गोरीघाटीमा चार हिमचितुवा देखिए

0
2149

दार्चुला, माघ २० गते ।
भारतको गोरीगंगा घाटी क्षेत्रमा चार हिमचितुवा (स्नो लेपर्ड) देखिएका छन् । दुर्लभ र संरक्षित मानिएको हिमचितुवा देखिएपछि वातावरणविद् खुशी भएका छन् । विश्व वन्यजन्तु कोषअन्तर्गत हिमचितुवा संरक्षण परियोजनाले स्थापना गरेका चार क्यामेरामा हिमचितुवाको फोटो खिचिएको छ ।
जनवरी २३ तारेखमा विश्व वन्यजन्तु कोषले हिमचितुवाको फोटो सार्वजनिक गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । एउटै फोटोमा ३ हिमचितुवा देखिएका छन् । हिमचितुवाको संरक्षण परियोजनाले हिमचितुवाको संरक्षणमा काम गरिरहेको वातावरणविद् ऋषि शर्माले बताउनुभयो ।
समुद्री सतहबाट ३ हजार ५ सय मिटरको उचाईको क्षेत्रमा हिमचितुवा भेटिएको शर्माले बताउनुभयो । गोरीघाटी र आसपासमा क्षेत्रमा हिमचितुवा संरक्षणका लागि सचेतना जगाउनुपर्ने उहाँको भनाई छ ।
हिमचितुवाले अहिलेसम्म मानिसमाथि आक्रमण नगरेको अनुसन्धानकर्ताले बताएका छन् । विज्ञका अनुसार मान्छे देखेपछि भाग्ने प्रवृति हिमचितुवामा हुने गर्दछ । ‘हालसम्म वन विभागसंग हिमचितुवाले मान्छेमाथि आक्रमण गरेको अभिलेख छैन’ भारतीय पत्रिका हिन्दुस्तान दैनिकको समाचारमा लेखिएको छ ।
चारवर्ष अघि बागेश्वर वन प्रभागको हिमाली क्षेत्रमा पनि हिमचितुवा भेटिएको थियो । हिमालय पर्वतको सुन्दरढुंगा क्षेत्रमा हिमचितुवा देखिएको थियो । भारतमा सबै प्रान्तमा गरी ५ सयदेखि ७ सयसम्म हिमचितुवा रहेको अनुमान छ ।