कुमाउ मण्डलमा एक्काइस सय उम्मेदवार

0
2182

दार्चुला, मंसिर २ गते ।
भारतको उत्तराखण्ड राज्यमा भएको स्थानीय निकायको निर्वाचनअन्तर्गत कुमाउ मण्डलमा २ हजार १ सय २९ जना उम्मेदवार रहेका छन् । आइतवार भएको मतदानपछि सबै उम्मेदवारहरुको भाग्य मतपेटिकामा बन्द भएको छ ।
आधा दर्जन जिल्ला रहेको कुमाउ मण्डलमा नगरपालिका र नगर पञ्चायत अध्यक्ष पदका लागि २ सय २५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कुमाउमा पर्ने तीनवटा नगर निगमका अध्यक्ष पदमा २० प्रत्याशी रहेका छन् । नगर निगम, नगरपालिका र नगरपालिका पार्षदका लागि १ हजार ८ सय ८४ उम्मेदवार छन् ।
हल्द्वानी नगर निगममा ९ जना, रुद्रपुरमा ८ जना र काशीपुर नगर निगममा ३ जना उम्मेदवार मेयर पदका उम्मेदवार रहेको उत्तराखण्ड राज्य निर्वाचन आयोगले जनाएको छ ।
आइतवार मतदान सम्पन्न भए पनि मंगलवार मात्रै मतगणना हुने कार्यतालिका रहेको छ ।
पिथौरागढका पाँच निकायमा १ सय ७८ उम्मेदवार
स्थानीय निकायको निर्वाचनअन्तर्गत पिथौरागढ जिल्लाका ५ निकायमा १ सय ७८ जनाको उम्मेदवारी परेको छ । पिथौरागढ, डीडीहाट र धारचुला नगरपालिका तथा गंगोलीहाट र बेरिनाग नगर पञ्चायत गरी ५ स्थानीय निकायमा आइतवार मतदान भएको हो ।
पाँचवटै स्थानीय निकायको अध्यक्ष पदका लागि २७ जना उम्मेदवार छन् । यसैगरी १ सय ५१ जना पार्षदका उम्मेदवार छन् ।
पिथौरागढ नगरपालिकामा आइतवार सम्पन्न मतदानअन्तर्गत ४१ वटा मतदान केन्द्र राखिएका छन् । धारचुलासहितका बाकी चार स्थानीय निकायमा भने ७–७ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् ।