घाइते चालकको धनगढीमा उपचार हुँदै

0
2262

दार्चुला, फागुन २२ गते ।
दार्चुला–तिंकर सडकअन्तर्गत राताकाठामा भएको जीप दुर्घटनामा घाइते जीपचालक दिपकसिह धामीको धनगढीमा उपचार भइरहेको छ । फागुन १७ गते साँझ भएको जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने जीपचालक धामी गम्भीर घाइते भएका थिए ।
जीपचालकलाई तत्काल उद्धार गरी उपचारका लागि भारतको पिथौरागढ पठाइएको थियो । पिथौरागढमा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहको जीप मालिक भवानसिह धामीले बताउनुभयो ।
जीप दुर्घटना भएको केही घण्टामै पिथौरागढ जिल्ला अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएको जीप मालिक धामीले जानकारी दिनुभयो । फागुन १७ गते राती पिथौरागढ पुर्याइएका जीप चालकलाई भोलिपल्ट फागुन १८ गते एम्बुलेन्समार्फत धनगढी पुर्याइएको छ । शुक्रवार राती पिथौरागढ जिल्ला अस्पताल पुर्याइएका घाइते चालकलाई डाक्टरहरुले शनिवार विहान ९ बजे मात्रै चेकजाँच गरेका थिए । टाउकोमा चोट लागेकाले सिटिस्क्यान गर्न हल्द्वानी गर्नुपर्ने सुझाव डाक्टरले दिएका थिए ।
जीपचालकको दाहिने खुट्टा, टाउको र शरीरमा गम्भीर चोट लागेको छ । धनगढीस्थित माया मेट्रो अस्पतालमा सोमबार दाया खुट्टाको शल्यक्रिया गरिएको छ । घाइते जीपचालक धामीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जीपधनी भवानसिह धामीले जानकारी दिनुभयो ।
शुक्रवार राती पौने ८ बजे खलंगाबाट हिकिला जानेक्रममा म १ ज २८० नम्बरको जीप राताकाठामा दुर्घटना भएको थियो ।