चरेशसहित पक्राउ परेका प्रेम उपभोक्ता समिति अध्यक्ष

0
2066

दार्चुला, माघ २१ गते ।
माघ १६ गते भारतको धारचुलामा ८ किलो चरेशसहित पक्राउ परेका प्रेम सिंह ठेकरे अपी नाम्पा संरक्षण क्षेत्रको उपभोक्ता समिति अध्यक्ष रहेको तथ्य खुलेको छ । प्रेमसहित ५५ वर्षिय पदमसिह ठेकरेलाई उत्तराखण्ड प्रहरीले धारचुलाबाट चरेशसहित पक्राउ गरी मुद्दा चलाएको छ ।
नौगाड गाउँपालिकाको वडा नम्बर १ इयरकोटका वासिन्दा रहेका प्रेम र पदम दाजुभाई हुन् । २०७४ वैशाखदेखि प्रेम उपभोक्ता समितिका अध्यक्ष बनेका थिए । तत्कालिन अध्यक्ष धनसिह डडालले पारदर्शी र राम्रो कार्य गर्न नसकेको भन्दै अध्यक्ष परिवर्तन गरिएको इयरकोटका एक स्थानीयले बताए ।
तत्कालिन अध्यक्षले राम्रो गर्न सकेन भनेर अध्यक्ष बनेका प्रेम आफै चरेशसहित समातिएका छन् । उपभोक्ता समितिको अध्यक्ष अपी नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सदस्य समेत रहने व्यवस्था छ ।
तत्कालिन अध्यक्ष डडाल भूमिराज मावि इयरकोटका प्रधानाध्यापक छन् । डडालको ठाँउमा अध्यक्ष बनेका प्रेम सिंह ठेकरे यसअघि समितिका सचिव थिए । ठेकरे अध्यक्ष भएपछि उपभोक्ता समितिको सचिव ममता डडाल छन् । समितिको उपाध्यक्ष हरकसिह ठगुन्ना रहेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयको अभिलेख छ ।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयको अभिलेखमा भने इयरकोटका उपभोक्ता समिति अध्यक्षमा धनसिह डडालकै नाम छ । कार्यालयले प्रकासित गरेको गतवर्षको वार्षिक प्रतिवेदन पुस्तिकामा डडालको नाम छ । समितिको अध्यक्ष परिवर्तन भएको हुनसक्ने र कार्यालयमा अभिलेख अद्यावधिक गरिने अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका रेन्जर भुवनेश्वर चौधरीले बताउनुभयो ।
अपी नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्मा भने उपभोक्ता समिति अध्यक्ष प्रेम सिंह ठेकरे भएको अभिलेख छ । ठेकरेले दुई वर्षको बजेट र कार्यक्रम सञ्चालन गरेको परिषद्का एक कर्मचारीले बताउनुभयो । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयमा प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा कर्मचारीहरु क्रियासिल छन् भने परिषद्मा निर्वाचित परिषद् पदाधिकारी र केही कर्मचारी छन् ।