कडा चट्टान काट्दै नजंगसम्मको सडक निर्माण पूरा

0
2192

दार्चुला, माघ ६ गते ।
भारतको धारचुला तहसिलअन्तर्गत महाकाली नदी किनार क्षेत्रमा निर्माणाधिन सडक नजंग पुगेको छ । सीमा सडक संगठनले निर्माण गरिरहेको सामरिक महत्वको सडक निर्माणमा प्रगति भइरहेको अधिकारीहरुले बताएका छन् ।
चीनिया सीमासम्म जोड्ने सडक निर्माणमा उल्लेख्य प्रगति भएको सीमा सडक संगठनले बताएको छ । माघ २ गते पहिलो पटक लखनपुरदेखि नजंगसम्मको क्षेत्रमा गाडी गुडाइएको छ । त्यसक्षेत्रको कडा चट्टानी भूभागमा सडक निर्माण गर्न वर्षौ लागेको छ ।
नेपालको व्यास गाँउपालिकाको वडा नम्बर २ तम्बाकु क्षेत्रको ठिक पारिपट्टी रहेको लखनपुरदेखि नजंगसम्मको साढे २ किलोमिटर सडक निर्माण सम्पन्न भएको सडक निर्माण कम्पनीले जनाएको छ ।
उक्त क्षेत्रमा सडक निर्माण भइरहदा नेपाल र भारत दुई देशका अधिकारीहरुको समन्वयमा नेपाली बाटो प्रयोग हुँदैआएको छ । भारतीय क्षेत्रमा सडक निर्माणका कारण पैदल बाटो अवरुद्ध भएपछि नेपाली पक्षसंगको समन्वयमा महाकालीमा काठेपुल राखेर नेपालतर्फको पैदलबाटो प्रयोग हुँदैआएको छ ।
भारतको तवाघाटदेखि नजंगसम्मको २६ किलोमिटर सडक निर्माण पूरा भएको सीमा सडक संगठनका मुख्य अभियन्ता विमल गोस्वामीलाई उद्दृत गर्दै भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । सडक निर्माणमा संलग्न कम्पनीका गाडी माघ २ गते नजंगसम्म पुगेका छन् ।
नजंगदेखि बुँदीसम्मको १४ किलोमिटर सडक निर्माण सम्पन्न हुन बाँकी छ । यसक्षेत्रमा अहिले सडक निर्माणको कार्य भइरहेको पत्रिकाको समाचारमा उल्लेख छ । नेपाली अतिक्रमित भूमि कालापानी क्षेत्रको लिपुलेखदेखि चीनिया सीमासम्मको ४ किलोमिटर सडक निर्माण पनि बाँकी रहेको छ । भारतले अतिक्रमित नेपाली भूमि हुदै चीनिया सीमा जोड्ने सडक निर्माणलाई प्राथमिकता दिदैआएको छ ।
तवाघाटदेखि लिपुलेखसम्मको ९५ किलोमिटर लामो सडक निर्माणलाई भारतको केन्द्र सरकारले महत्व दिदैआएको छ । चीनिया सीमा नजिकको लिपुलेखदेखि तल बुँदी गाँउसम्मको ५१ किलोमिटर लामो सडक निर्माण भइसकेको छ । उक्त सडक खण्डमा अहिले भारतीय सुरक्षाकर्मी र सडक निर्माण कम्पनीका गाडी सञ्चालन भइरहेका छन् ।
कैलाश मानसरोवर यात्रा मार्ग समेत यस क्षेत्रको सडक निर्माण भारतीय सेनाको सडक निर्माण कम्पनी सीमा सडक संगठनको हिरक परियोजनाले गरिरहेको छ । धारचुला तहसिल मुख्यालयदेखि तवाघाटसम्मको दूरी १८ किलोमिटर रहेको छ । धारचुलादेखि करिब एक सय किलोमिटर लामो मोटरमार्ग निर्माण गरी सीमाक्षेत्रमा भारतीय पक्षले आफ्नो सुरक्षा उपस्थिति मजबुद बनाउन लागेको छ ।
अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा भारतीय सेनाका कुमाउ रेजिमेन्ट, गोर्खा रेजिमेन्ट, असम राइफल्स तथा भारत तिब्बत सीमा पुलिस (आइटिविपी) र सशस्त्र सीमा वल (एसएसवी) को फौज तैनाथ छ । नेपालसंग जोडिएको सीमाक्षेत्रको सुरक्षा एसएसवीको जिम्मामा छ भने चीनसंग जोडिएको भूभागमा आइटिविपी र भारतीय सेनाले निगरानी गर्दैआएको छ ।
राष्ट्रिय सुरक्षा र सामरिक महत्वले प्राथमिकता पाएको सीमाक्षेत्रको सडक निर्माणले स्थानीयवासिन्दालाई समेत सुविधा पुग्नेभएको छ । महाकाली नदी किनारका उत्तरी क्षेत्रका वस्तीहरु बुँदी, छियालेख, गब्र्याङ, गुञ्जी, कुटीलगायत आधा दर्जन गाँउसम्मको यातायात सुविधा उपलब्ध हुने भएको छ ।
कैलाश मानसरोवर यात्राका साथै भारत र चीनबीच हुँदैआएको स्थल व्यापारमा समेत सडक निर्माणले सहजता ल्याउने भारतीय दैनिक पत्रिका अमर उजालाले समाचार लेखेको छ । सीमा सडक संगठनले सन् २०२० भित्र सडक निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखेको छ । राष्ट्रिय राजमार्गको मापदण्डअनुसार भने सडक सञ्चालन ल्याउन र नागरिकलाई यातायात सुविधा उपलब्ध गराउन केही समय लाग्ने सीमा सडक संगठनका मुख्य अभियन्ता विमल गोस्वामीले बताउनुभयो ।