गोकुलेश्वर केन्द्रमा सर्वाधिक परीक्षार्थी

0
2674

दार्चुला, चैत्र ६ गते ।
चैत्र १० गते सञ्चालन हुने एसइइ परीक्षामा सर्वाधिक परीक्षार्थी गोकुलेश्वर मावि गोकुले केन्द्रमा रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाको तथ्यांकअनुसार गोकुलेश्वर परीक्षा केन्द्रमा ७ विद्यालयबाट ३ सय १० विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
शैल्यशिखर नगरपालिका क्षेत्रका झरकडा, बोहरीगाउँ, बस्कोट, बलाँच, काडापारी र चौलानी इङलिस बोर्डिङ स्कुल गोकुलेका विद्यार्थीका गोकुलेश्वर केन्द्रमा परीक्षा दिनेछन् । यस वर्षदेखि पहिलो पटक चन्दनपुर चौपाताका विद्यार्थी पनि गोकुलेश्वर केन्द्रमा सहभागी हुनेछन् ।
मालिकार्जुन मावि धाप केन्द्रमा ५ विद्यालयका २ सय ८३ परीक्षार्थी छन् । धाप केन्द्रमा महाकाली नगरपालिका क्षेत्रका मावि खलंगा, दत्तु, निसिल, धौकोट र मावि खलंगामा सञ्चालित खुला विद्यालयबाट विद्यार्थीले परीक्षा दिनेछन् ।
लटिनाथ मावि मार्मा केन्द्रमा ४ विद्यालयका २ सय ४६ परीक्षार्थी रहेका छन् । शेरी, पडपडा, मुर्रै र घुसा विद्यालयका परीक्षार्थीले मार्मा केन्द्रमा परीक्षा दिनेछन् । मालिकार्जुन मावि मड केन्द्रमा शंकरपुर, आगर, ठिङ, ग्वानी र मिलमिलीका गरी २ सय ९ परीक्षार्थी रहेको इकाई प्रमुख जयराज पन्तले बताउनुभयो ।
हिमालय मावि हुती केन्द्रमा सुन्सेरा, विण, स्याकु, बसेडी र मावि सिनाबाट २ सय ५ परीक्षार्थी छन् । महेन्द्र मावि खलंगा केन्द्रमा ८ विद्यालयका २ सय १ विद्यार्थी छन् । दार्चुला पब्लिक स्कुल खलंगा, कन्या मावि खलंगा, मावि धाप प्राविधिक, मावि बारबाज साधारण, मावि बारबाज प्राविधिक, मावि बाँझ, पशुपति शिक्षा मन्दिर र मावि धाप साधारणका परीक्षार्थी खलंगाको केन्द्रमा सहभागी हुनेछन् ।
जनविकास मावि बारबाज केन्द्रमा हुती, धारी, कोटकौतोली, हिकिला र सिमलीका १ सय ९६ परीक्षार्थी रहेका छन् । तपोवन मावि पडपडा केन्द्रमा खण्डेश्वरी, लटिनाथ, घोल्जर र मावि धंकका १ सय ८४ विद्यार्थी छन् । नौगाड गाउँपालिकाअन्तर्गत लटिनाथ मावि खार केन्द्रमा सुण्डमुण्ड, इयरकोट, सिप्टी, नागु र हुस्कर मावि काँटैका गरी १ सय ८० परीक्षार्थी छन् ।
शंकरपुर मावि पस्ती केन्द्रमा मालिकार्जुन, ऐरीछाना, औतालेक चन्दनपुर, देवथली र सेलिचामाका गरी १ सय ६७ परीक्षार्थी रहेका छन् । लटिनाथ मावि चौपाता केन्द्रमा रातामाटा, खरकडा, तेलिगाउँ, धरमघर, सर्मोली र मावि मैखोलीका गरी १ सय ६० विद्यार्थी एसइइ परीक्षामा सहभागी हुनेछन् ।
गणेश विनायक मावि सिप्टी केन्द्रमा खार, धुलिगडा र पत्थरकाडाका १ सय ५७ जना परीक्षार्थी छन् । कृष्ण मावि बलाँच केन्द्रमा देथला र गोकुलेश्वरका गरी १ सय ३७ विद्यार्थी छन् भने सरस्वती मावि उकु केन्द्रमा डाडाकोट, बाकु, डिन्सी र लाली विद्यालयका १ सय २२ विद्यार्थी छन् ।
कृष्ण मावि लाली केन्द्रमा उकु, कुणी र गाणागाउँका गरी ७६ परीक्षार्थी रहनेछन् । सबैभन्दा कम परीक्षार्थी राष्ट्रिय मावि दत्तु केन्द्रमा ३३ जना रहेका छन् । दत्तु केन्द्रमा थाप्ला र भर्तोलाबाट परीक्षार्थी सहभागी हुनेछन् ।
२०७३ सालअघिको पुरानो पाठ्यक्रमअनुसार ग्रेडवृद्धि परीक्षाका लागि खलंगास्थित महेन्द्र मावि खलंगामा केन्द्र तोकिएको छ । यो केन्द्रमा १ सय २९ जना परीक्षार्थी छन् । यसैगरी नियमिततर्फका विद्यार्थीसंगै ग्रेडवृद्धिका लागि जिल्लाभरीका २ सय ३० जना थप परीक्षार्थी एसइइ परीक्षामा सहभागी हुने भएका छन् ।