गाँउपालिका अध्यक्षले कार्यपालिका बैठकमै वडाअध्यक्षमाथि हातपात गरेको आरोप

0
3342

दार्चुला, माघ १५ गते ।
व्यास गाँउपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले वडा नम्बर ४ का वडाअध्यक्ष संग्रामसिह विष्टमाथि हातपात गरेको भन्दै उजुरी परेको छ । माघ १४ गते कार्यपालिका बैठकमै गाँउपालिका अध्यक्ष बुढाथोकीले वडाअध्यक्ष विष्टलाई हातपात, गालीबेइज्जती र ज्यानमार्ने धम्की समेत दिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्चुलाले जनाएको छ ।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष विष्टलाई कार्यपालिका बैठकमै गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले आक्रमण गरेको नेकपाका दार्चुला अध्यक्ष गणेशसिह खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । आज जारी गरिएको विज्ञप्तिमा भौतिक आक्रमण, गालीवेइज्जती र ज्यानमार्ने धम्की समेत दिएको उल्लेख छ । गाँउपालिका अध्यक्ष बुढाथोकी नेपाली काग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
गाँउ कार्यपालिका बैठकमा सम्पूरक कोषको १ करोड बजेट बाँडफाँडबाट आफुले भनाई राख्दा गाँउपालिका अध्यक्ष बुढाथोकीले भौतिक आक्रमण गरेको वडाअध्यक्ष संग्रामसिह विष्टले बताउनुभयो । “विधिप्रक्रिया र मापदण्डअनुसार सम्पूरक कोषको बजेट बाँडफाँड गर्नुपर्छ होइन भने जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको आरोप खेप्नुपर्छ” भन्दा गाँउपालिका अध्यक्षले आफुमाथि आक्रमण गरेको वडाअध्यक्ष विष्टको आरोप छ ।
“वडाअध्यक्षले आफुलाई भ्रष्टाचारी भनेको ठान्दै गाँउपालिका अध्यक्ष आक्रोसित हुँदै आफुमाथि भौतिक आक्रमणमै उत्रिएको” वडाअध्यक्ष विष्टले बताउनुभयो । वडाअध्यक्ष विष्टले आफ्नो अनुहार र हातमा सामान्य चोट लागेको बताउनुभयो ।
मंगलवार नेकपा दार्चुलाका साथै नेकपा निकट विद्यार्थी संगठनहरुले समेत विज्ञप्तिमार्फत घटनाको विरोध गरेका छन् । गाँउपालिका अध्यक्ष बुढाथोकीले “पदीय मर्यादा र सार्वजनिक जीवनको आचरण विपरित सार्वजनिक अपराध गरेको” नेकपा दार्चुलाले आरोप लगाएको छ । “कानुन बमोजिम कडा कारवाही गर्न राज्यका नियामक निकायसंग” नेकपाले विज्ञप्तिमार्फत माग गरेको छ ।
वडाअध्यक्ष विष्टले मंगलवार दिउसो घाउजाँच फारम भराई गाँउपालिका अध्यक्षका विरुद्ध जिल्ला प्रहरी कार्यालय दार्चुलामा उजुरी दिएका छन् । सार्वजनिक मुद्दा दर्ताको प्रक्रियामा पीडित वडाअध्यक्ष र नेपाल कम्युनिष्ट पार्टी रहेको नेकपा दार्चुलाका प्रस्तावित अध्यक्ष गणेशसिह खत्रीले बताउनुभयो ।
घटनाबारे जानकारी लिन व्यास गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीसंग मोबाइल सम्पर्क गर्न हुन सकेको छैन । गाँउपालिका अध्यक्ष बुढाथोकी गाँउपालिका केन्द्रमा रहेका र बुधवार सदरमुकाम आइपुग्ने नेपाली काग्रेस दार्चुलाका सभापति ललितसिह बोहराले बताउनुभयो ।
गाँउपालिका अध्यक्ष सदरमुकाम आइपुगेपछि घटनाको वास्तविकता बाहिर आउने काग्रेस जिल्ला सभापति बोहराको भनाई छ । “मसंगको टेलिफोन सम्पर्कमा गाँउपालिका अध्यक्ष बुढाथोकीले वडाअध्यक्ष विष्टसंग बैठकमा सामान्य विवाद भएको बताएका छन्” नेपाली काग्रेस दार्चुलाका सभापति ललितसिह बोहराले भन्नुभयो, “बुधवार अध्यक्षजी दार्चुला आइपुगेपछि विस्तृत जानकारी आउनेछ ।”
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका उपलब्ध नेताहरुले गाँउपालिका अध्यक्षविरुद्ध सार्वजनिक मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालयसंग माग गरेका छन् । घाउजाँच फारम भरेर कारवाहीको मागसहित निवेदन प्रहरीमा दिइसकेको नेकपाका नेता ज्ञानेन्द्र घर्तिले बताउनुभयो ।
वडाअध्यक्ष विष्टका तर्फबाट प्रहरीमा निवेदन आएको र घटनाबारे गाँउपालिका अध्यक्षलगायतका पक्षसंग छलफलको प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । गाँउपालिका अध्यक्षले आफुसंग टेलिफोन सम्पर्क गरेको र बुधवार सदरमुकाम पुगेर घटनाबारे थप जानकारी दिने बताएको डिएसपी अधिकारीको भनाई छ ।