काग्रेस नेतृत्वका स्थानीय तहमा बढी योजना

0
2396

दार्चुला, माघ १८ गते ।
दार्चुलामा चालु आर्थिक वर्षको प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेट वाडफाँड गरिएको छ । जिल्लामा नेपाली काग्रेसले नेतृत्व गरेका स्थानीय तहहरुमा बढी योजना र बजेट छुट्याइएको छ ।
प्रदेशसभा क निर्वाचन क्षेत्रअन्तर्गत पर्ने ५ वटा स्थानीय तहमध्ये ४ मा काग्रेसको नेतृत्व छ । काग्रेसको पूर्ण बहुमत भएका महाकाली नगरपालिका र दुहुँ गाँउपालिकामा ६÷६ वटा योजना छनौट गरिएका छन् । काग्रेसको नेतृत्व भए पनि नेकपाको बहुमत रहेको मालिकार्जुन गाँउपालिकामा ३ र काग्रेसको बहुमत रहेको व्यास गाँउपालिकामा ३ योजना छनौट गरिएका छन् । काग्रेसको बहुमत भए पनि नेकपाको नेतृत्व रहेको लेकम गाँउपालिकामा २ योजना छनौटमा परेका छन् ।
आफु अनुकुलको नेतृत्व नभएको स्थानीय तहका नेता, कार्यकताहरुको मागलाई सम्बोधन गर्ने प्रयास गरिएको योजना बाँडफाँडबाट देखिन्छ । “स्थानीय तहमा आफ्नो पार्टीको नेतृत्व नभएकोले नेता, कार्यकर्तालाई उत्साही बनाउन पनि बढी योजना काग्रेस नेतृत्वका स्थानीय तहमा छनौट गरिएका छन्” नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले भन्नुभयो । स्थानीयस्तरका नेता कार्यकर्ताको माग र दबावमा राजनीतिक प्रतिस्पर्धाकै आधारमा योजना र बजेट बाँडफाँड गर्ने संस्कार विगतदेखि रहेको उहाँको भनाई छ ।
प्रदेशसभा क निर्वाचन क्षेत्रअन्तर्गत २० योजनामा १ करोड ९८ लाख रुपैयाँ छुट्याइएको छ । दुहुँ र मालिकार्जुन गाँउपालिकामा ५१÷५१ लाख, महाकाली नगरपालिकामा ५० लाख, व्यास गाँउपालिकामा २४ लाख र लेकम गाँउपालिकामा २२ लाख बजेट छुट्याइएको छ ।
योजना र बजेट छुट्याउने समितिका संयोजक समेत रहनुभएका प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले भने भूगोल, जनसंख्या र स्थानीय आवश्यकताका आधारमा योजना र बजेटको टुंगो लगाएको बताउनुभयो । “नेता, कार्यकर्ताहरुबाट माग हुनु स्वाभाविकै हो, तर योजना छनौट गर्दा धेरै पक्षको विश्लेषण गरिएको छ” प्रदेशसभा क निर्वाचित क्षेत्रबाट निर्वाचित सदस्य बोहराले भन्नुभयो ।
प्रदेशसभाको ख निर्वाचन क्षेत्रमा पनि काग्रेस नेतृत्वका स्थानीय तहमा बढी योजना राखिएका छन् । शैल्यशिखर नगरपालिकाका ७ योजनामा ५८ लाख बजेट छुट्याइएको छ । शैल्यशिखर नगरपालिकामा काग्रेसको नेतृत्व र बहुमत छ । नेकपाको नेतृत्व रहेको मार्मा गाँउपालिकाका ५ योजनामा ५० लाख बजेट छ । नेकपा नेतृत्वकै नौगाड गाँउपालिकाका २ योजनामा ५१ लाख र अपिहिमाल गाँउपालिकाका २ योजनामा २३ लाख बजेट छुट्याइएको छ । प्रदेशसभाका निर्वाचन क्षेत्रस्तरमा कार्यान्वयन गरिने दुइटा छुट्टै योजनामा १६ लाख बजेट छ ।
योजना छनौट गर्दा भौगोलिक अवस्थिति र लाभान्वित जनसंख्यालाई आधार मानिएको प्रदेशसभा ख बाट निर्वाचित सदस्य मानवहादुर धामीको प्रतिक्रिया छ । “शैल्यशिखर नगरपालिकामा काग्रेसको नेतृत्व र बहुमत भएकाले नेकपाका नेता, कार्यकर्ता र समर्थकको माग सम्बोधन कम भएको छ” उहाँले भन्नुभयो, “काग्रेस नेतृत्वका स्थानीय तहमा जनस्तरबाट हामीलाई केही बढी दबाव र माग छ ।”