काग्रेस नेता बडूको समानुपातिक यात्रा, प्राविधिक जीत, राजनीतिक हार ।

2503
फाइल फोटोः नेता दिलेन्द्र प्रसाद बडु

शंकरसिह धामी, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ को नतिजा आइसकेको छ । निर्वाचनको नतिजाले वामगठबन्धनलाई सरकार सञ्चालन गर्न र नेपाली काग्रेसलाई प्रमुख प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको छ । मतपरिणामले चुनावी अंकगणितको हिसाब मात्रै गरेको छैन, वामगठबन्धनलाई राजनीतिक रुपमा पनि अनुमोदन गरेको छ । गठबन्धनसंगै पार्टी एकताको स्वीकृति पनि हो, यो नतिजा । यद्यपि कुर्सी दौडको खेलमा एम्पायरको सिट्टी कतिखेर बज्ने हो र कस्को कुर्सी कतिखेर गुम्ने हो वा कस्ले कुर्सी पाउने हो ? नेपालको राजनीतिक कुर्सी दौडको खेलमा अझै ठोकुवा भन्न सकिने अवस्था भने छैन । विगतका राजनीतिक समिकरण, अभ्यास र प्रवृतिले विश्वास गरिहाल्ने अवस्था छैन ।
अढाई दशकसम्मका एक्ला वृहस्पति
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत दार्चुलाको नतिजा पनि देशभरीको नतिजा कै पाटोमा अभिव्यक्त भयो । अर्थात प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रबाट गठबन्धन विजयी बन्यो । गठबन्धनको चुनौती सामना गरेको नेपाली काग्रेस रक्षात्मक देखिए पनि काग्रेसले प्राप्त गरेको मत भने लोकप्रिय देखिएको छ । नेपाली काग्रेसका केन्द्रीय सदस्य, पूर्व पार्टी प्रवक्ता तथा पूर्व राज्यमन्त्री समेत रहनुभएका दिलेन्द्रप्रसाद बडूले चुनावी प्रतिस्पर्धाको राजनीतिक मैदान यो पटक छोडिदिनुभयो । धेरैको अनुमान र आकलन विपरित नेता बडूले अप्रत्यासित रुपमा समानुपातिकतर्फको सुचीमा आफुलाई उभ्याउनुभयो ।
स्थानीय तहको चुनावी नतिजाबाट उत्साहित दार्चुलाको नेपाली काग्रेस र हौसिएका काग्रेसजन गठबन्धनको चुनौती र नेता बडूको समानुपातिक उम्मेदवारीले निराश बने । निर्वाचनमा एकसाथ दुइटा निरासा सामना गर्दै काग्रेस नेताकार्यकर्ता चुनावमा होमिए । उम्मेदवारी चयनमा ढिलाई र आन्तरिक अन्यौलताले पनि नतिजासम्म आइपुग्दा असर पुगेको केही काग्रेसजनको ठहर छ ।
२०४८ सालदेखि दार्चुला जिल्लाबाट निर्विकल्प नेतृत्व गर्दै मुलुकको केन्द्रीय राजनीतिमा सक्रिय नेता दिलेन्द्रप्रसाद बडूले पहिलो पटक पार्टीका अन्य नेतालाई चुनावी प्रतिस्पर्धामा उतारे । २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा सम्पन्न निर्वाचनमा काग्रेसको तर्फबाट निर्विकल्प र सर्वसम्मत झै उम्मेदवार बनेका नेता बडू यसपटकको चुनावमा पछाडि हटे । कारण– सहज अनुमान गर्न सकिन्छ वामगठबन्धनको चुनौती । स्थानीय निर्वाचनले दार्चुलामा काग्रेसका लागि राम्रो आधार तयार गरेको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काग्रेस एक्लैले सिंगल–सिंगल प्रतिस्पर्धामा सफलता पाउने धेरैले अनुमान गरेका थिए । तर दशैको बेला एकाएक बनेको वामगठबन्धनले छोटो समयमै परिस्थिति फेरियो ।
केही शुभचिन्तक र नेता कार्यकर्ताहरुको सुझावमा काग्रेस नेता बडूले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा आफु उम्मेदवार बन्ने निर्णय गरे । आफुले उठ्दैआएको स्थानमा विकल्पको खोजी गरे र पुराना नेता विक्रमसिह धामीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार खडा गरे । सुरुमा प्रदेशसभाको समानुपातिकतर्फ उम्मेदवारको तयारी गरिरहेका धामीले पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको समेत आग्रहमा प्रतिनिधिसभामा उम्मेदवार बन्ने निधो गरे ।
अढाई दशकदेखिको नेता बडूको निर्वाचन यात्रामा आएको परिवर्तनलाई केहीले दार्चुलाको राजनीतिमा नयाँ अध्याय सुरु भएको बताएका छन् । उमेरको हिसाबले मात्रै नभएर पार्टीभित्रकै पहुँच र प्रभावका हिसाबले नेता बडू पछिल्लो समय कमजोर बनेको केहीको विश्लेषण छ । गिरिजावावु र सुशीलदा छउन्जेल प्रभावशाली बनेका बडू पछिल्लो समय पार्टीभित्रको भूमिकामा ओझेल परेका छन् । नेपाली काग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य बने पनि संसदीय समितिमा पर्न नसक्नुले पनि यसको पुष्टि गर्दछ । जबकी राजनीतिक जीवनमा बडूभन्दा निकै पछाडि (जुनियर) रहेका एनपी साउद र रमेश लेखकको भूमिका र प्रभाव काग्रेसभित्र बढिरहेको सर्वत्र चर्चा छ ।
व्यक्तिगत फाइदा तर पार्टीलाई घाटा
काग्रेस नेता दिलेन्द्रप्रसाद बडूको समानुपातिक यात्राले उहाँलाई प्रतिनिधिसभा सदस्य बनाउने निश्चित छ । समानुपातिक प्रणालीबाट सांसद बन्न लागेका बडूलाई व्यक्तिगत रुपमा यो निर्णयले फाइदा भएको छ । लगातार दुइटा निर्वाचनमा भोगेको पराजय र पार्टीभित्रको कमजोर प्रभावका कारण नेता बडूलाई समानुपातिकको यात्रा गर्न बाध्य गराएको थियो । प्रत्यक्षमा चुनावका लडेका भए अहिलेको भन्दा केही कडा टक्कर हुने धेरैको बुझाइ छ । तर प्रत्यक्ष निर्वाचनमा होमिदा जितिहाल्ने सुनिश्चितता नभएकाले बडूले सुरक्षित बाटो रोजेको केहीको भनाई छ । समानुपातिक यात्राको कदमले नेता बडूले चुनाव रिस्क मोल्न नखोजको स्पष्ट देखिन्छ ।
समानुपातिक यात्राबाट नेता बडू सांसद बने पनि जिल्लाको पार्टीलाई भने फाइदा भएको छैन । किनभने प्रत्यक्षमा बडूको उम्मेदवारी हुँदा प्रतिनिधिसभामै जित्ने सम्भावना देख्नेहरुको कमी छैन । अर्कोतर्फ बडूको प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी हुदा त्यसको सकारात्मक प्रभाव प्रदेशसभामा पर्ने आकलन पनि थियो । खासगरी प्रदेशसभाको १ नम्बर क्षेत्रमा सकारात्मक प्रभाव पर्नसक्ने र मदन गिरीको विजय हुने आकलन गर्नेको कमी छैन । नेता बडू उम्मेदवार बन्दा खटिएर मिहनेत गर्नेको संख्या पनि बढ्थ्यो । उत्साहका साथ निर्वाचनमा खटिने कार्यकर्ता बडूको उम्मेदवारी प्रत्यक्षतर्फ नहुदा खासै उत्साहित देखिएनन् । यद्यपि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २२ हजारभन्दा बढी मत काग्रेसले पाउनुमा काग्रेसका सैद्धान्तिक मत एकत्रित भएको पुष्टि गर्दछ । प्रदेशसभातर्फ भने केही अस्थिर भोट काग्रेसले संरक्षण गर्न सकेको देखिएन ।
प्राविधिक जीत तर राजनीतिक हार
काग्रेस नेता बडू समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनिरहदा उहाँलाई सफल मान्ने पनि छन् । यद्यपि यो प्राविधिक जीत मात्र भएको र काग्रेसले देशभरका साथै दार्चुला पनि राजनीतिक हार व्यहोरेको एमाले र माओवादी पक्षधरको बुझाइ छ । बडूले सम्बोधन गरेको खलंगाको प्रथम चुनावीसभामा आफ्नो उम्मेदवारी डराएर परिवर्तन नभएको बताएका थिए । आफुले कम्युनिष्ट गठबन्धनलाई परास्त गर्न नयाँ मिसाइल बनाएको काग्रेस नेता बडूको घोषणा नै थियो । तर चुनावी परिणामले उनको मिसाइलले वामगठबन्धनलाई क्षति पुर्याउन सकेन । यद्यपि आफ्ना भोट भने एकत्रित गर्न सफल देखिए । प्रदेशसभाको २ नम्बर क्षेत्रमा काग्रेस उम्मेदवारले राम्रो मत ल्याए पनि तुलनात्मक रुपमा बलियो ठानिएको प्रदेशसभाको १ नम्बर क्षेत्रमा काग्रेसको मत कमजोर देखियो । गठबन्धनको जबर्जस्त चुनावी प्रचारलाई जवाफदिन असमर्थ बन्यो नेपाली काग्रेस १ नम्बर क्षेत्रमा ।
प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा नउत्रिनु, प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले प्राप्त गरेको मत र समानुपातिकतर्फ पाएको मतसंख्याले पनि पछिल्लो समय काग्रेस र काग्रेस नेता बडू रक्षात्मक बनेका हुन् कि भन्ने सन्देश दिएको छ । समानुपातिकतर्फ २०७० सालको निर्वाचनमा करिब २ हजार मत एमालेको भन्दा काग्रेसको बढी थियो । जबकी यसपटकको समानुपातिकतर्फ काग्रेस एमालेको मतान्तर ८ सय ६६ मतमा सीमित देखिएको छ ।
अबको यात्रा चुनौतीपूर्ण
संसदमा प्रतिपक्षको भूमिका पाउन लागेको नेपाली काग्रेसको पार्टी जीवनमा गम्भीर अवस्था आएको छ । रुख नै नढलेको तर पुराना पातहरु झरेको वा आर्यघाट नपुगेको तर अस्पतालको वेडमा पुगेको अवस्था भनेर काग्रेसका युवा नेताहरुले काग्रेसको चुनावी परिणामबारे प्रतिक्रिया दिएका छन् । पार्टी केन्द्रको जीवनसंगै दार्चुला काग्रेसको जीवनमा पनि चुनौती देखिन्छ । प्रदेश र संघीय सरकार वामगठबन्धनको बन्ने र त्यसको प्रभाव जिल्लास्तरमा पर्ने भएकाले चुनावी नतिजापछि वामपन्थीहरु हौसिएका छन् भने काग्रेसजनमा आन्तरिक निरासा देखिन्छ । यद्यपि दार्चुलाका ५ वटा स्थानीय तहहरुको नेतृत्व गरिरहेकाले काग्रेसको जनसम्पर्क, प्रभावकारी भूमिका र सक्रियता बढ्ने सम्भावना पनि उत्तिकै छ ।
स्थानीय सरकार भनिए पनि प्रदेश सरकार र संघीय सरकारबाट नियन्त्रित शासन प्रणाली हुने निश्चितप्राय छ । यसकारण दार्चुलाको परिवेशमा काग्रेसका लागि अबका दिन चुनौतीपूर्ण देखिन्छन् । वामगठबन्धनको सरकारमा दार्चुलाबाट प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाको मन्त्री हुने सम्भावना वामपन्थीहरुले देखिरहेका छन् । वामपन्थीहरु आशावादी पनि देखिन्छन् । त्यसैगरी, प्रदेश सरकारमा माओवादी केन्द्रबाट प्रदेशसभामा विजयी मानवहादुर धामी सन्तोषको सहभागिता हुने धेरैले आकलन गरेका छन् । केन्द्र र प्रदेश सरकारमा दार्चुलाको प्रतिनिधित्व हुँदा स्थानीय सरकारको संरचना र जिल्लाको संरचना एवं वस्तुस्थिति प्रभावित हुने सम्भावना छ । यो पाटोलाई काग्रेसजनले राम्ररी बुझेका पनि छन् ।
चुनौतिपूर्ण राजनीतिक परिवेशमा काग्रेस नेता बडूको अबको यात्रा कस्तो होला ? काग्रेस प्रतिपक्षमा बसे पनि संसदीय राजनीतिमा अनुभवी भएकाले बडूको भूमिकाले दार्चुलाको राजनीतिक परिदृश्यलाई केही न केही असर पुर्याउछ नै । दार्चुला काग्रेसभित्रको आन्तरिक व्यवस्थापन, क्रियासिलता र एकता कसरी अगाडि बढ्छ यस्ले पनि अबका यात्रालाई निर्धारण गर्नेछ । ६४ वर्ष उमेर पुगेका नेता बडूको काठमाण्डौ केन्द्रीत बसाइ र भावी दिनमा प्रत्यक्ष चुनाव नलड्ने आकलनका कारण दार्चुलामा काग्रेसको क्रियासिलता र भूमिकालाई असर पुर्याउने पक्का छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !