्र १७ गते पिथौरागढमा सम्पन्न बैठकमा भारतीय पक्षले हस्तकलाबाट निर्मित फुलको तस्वीर फ्रेमिङसहित उपहार दिएको अभिलेख छ । उक्त बैठकमा नेपाली पक्षको नेतृत्व तत्कालिन प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्ट र भारतीय पक्षको नेतृत्व पिथौरागढका डिएम डा. विजयकुमार जोगदण्डेले गर्नुभएको थियो । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय, जिल्ला प्रहरी कार्यालय र महाकाली नदी नियन्त्रण कार्यालयमा भारतीय पक्षले दिएका उपलब्ध गराएका उपहारहरु भित्तामा टाँसिएका छन् ।
‘सिमा बैठकमा आपसमा उपहार प्रदान गरिदा प्याकिङ गरिएको हुन्छ’ बैठकमा सहभागी एक कार्यालय प्रमुखले भन्नुभयो, ‘जे उपहार दिइए पनि बाहिर कभरले ढाकिएको हुन्छ, खुला दिइदैन । के को तस्वीर वा कुन वस्तु उपहार आफुलाई दिइयो भनेर तत्काल खोल्ने कुरा भएन’ उहाँको भनाई छ । ‘औपचारिक कार्यक्रममै ओम पर्वतको तस्वीर उपहार दिएर नेपाली पक्षको मुख बन्द गर्न खोजेको देखियो’ ती कार्यालय प्रमुखले भन्नुभयो ।
सन् २०१६ नोभेम्बरमा आयोजित जौलजीवि मेलामा पनि नेपाली अधिकारीहरुलाई ओम पर्वतको फोटो उपहार दिइएको थियो । जिल्ला प्रहरी कार्यालय परिसरमा जौलजीवि मेलामा प्राप्त भएको ओम पर्वतको फोटो अहिले पनि राखिएको छ । उत्तराखण्ड राज्य सरकारको व्यवस्थापनमा हरेक वर्ष जौलजीविमा व्यापार मेला आयोजना हुन्छ । मेलामा नेपाली अधिकारीहरुलाई निम्ता दिएर ओम पर्वतको फोटो उपहार दिइएको थियो ।
‘सुरक्षाकर्मीबाट मात्र होइन, प्रशासनिक र नागरिकस्तरबाट पनि नेपाली भूमि कब्जा भइरहेको छ’ नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले भन्नुभयो । भारतको धारचुला बजार क्षेत्रमा धारचुला नगरपालिकाले केही स्थानमा समेत ओम पर्वतको फोटो राखेको छ । उत्तराखण्डमा पर्ने चारधामको तस्वीरसंगै ओम पर्वत र कैलाश पर्वतको फोटो पनि सार्वजनिक स्थानमा राखिएको छ । कैलाश पर्वत चीनको भूमिमा पर्दछ । ओम पर्वतलाई भारतीय पक्षले आफ्नो भूमिमा पर्ने प्रमुख धार्मिकस्थल भन्दै प्रचार गरिरहेको छ ।
सिमा बैठकमा नेपाली पक्षले भने पशुपतिनाथको मन्दिर र मालिकार्जुन मन्दिरको फोटो उपहार दिएको थियो । एउटा बैठकमा भारतीय अधिकारीहरुलाई नेपालीको वीरताको चिनो ‘खुकुरी’ नै उपहार दिइएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताउनुभयो । हरेक सिमा बैठकमा सहभागी अधिकारीहरुबीच बैठक सम्पन्न भएपछि उपहार आदानप्रदान गर्ने परम्परा छ ।