चार महिनामा १७ करोड ७२ लाख राजश्व

0
2221

दार्चुला, पुष २० गते ।
दार्चुलामा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा १७ करोड ७२ लाख ७१ हजार ४ सय ८८ रुपैयाँ राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाको राजश्व खातामा ३८ वटा शीर्षकबाट राजश्व संकलन भएको छ ।
नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणालीमा सबै राजश्व रकमको विवरण अभिलेखिकरण भएको कोष नियन्त्रक भूपालसिह कार्कीले बताउनुभयो । अनलाइन प्रणालीमार्फत राजश्व दाखिलाको अभिलेखिकरण हुँदैआएको उहाँको भनाई छ ।
स्थानीय तहहरुबाट गतवर्षको अनुदान फिर्ता र निकासा फिर्ताको रकम धेरै भएकोले नेपाल सरकारको खातामा बढी राजश्व दाखिला भएको कोष नियन्त्रक कार्कीले बताउनुभयो । स्थानीय तहहरुको अनुदान फिर्ता ८ करोड ९७ लाख ५३ हजार ८ सय ७४ रुपैयाँ भएको छ । गतवर्ष नेपाल सरकारले स्थानीय तहहरुलाई दिइएको सशर्त अनुदानको रकम खर्च हुन नसकेपछि सरकारी खातामा दाखिला गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यसैगरी, ४ करोड २२ लाख ४१ हजार ३ सय ३६ रुपैयाँ निकासा फिर्ता गरी राजश्व दाखिला गरिएको छ । कर, राजश्व र दस्तुरवाफत सबैभन्दा बढी रकम एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने करवाफत ७५ लाख ६५ हजार ७ सय ५८ रुपैयाँ दाखिला भएको छ ।
चार महिनाको अवधिमा बेरुजु दाखिला ७७ लाख १६ हजार २ सय ४३ रुपैयाँ, पारिश्रमिक करवाफत ४९ लाख १ हजार २ सय १३ रुपैयाँ र पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर ५५ लाख ५२ हजार ८ सय ६८ रुपैयाँ राजश्व खातामा जम्मा भएको छ । कोलेनिका दार्चुलाका अनुसार वन रोेयल्टी ६८ लाख ११ हजार ५५ रुपैयाँ, मूल्य अभिवृद्धि कर २१ लाख ७२ हजार २ सय ९ रुपैयाँ र मदिराको अन्तशुल्क २३ लाख ६३ हजार ८ सय २५ रुपैयाँ राजश्व संकलन भएको छ ।
शिक्षा क्षेत्रको आम्दानी १८ लाख ३२ हजार ४ सय रुपैयाँ, ठेक्का तथा परामर्श सेवाको मूल्य अभिवृद्धि कर १२ लाख ५१ हजार ५ सय ६४ रुपैयाँ र सम्पत्ति वहाल तथा पट्टा वाफतको आयमा लाग्ने कर १२ लाख ३९ हजार ४ सय ३३ रुपैयाँ संकलन भएको छ ।
मुनाफामा लाग्ने कर ७ लाख २२ हजार ७६ रुपैयाँ, व्याजमा लाग्ने कर ५ लाख १५ हजार २ सय ७३, राहदानी शुल्क ४ लाख ९५ हजार १ सय र सवारीसाधन कर ४ लाख ३८ हजार ५ सय रुपैयाँ सरकारलाई राजश्व प्राप्त भएको छ ।
अन्य राजश्व ४ लाख ७७ हजार ७ सय १६ रुपैयाँ, पूजीगत लाभकर ३ लाख ६२ हजार २ सय रुपैयाँ, न्यायिक दस्तुर ३ लाख १७ हजार ९ सय ६८ रुपैयाँ र हुलाक सेवा शुल्क १ लाख ६१ हजार १ सय २४ रुपैयाँ राजश्व संकलन भएको छ ।
कोलेनिका दार्चुलाका अनुसार प्रशासनिक सेवा शुल्क १ लाख २६ हजार ९ सय ६८, परीक्षा शुल्क १ लाख ७ हजार, नीजि कम्पनीको मुनाफामा लाग्ने कर १ लाख १ हजार ४ सय ९८, आकस्मिक लाभकर ६६ हजार २ सय ८७ र अन्य विक्रीबाट प्राप्त रकम ६३ हजार १ सय ७० रुपैयाँ कार्तिक मसान्तसम्म राजश्व दाखिला भएको छ ।
सुर्तिजन्य पदार्थको अन्तशुल्क ७८ हजार १ सय, लाभांशमा लाग्ने कर ५४ हजार ७ सय ४३, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ३७ हजार, कम्पनी रजिष्ट्रेशन दस्तुर ३४ हजार १ सय र वेदर्तावालबाट संकलित मूल्य अभिवृद्धि कर ३३ हजार ८ सय रुपैयाँ राजश्वमा जम्मा भएको छ ।
विभिन्न ८ शीर्षकबाट १० हजारभन्दा कम रकम राजश्व संकलन भएको कोलेनिका दार्चुलाका सुचना अधिकारी इन्द्र सिंह धामीले बताउनुभयो । न्यायिक दण्ड, जरिवाना र जफत ९ हजार ८ सय, सरकारी सम्पत्तिको विक्रीबाट प्राप्त रकम ७ हजार ५ सय, हातहतियारको इजाजतपत्र नविकरण दस्तुर ६ हजार ७ सय ५०, रेडियो एफएम सञ्चालन दस्तुर ५ हजार ४ सय ५०, सरकारी सम्पत्तिको वहालबाट प्राप्त आय ५ हजार २ सय र हातहतियारको इजाजतपत्र दस्तुर ३ हजार ९ सय रुपैयाँ राजश्व जम्मा भएको छ ।
सबैभन्दा न्युन राजश्व संकलन हुने शीर्षकमा पदयात्रा रोयल्टीबाट ४ हजार रुपैयाँ र विद्युत सेवा शुल्क १ हजार ६ सय २५ रुपैयाँ रहेका छन् । कार्तिक महिनामा मात्रै १ करोड २१ लाख ६ हजार ५ सय २३ रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकारी इन्द्र सिह धामीले बताउनुभयो । साउनदेखि असोजसम्मको ३ महिनामा १६ करोड ५१ लाख ६४ हजार ९ सय ६४ रुपैयाँ राजश्व संकलन भएको अभिलेख छ ।