गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय राख्न प्रस्ताव

0
2614

दार्चुला, माघ २७ गते ।
दार्चुलाको दोस्रो ठूलो बजार शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयसंग यस्तो प्रस्ताव गरेको हो ।
गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भेक्षण गरिरहेको र यसक्रममा गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । ‘मन्त्रालयले सर्भेक्षणबारे सुझाव मागेको थियो, हामीले केही आवश्यक र महत्वपूर्ण सुझाव दिएका छौ’ उहाँले भन्नुभयो ।
गृह मन्त्रालयले माघ १ गते जिल्ला प्रशासन कार्यालयसंग सुझाव मागेको थियो । प्रशासन कार्यालयले माघ ५ गते प्रशासन कार्यालयका साथै प्रशासनअन्तर्गत रहेका कारागार कार्यालय र सीमा प्रशासन कार्यालयबारे समेत सुझाव पठाएको जनाएको छ ।
मन्त्रालयबाट माघ १६ गते इलाका प्रशासन कार्यालय स्थापनाबारे थप सुझाव र विवरण माग गरिएकोमा सबै विवरण पठाइएको प्रजिअ पौडेलले बताउनुभयो । ‘माघ २० गते इलाका प्रशासन कार्यालय स्थापनाका आधार र कारणहरुसहितको विवरण पठाइएको’ उहाँले बताउनुभयो ।
दार्चुलाको उत्तरी सीमाक्षेत्रमा सीमा प्रशासन कार्यालय भए पनि इलाका प्रशासन कार्यालय जिल्लामा नभएको र भौगोलिक अवस्थितिका कारण नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको छ । सबै भूगोल र क्षेत्रका लागि जिल्ला सदरमुकाम अपायक स्थानमा रहेको र सदरमुकामबाट सेवा लिन टाढा भएकोले गोकुलेश्वरमा इलाका प्रशासनको माग गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
जिल्लाका नौवटा स्थानीय तहमध्ये ५ तहको भूगोललाई पायकपर्ने गरी गोकुलेश्वरमा इलाका प्रशासन राख्न प्रस्ताव गरिएको छ । शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र अपीहिमाल गाउँपालिकाको सबैक्षेत्रका वासिन्दालाई गोकुलेश्वरबाटै सेवा दिने प्रस्ताव छ । लेकम गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ तथा नौगाड गाउँपालिकाको वडा नम्बर ६ धुलिगडाका वासिन्दालाई पनि गोकुलेश्वरकै इलाका प्रशासनबाट सेवा दिइने प्रस्तावमा छ ।
दार्चुलाको कुल जनसंख्यामध्ये ४५ प्रतिशतलाई इलाका प्रशासन कार्यालयबाटै नागरिकता, राहदानी सिफारिस, नागरिकताको प्रतिलिपि, नावालक परिचयपत्र जस्ता दिइनेछ । नाता प्रमाणित र थर प्रमाणित, ठाडो उजुरीमा छलफल र समन्वय गर्ने, बजार अनुगमन, सरकारी कार्यालयमा छड्के निरीक्षण र अनुगमन, विकास निर्माणका कार्यालय र आयोजनाको अनुगमन पनि प्रस्तावित इलाका प्रशासन कार्यालयबाट गरिने छ । सम्बन्धित स्थानीय तहसंग समन्वय र सहकार्य गर्न पनि इलाका प्रशासन कार्यालयलाई जिम्मेवारी दिइने प्रजिअ पौडेलले बताउनुभयो ।
भौगोलिक अवस्था र यातायातको सुविधाका कारण जिल्लाको दक्षिण र पूर्वी क्षेत्रका नागरिकका लागि गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय आवश्यक रहेको जिल्ला प्रशासन कार्यालयको भनाई छ । भौतिक पूर्वाधार, बैंकिङ सुविधा र हवाइमैदान समेत रहेको भन्दै गोकुलेश्वरमा इलाका प्रशासन राख्न प्रस्ताव गरिएको छ ।
जिल्लाबाट गरिएको प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्ने प्रजिअ पौडेलले बताउनुभयो । ‘जिल्लाको आवश्यकता र प्राथमिकता छ, इलाका प्रशासन कार्यालय स्वीकृत हुने सम्भावन छ’ उहाँले भन्नुभयो ।