“क” मा २० र “ख” मा १८ योजना

2434

दार्चुला, माघ १६ गते ।
दार्चुला जिल्लाको प्रदेशसभा क निर्वाचन क्षेत्रमा २० र ख निर्वाचन क्षेत्रमा १८ योजनाहरु छनौट गरिएका छन् । सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सदस्यको नेतृत्वमा रहेको छनौट समितिले योजनाको टुंगो लगाएको हो ।
प्रदेश पूर्वाधार विकास कार्यक्रम नियमावलीको व्यवस्थाअनुसार २ करोडको बजेटमध्ये समितिलाई योजना व्यवस्थापनका लागि १ प्रतिशत रकम उपलब्ध हुने गर्दछ । प्रदेशसभा सदस्य सम्मिलित समितिले प्रत्येक निर्वाचन क्षेत्रमा १ करोड ९८ लाख रुपैयाँको बजेट बाँडफाँड गरेको हो ।
प्रदेशसभाको क निर्वाचन क्षेत्रअन्तर्गत महाकाली नगरपालिका र दुहुँ गाँउपालिकामा सबैभन्दा बढी ६÷६ वटा योजना छनौट गरिएका छन् । महाकालीका योजनाहरुका लागि ५० लाख र दुहुँका योजनाहरुमा ५१ लाख बजेट छुट्याइएको छ ।
मालिकार्जुन गाँउपालिकाअन्तर्गत ३ योजनामा ५१ लाख, व्यास गाँउपालिकाका ३ योजनामा २४ लाख र लेकम गाँउपालिकाका २ योजनामा २२ लाख बजेट छुट्याइएको छ ।
प्रदेशसभा क निर्वाचन क्षेत्रको संयोजक प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा रहेका छन् भने सदस्यहरु निर्मला जोशी बडाल र नन्दा बम रहेका छन् । प्रदेशसभा ख निर्वाचन क्षेत्रमा भने प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य मानवहादुर धामी एक्लै समितिमा छन् । दुबै समितिको सदस्य सचिवमा सदस्य रहने व्यवस्था छ ।
प्रदेशसभा ख निर्वाचन क्षेत्रअन्तर्गत शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढी ७ योजनामा ५८ लाख बजेट छुट्याइएको छ । मार्मा गाँउपालिकाका ५ योजनामा ५० लाख, नौगाड गाँउपालिकामा २ योजनामा ५१ लाख र अपिहिमाल गाँउपालिकाअन्तर्गत २ योजनामा २३ लाख बजेट राखिएको छ । त्यस्तै, प्रदेशसभाका ख निर्वाचन क्षेत्रअन्तर्गतका स्थानीय तहहरुमा साझा ढंगले कार्यान्वयन गरिने दुइटा कार्यक्रममा १६ लाख बजेट राखिएको छ । दार्चुला महोत्सव र पर्यटन प्रवद्र्धन सांस्कृतिक महोत्सवका लागि यो बजेट छुट्याइएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !