केन्द्र रहेको विद्यालयका प्रअलाई केन्द्राध्यक्षको जिम्मेवारी

0
2309

दार्चुला, चैत्र ६ गते ।
एसइइ परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । जिल्ला परीक्षा समन्वय समितिको आइतवारको बैठकले दार्चुलाका १७ वटै केन्द्रमा केन्द्राध्यक्ष चयन गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन थप योगदान हुने भएकाले सम्बन्धित विद्यालयका प्रअलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको इकाई प्रमुख जयराज पन्तले बताउनुभयो । परीक्षा केन्द्रको कक्षाकोठा, फर्निचर लगायत भौतिक व्यवस्थापनका साथै शान्त र मर्यादित वातावरणमा परीक्षा सञ्चालन गर्न सम्बन्धित विद्यालयका प्रअबाट बढी सहयोग प्राप्त गर्न सकिने समीक्षा गरिएको छ ।
विगतमा पनि सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको शिक्षा विकास तथा समन्वय इकाईका प्रास दिपक कुवरले बताउनुभयो । चैत्र १० देखि सञ्चालन गरिने एसइइ परीक्षाका लागि दार्चुलामा १७ परीक्षा केन्द्र निर्धारण गरिएका छन् ।
लटिनाथ मावि खार र तपोवन मावि पडपडाबाहेकका सबै केन्द्रमा प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष बनाइएको छ । मावि खारमा निम्न माध्यमिक तहको दरबन्दी कार्यरत व्यक्ति प्रधानाध्यापक भएकाले निवर्तमान स्रोतव्यक्ति एवं मावि शिक्षक रामसिह बोहरालाई केन्द्राध्यक्ष बनाइएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।
तपोवन मावि पडपडामा पनि माध्यमिक तहको स्थायी शिक्षक उपलब्ध नहुँदा तत्कालिन स्रोतव्यक्ति एवं मावि बलाँचका शिक्षक राजेन्द्रवहादुर सिंह केन्द्राध्यक्ष तोकिएका छन् । लटिनाथ मावि चन्दनपुर चौपाता र मालिकार्जुन मावि धापमा प्रधानाध्यापकहरुको व्यवस्ताले सम्बन्धित विद्यालयकै अर्का मावि शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । मावि चौपातामा शिक्षक महेशदत्त जोशी र मावि धापमा मेखराज जोशी केन्द्राध्यक्ष बनेका छन् ।
ग्रेडवृद्धिका परीक्षार्थीको केन्द्र निर्धारण गरिएको महेन्द्र मावि खलंगा ख केन्द्रमा मावि खलंगाका शिक्षक दामोदर जोशी केन्द्राध्यक्ष छन् । बाँकी केन्द्रहरुमा भने सम्बन्धित विद्यालयका प्रधानाध्यापकले केन्द्राध्यक्षको जिम्मेवारी पाएका छन् ।
मावि खलंगामा रामदत्त जोशी, मावि गोकुलेश्वरमा धनन्जय जोशी, मावि पस्तीमा धनन्जय पन्त, मावि रस्कोटमा भगिरथसिह विष्ट र मावि हुतीमा ऐनवहादुर चन्दले केन्द्राध्यक्षको जिम्मेवारी पाएका छन् । यसैगरी, मावि दत्तुमा राजेशसिह सामन्त, मावि लालीमा कृष्णदत्त जोशी, मावि सिप्टीमा राजेन्द्रसिह महरा, मावि बारबाजमा गीता कुवर, मावि मड प्रेमनगरमा भुवनवहादुर डाँगा, मावि उकुमा प्रेमसिह महरा र मावि बलाँचमा जनकवहादुर तितरा केन्द्राध्यक्ष रहेका छन् ।
परीक्षालाई मर्यादित रुपमा सञ्चालन गर्न होमसेन्टर यसवर्ष पनि नराखिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो । परीक्षार्थीले आफुले अध्ययन गरेको विद्यालयको केन्द्रमा परीक्षा दिन नपाउने व्यवस्था विगतदेखि गरिदैआएको छ ।