कोरोनाः रोजगारीका लागी भारत पुगेकाहरुको घर पुग्ने चाहना पूरा भएन

0
1032

पदम बडाल

चैत्र १८, दार्चुला

मंगलवार दिउँसो एक बजेतिर एक युवकले महाकाली नदी किनारमा लुगा फुकाले, लुगाहरु झोलामा राखे र झोला टाउकोमा बाँधे, झोला टाउकोमा बाँधेपछि उनी सोझै महाकालीमा हेलिए र वारी किनार पुगे । जब उनले नेपाल टेके अब के हुने हो ? भन्ने डर लाग्यो किनकी उनको कामलाई नेपालतिर बसेको नेपाल प्रहरीले नियाली रहेको थियो र वारी आउने बितिकै नियन्त्रणमा लियो । महाकालीको चिसो पानीसँग मनमा पसेको चिसोले सुरुमा प्रहरीसित उनी केही बोल्न सकेनन् । प्रहरीले बिस्तारै कुरा गर्न थालेपछि उनले आफ्नो व्यथा सुनाए ।
भर्खर २१ वर्ष पुगेका बैतडी जिल्ला डिलासैनी गाउँपालिका वडा नम्बर २ सिमारका लोकेन्द्र बोहरा घरमा कमाउने मान्छे कोही नभएपछि गाउँका युवाहरुसित भारत हानिए दुई महिना अगाडि । पिथौरागढ जिल्लाको पञ्चाचुली क्षेत्रमा सडक निर्माण गर्ने काम गर्न थाले तर चैत्र नलाग्दै कोरोनाको हल्ला फिजियो । आफू बस्ने क्षेत्रमा पनि बाहिरबाट मान्छे आएको र उनलाई कोरोनाको जस्तै लक्षण देखिएको कुरा पनि चल्यो । सबै कामदारहरुले ठेकेदारसँग कुरा गरे र ठेकेदारले नेपाल जाँदा ठिक हुने सल्लाह दिएपछि ११ जनाको समूहमा धारचुलाका लागि हिडे । दुई दिनसम्म लगातार हिडेर धारचुला पुगेका बोहराले हिजो अन्य नेपाली राखिएको ठाउँमा पुगेपछि मात्रै खाना खाए ।
तर त्यहा (धारचुलाको कान्जी हाउसमा) अन्य नेपालीहरुले ठाउँ ओगटेकाले शौचालयको छतमा रात काटे र दिउँसो महाकाली तरेर नेपाल आए । ‘जे होला होला भनेर महाकाली तरेका हुँ । अब नेपाल सरकारले जे गर्छ त्यही टर्छ ।’ उनी भन्छन् ।
महाकाली नगरपालिका वडा नम्बर ७ को सिमानामा भारतबाट महाकाली तरेर आउने बैतडी जिल्ला डिलासैनी गाउँपालिका वडा नम्बर ७ धामीगाउँ बस्ने २१ वर्षे अमरसिह धामीको पनि व्यथा उस्तै छ । आफूले काम गर्ने क्षेत्र भारतको थलबाट १३ जनाको टोलीसँगै आइतवार बिहान हिडेर सोमवार बेलुका मात्रै सिमावर्ती क्षेत्र बालुवाकोट पुगेका धामी मंगलवार दिउँसो महाकाली तरेर नेपाल छिरे । कक्षा १० सम्म पढेका उनी मंसिर १७ गते गाउँका अन्य युवासँगै सो क्षेत्रमा सडक निर्माण गर्ने काममा लागे । तर कोरोनाको त्राससँगै उनी अन्य साथीहरुसँगै केही नखाई नेपाल छिरे । ‘अहिले असमान्य अवस्था भएको थाहा पाए पनि बालुवाकोटमा खाना बस्नको व्यवस्था नभएपछि जे पर्ला पर्ला, घर कसो नपुगिएला भनेर महाकाली तरेर आएको हुँ ।’ उनी भन्छन् । उनीसँगै बैतडीको डिलाशैनी गाउँपालिकाका ३ र पुर्चौडी नगरपालिकाका ३ गरी ६ जना महाकाली तरेर नेपाल छिरेका छन् ।
देशमा लक डाउन जारी रहेको बेला नेपाल भारत जोड्ने सबै पुल बन्द हुँदा उनीहरु महाकाली मै पौडेर नेपाल आउन बाध्य भएका हुन् । भारतीय क्षेत्रमा खाना र बस्नको व्यवस्था गरेको भएपनि भिड र फोहर भएकाले संक्रमण सर्ने डरले कसैसित नछोइ आफू नेपाल आएको अमरसिह धामीसँगै महाकाली तरेर नेपाल आएका पुर्चौडी नगरपालिका वडा नम्बर ८ का २५ वर्षिय दिपक साउँद बताउँछन् । ‘उता बस्यो भने कोरोना सर्ला भन्ने डर छ, आइतवारदेखि अहिलेसम्म केही खाएका छैनौं, भारतमा कसैलाई छोएका पनि छैनौं ।’ साउँदले भने ।

श्रीमती र बच्चाबच्चि भएका नेपाली दाजुभाइ नदी किनारसम्म पुग्नै नसकेको साउँद बताउँछन् । ‘भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु बाटो भरी भेटे, कोही केटाकेटी बोकेका छन्, कोही गुन्टाहरु ।’ उनले भने ।
बाटोमा भेटिएकाहरुलाई भारतीय प्रहरीले रुखो सोधपुछ गर्ने गरेको र बाटोमा पर्ने पसलवालाहरुले हामीलाई देख्ने बित्तिकै अपराधी आएजस्तो गरी पसलको ढोका थुन्ने गरेकाले भोकै महाकाली किनारसम्म पुगेर नदी तरेको उनी बताउँछन् । ‘बच्चाबच्चि रुदैछन् बाटोमा, खाना र सुत्ने ठाउँ नै छैन ।’ उनले भने ।

प्रजिअ भिडियो कन्फ्रेन्समाः डिएम नेपालीहरुलाई खाना खुवाउँदै

फाइल फोटोः धारचुलामा अलपत्र नेपालीहरुलाई खाना खुवाउदै भारतको पिथौरागड जिल्लाका मूख्य जिल्ला अधिकारी डा. विजय कुमार जोगदण्डे

जिल्लामा उत्पन्न परिस्थितिको समाधानका लागि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्समा रहँदा सिमावर्ती पिथौरागड जिल्लाका मूख्य जिल्ला अधिकारी डा. विजय कुमार जोगदण्डेले नेपालीहरुलाई खाना खुवाउन सीमा क्षेत्रमा पुगे ।
डा. जोगदण्डेले मिनि स्टेडियममा राखिएको नेपालीहरुलाई खान बाडेको र अन्य ठाउँमा रहेका नेपालीहरुसित छलफल गरेको धारचुलाका स्थानीय पत्रकार राशेक तिवारीले जानकारी दिएका छन् । संकटको बेला भारत सरकार नेपालीहरुका साथमा रहेकोले धैर्य गरेर बस्न नेपालीहरुलाई मूख्य जिल्ला अधिकारीले आग्रह गरेको उनी बताउँछन् ।
निक्कै बढी संख्यामा नेपालीहरु सीमा क्षेत्रमा आएकाले सुत्न र खानको उचित प्रबन्ध गर्न भारतीय प्रशासनलाई समस्या भएको अधिकारीहरुले बताएका छन् । नेपाली अधिकारीहरुलाई पटक पटक सिमा क्षेत्रमा रहेका नेपालीहरुलाई नेपाल लैजान आग्रह गरको भएपनि नेपाली अधिकारीहरुले पुल नखोलेपछि भारतीय प्रशासनले नेपालीहरुको बस्न र खानाको व्यवस्था गरेको धारचुलाका उपजिल्ला अधिकारी अनिल कुमार सुक्लले बताएका छन् ।
नेपाल सरकारले पुल नखुल्ने अवस्था सिर्जना भएपछि भारतीय राजनीतिक दलका नेता तथा प्रशासन अधिकारीहरुलाई आग्रह गरेर भारत मै बस्ने व्यवस्था मिलाइएको प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले बताएका छन् ।
स्थानीय सरकारहरु जिम्मेवार बन्न नसक्दा परिस्थिति असहज भएको र जो जहाँ छ त्यही बस्दा उपयुक्त हुने हुँदा नेपालीहरुलाई ल्याउन पुल नखोलिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन् ।

९ सय ७७ भारतको र ३४ नेपाको क्वारेन्टाइनमा

मिनि स्टेडियम धारचुलामा क्वारेन्टाइनमा राखिएका नेपालीहरु

भारतको विभिन्न ठाउँमा महाकाली नदी किनारमा जम्मा भएका ९ सय ६६ जना भारतको विभिन्न ५ ठाउँमा राखिएका छन् भने महाकाली तरेर आउने ३४ जना नेपालीहरु व्याँस गाउँपालिका र महाकाली नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।
सीमावर्ती क्षेत्र महाकाली नदी किनारमा रहेको काञ्जी हाउमा ३ सय ८०, धारचुलाको मिनि स्टेडियममा ३ सय ५, जौलजिविमा २ सय, बालुवाकोटको महाविद्यायमा ६० र फायर ब्रिगेडको गोठीको भवनमा ३२ जना नेपालीलाई राखिएको भारतीय पत्रकार राकेश तिवारीले जानकारी दिएका छन् ।
भारतको विभिन्न ठाउँबाट मजदुरी गर्ने नेपालीहरु आउने क्रम जारी रहेको र उनीहरुलाई पनि सुरक्षित राखिने व्यवस्था गर्न भारत सरकारका अधिकारीहरुले तयारी गरिरहेको उनी बताउँछन् ।
महाकाली तरेर नेपाल आउने २० जनालाई व्याँस गाउँपालिकाको हुति र १४ जनालाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिनुभएको छ ।
महाकाली नदी तरेर आउनेहरु मौका हरेर पारीतिर बसिरहेकाले महाकाली तरेर आउनेहरुको संख्या बढ्न सक्ने भएकाले सीमा क्षेत्रमा भएका स्थानीय सरकारहरुलाई थप क्वारेन्टाइनको व्यवस्था गर्न आग्रह गरिएको उनी बताउँछन् ।

अधिकारविहीन प्रदेश सरकार
भारतमा रहेका नेपालीहरुलाई कसले व्यवस्थापन गर्ने भन्ने वारेमा कोही पनि जिम्मेवार नहुँदा नेपालीहरु भारतमै बस्न बाध्य भएको देखिन्छ ।
सदरमुकाम भएको महाकाली नगरपालिकाले भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा बसाल्न नसक्ने र सम्बन्धित स्थानीय सरकारहरुले जिम्मेवारी लिने अवस्था नदेखिएकाले महाकाली तरेर पनि नेपाल आउनु पर्ने बाध्यता सिर्जना भएको देखिन्छ ।
‘स्थानीय सरकारहरु प्रमुख जिल्ला अधिकारीभन्दा माथि छन्, प्रदेश सरकारलाई स्थानीय सरकारको जति मात्रै अधिकार छ, समन्वय गर्ने जिल्ला समन्वय समितिसँग आर्थिक व्यवस्थापन गर्ने अधिकार छैन ।’ पछिल्लो परिस्थितिको जिम्मेवारी नै यतिक नभएको तथ्य प्रस्तुत गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने ।
मूख्यमन्त्रीसँग महाकाली पारी रहेको सबै नेपालीहरुको सम्बन्धित जिल्ला र स्थानीय सरकारसँग समन्वय गरेर नेपाल ल्याउने कुरा गर्दा प्रदेश सरकारको समेत अक्षमता देखिएको प्रजिअ पौडेलले भने । ‘मूख्य मन्त्री सकारात्मक छन् तर समन्वय कसले गर्ने भन्ने कुरा अन्यौल छ ।’ उनले भने । महाकाली पारीबाट आउने सबै नेपालीलाई सुरक्षित क्वारेन्टाइन नबन्ने हो भने भारतमै सुरक्षित बस्नुको बिकल्प नरहेको उनी बताउँछन् ।
महाकाली तरेर नेपाल आउन नदिन भारतीय प्रशासनसँग समन्वय गरे अगाडि बढ्ने प्रजिअ पौडेल बताउँछन् ।