कालापानी पुग्ने गोरेटो बाटो तयार

2376

दार्चुला, मंसिर ८ गते ।
भारतद्वारा अतिक्रमित भूमि कालापानी पुग्ने गोरेटो बाटो मर्मत गरिएको छ । व्यास गाँउपालिकाले पञ्चायतकालमा निर्माण गरिएको बाटो मर्मत गरी सञ्चालनमा ल्याउन तयार गरेको हो ।
चालु आर्थिक वर्षको बजेटबाट ६ लाख रुपैयाँ बजेट कालापानी जोड्ने बाटो निर्माणका लागि विनियोजन गरिएको व्यास गाँउपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । उपभोक्ता समितिमार्फत व्यासको छाङरुदेखि कालापानीसम्मको १३ किलोमिटर बाटो मर्मत गरिएको व्यास गाँउपालिका इन्जिनियर गोपिचन्द बुढाथोकीले बताउनुभयो ।
उपभोक्ता समितिले दर्जनभन्दा बढी स्थानमा गोरेटो बाटो मर्मत सम्पन्न गरेको प्राविधिक सहायक योगेन्द्रसिह ऐतवालले जानकारी दिनुभयो । व्यास गाँउपालिकाको प्राविधिक टोली शनिवार छाङरुदेखि कालापानीसम्मको गोरेटो बाटोको स्थलगत निरीक्षण गरेको छ । इन्जिनियर बुढाथोकी नेतृत्वको टोलीमा सव इन्जिनियर धिरेन्द्र विष्ट र प्राविधिक सहायक ऐतवाल सहभागी छन् ।
उपभोक्ता समितिका कोषाध्यक्ष नारायणी ऐतवाल पनि प्राविधिक टोलीसंगै कालापानीसम्म पुगेका छन् । चालु वर्षको बजेटबाट कालापानीसम्मको बाटो मर्मत गरिएको र मान्छेले हिडडुल गर्न सकिने अवस्था रहेको प्राविधिक सहायक योगेन्द्रसिह ऐतवालले बताउनुभयो ।
मल्लो कौवाभन्दा माथिल्लो क्षेत्रमा हिमपहिरो रहेको र करिब २ सय मिटर क्षेत्रमा अझै बाटो सुधार गर्नुपर्ने अवस्था रहेको इन्जिनियर गोपिचन्द बुढाथोकीले बताउनुभयो । उपभोक्ता समितिलाई यस क्षेत्रमा गोरेटो बाटो मर्मत सुधार गर्न लगाइने उहाँले जानकारी दिनुभयो ।
व्यास गाँउपालिकाले उच्च प्राथमिकता दिएर कालापानी जोड्ने गोरेटो बाटो मर्मतमा बजेट विनियोजन गरेको गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो । व्यास गाँउपालिका वडा नम्बर १ छाङरुका स्थानीय मनवीरसिह ऐतवालको अध्यक्षमा गोरेटो बाटो मर्मतका लागि उपभोक्ता समिति गठन गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !