गुल्जरको दहमा २ मेगावाटको सम्भावना

1967

दार्चुला, पुष १९ गते ।
मार्मा गाउँपालिकाको वडा नम्बर १ गुल्जरको दहखोलामा २ मेगावट विद्युत उत्पादनको सम्भावना देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गतवर्ष दहखोला र नौगाडमा पूर्व सम्भाव्यता अध्ययन गराएको थियो ।
प्रदेश सरकारले गराएको पूर्व सम्भाव्यता अध्ययनबाट दहखोलामा २ मेगावाट र नौगाडमा करिब ७ मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको हो । अध्ययनमा संलग्न इन्जिनियर जयराज पन्तका अनुसार आफ्नो क्षेत्राधिकारभन्दा कम क्षमताको विद्युत उत्पादन हुने भएपछि प्रदेश सरकारले दहखोलालाई प्राथमिकतामा नराखेको हो ।
विद्युत विकास विभागले जारी गरेको कार्यविधिअनुसार ३ मेगावाटसम्मका जलविद्युत आयोजना स्थानीय तहको अधिकारक्षेत्रमा रहने व्यवस्था छ । प्रदेश सरकारसंग २० मेगावाटसम्मका जलविद्युत आयोजना निर्माणको जिम्मेवारी छ । नौगाडमा भने ६ दशमलव ९७ मेगावाट जलविद्युत उत्पादन हुने सम्भावना देखिएपछि प्रदेश सरकारले यो वर्ष विस्तृत सम्भाव्यता अध्ययन गराउन लागेको छ ।
प्रदेश सरकारले गतवर्ष पिडिएसपी इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत मार्मा गाउँपालिकाको दहखोलाको पूर्व सम्भाव्यता अध्ययन गराएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !