खोतिला पहिरोमा विज्ञको टोली, भारतीय पक्षको लिखित प्रतिवेदन

0
2273

दार्चुला, भदौ १ गते ।
भारतको धारचुला नजिकैको खोतिला पहिरोको व्यवस्थापनबारे विज्ञ र प्राविधिकहरुको टोलीले शुक्रवार स्थलगत अध्ययन गरेको छ । भारतको दिल्ली, देहरादून र पिथौरागढबाट आएका विज्ञ र प्राविधिक टोली तथा नेपालको प्रशासनिक र प्राविधिक टोलीले ४ घण्टा लगाएर खोतिला पहिरोको स्थलगत अध्ययन गरेको हो ।
एक महिनाअघि सम्पन्न नेपाल भारत सीमा समन्वय बैठकमा खोतिला पहिरो व्यवस्थापनका लागि विज्ञ टोेलीबाट अध्ययन गराउने सहमति भएअनुसार शुक्रवार स्थलगत भ्रमण गरिएको हो । नेपाल र भारत दुबैतर्फबाट पहिरोको अवलोकन र अध्ययन गरिएको छ । खलंगाको बंगाबगरको पारी खोतिलामा दुई वर्षअघि सुख्खा पहिरो गएको थियो । पहिरोले महाकाली नदीको वहाव नै परिवर्तन गरेको छ भने नेपालतर्फ निर्माणाधिन तटबन्धको संरचनामा समेत क्षति पुर्याएको छ ।
भारतीय पक्षले आफ्नो भूमिका गएको पहिरोको व्यवस्थापन गर्नुपर्ने नेपाली पक्षको माग छ । महाकाली किनारमा गएको खोतिला पहिरोले नदी थुनिने खतरा समेत रहेको छ । निर्माण भइरहेको तटबन्धको संरचना पहिरोका कारण महाकालीको वहाव परिवर्तन भएर क्षतिग्रस्त बनाएको छ । उक्त स्थानमा महाकाली नदी नियन्त्रण आयोजनाले तटबन्धको नयाँ संरचना निर्माण गरिरहेको छ ।
भारतका तर्फबाट भूगर्भ विज्ञ, पानी विज्ञ, सिँचाइ विभागका प्राविधिकसहितको टोलीले पहिरोको अवलोकन अध्ययन गरेको हो । धारचुलाका एसडिएम राजकुमार पाण्डेयको संयोजनमा विज्ञको टोलीले भ्रमण गरेको हो । उत्तराखण्ड सरकार आपदा प्रबन्धन केन्द्रका निर्देशक डाक्टर पियुष रौतेला, उपसचिव राजेन्द्रसिह पतियाल, भूगर्भ विज्ञ राजु कुमार लगायतका अधिकारीले पहिरोको अध्ययन भ्रमण गरेका हुन् ।
नेपालका तर्फका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, महाकाली नदी नियन्त्रणका सिनियर डिभिजनल इन्जिनियर नारायणकाजी श्रेष्ठ, इन्जिनियर मुकेश पाठक, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी पहिरोको भ्रमणमा सहभागी रहनुभएको थियो ।
नेपाल र भारत दुबैतर्फको स्थलगत भ्रमणपछि धारचुलास्थित एसडिएम कार्यालयमा दुबै देशका प्रतिनिधिबीच पहिरो व्यवस्थापनको उपायबारे छलफल समेत गरिएको छ । छलफलमा पहिरो व्यवस्थापनका उपाय र सम्भावित चुनौतीबारे छलफल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।
खोतिला पहिरोको जोखिम उच्च रहेकाले तत्काल पहिरो व्यवस्थापन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । पहिरोको टुप्पोमा रोकथामको कार्य गर्नुपर्ने अधिकांश सहभागीको भनाई छ । महाकाली नदीमा पानीको सतह धेरै भएकाले नदी किनारको पहिरोको फेदमा तत्काल काम गर्न नसकिने भारतीय अधिकारीहरुको भनाई छ । पहिरोको मध्यभागमा रहेका जोखिमयुक्त ढुंगाहरु विस्फोटक पदार्थले फुटाएर जोखिम कम गर्नेबारे छलफल गरिएको छ ।
विज्ञ र दुई देशका अधिकारीहरुको टोलीले खोतिला गाँउ हुँदै पहिरोको सबै क्षेत्रमा अवलोकन गरेको छ । पहिरोको माथिल्लो क्षेत्रबाट साना ढुंगा र माटो खस्ने खतरा छ भने मध्यभागमा रहेका ढुंगाहरु खस्ने खतरा छ ।
भारतीय भूमिमा आएको खोतिला पहिरोले महाकाली नदीको वहाव नेपालतर्फ परिवर्तन गरेको महाकाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर मुकेश पाठकले बताउनुभयो । पहिरो जानुअघिको भन्दा डेढ सय मिटर नेपालतर्फ नदीको वहाव परिवर्तन भएको उहाँको भनाई छ ।
भारतीय पक्षको लिखित प्रतिवेदन
भारतीय विज्ञहरुको टोलीले शुक्रवार साँझ नेपाली पक्षलाई पहिरो व्यवस्थापनबारे आफ्नो लिखित प्रतिवेदन दिएको छ । विहानदेखि दिउसोसम्मको स्थलगत भ्रमण र छलफलपछि भारतीय टोलीले नेपाली पक्षलाई लिखित प्रतिवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।
शुक्रवार साँझ मात्रै प्रतिवेदन प्राप्त भएको र अध्ययन विश्लेषण गरी आवश्यक निर्णय लिइने उहाँको भनाई छ । शुक्रवार दिउसोको छलफलमा नेपाली पक्षलाई साँझसम्म आफुहरुले लिखित प्रतिवेदन दिने बताएका थिए ।
महाकाली नदी नियन्त्रण आयोजनाले पहिरो व्यवस्थापनबारे भारतीय पक्षबाट प्राप्त प्रतिवेदनको अध्ययन गर्नेछ । अध्ययनपछि उचित विकल्पसहित नेपाली पक्षले आफ्नो प्रतिक्रिया भारतीय पक्षलाई दिने सहायक प्रजिअ जोशीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here