चार वर्षदेखि सिमाक्षेत्रमा नेपाल सेनाको ‘हिमाल दर्शन’ अपरेशन

0
2127

दार्चुला, पुष ९ गते ।
नेपाली सेनाले विगत चार वर्षदेखि सिमाक्षेत्रमा ‘हिमाल दर्शन’ अपरेशन गर्दैआएको छ । हिमालय क्षेत्रको दर्शनलाई लक्ष्य बनाइ सेनाको टोलीले प्रत्येक वर्ष लामो दूरीको गस्ती गर्दैआएको छ ।
खलंगास्थित नेपाली सेनाको दुर्गादल गुल्मबाट पहिलो पटक २०७३ को वैशाख महिनामा सेनाको टोली त्रिदेशीय सिमाक्षेत्र व्यासमा पुगेको थियो । तत्कालिन गुल्मपति अच्युत घिमिरेको नेतृत्वमा सेनाको अपरेशन टोली चीनसंगको सिमाना तिंकर भञ्ज्याङसम्म पुगेको थियो ।
२०७३ सालकै चैत्रमा भएको अर्को अपरेशनमा तत्कालिन गुल्मपति अर्जुन अधिकारीले नेतृत्व गरेका थिए । उक्त टोली पनि व्यासक्षेत्रमा पुगेको थियो । ‘त्यतिबेला दिपायलबाट पृतनापति समेत हेलिकोप्टरमार्फत छाङरु पुगेको’ सैनिक स्रोतले बतायो । महाकाली नदी किनारको क्षेत्रमा गरिएको सैनिक गस्तीको अनुगमन गर्न तत्कालिन पृतनापति छाङरु पुगेका थिए ।
दुई वर्षअघि २०७४ चैत्रमा महाकाली नदीमा भारतीय पक्षले एकतर्फी चारवटा काठेपुल राखेको विषय सार्वजनिक भएलगत्तै सेनाले अपरेशन सञ्चालन गरेको थियो । काठेपुलको समाचार सार्वजनिक भएलगत्तै सेनाको टोलीले राप्लाको दुम्लिङ, घाटिबगड, दोपाखे हुँदै व्यासको बुँदीक्षेत्रसम्म गस्ती गरेको थियो । मौसमी प्रतिकुलता र अत्यधिक हिमपात भएकाले सेनाको अपरेशन टोली बुँदीबाटै फर्किएको थियो । बुँदीसम्म सेनाको अपरेशन सञ्चालन गरिदा सन्तोष गुरुङ गुल्मपति थिए ।
गतवर्षको चैत्रमा पनि नेपाली सेनाको हिमाल दर्शन अपरेशन सञ्चालन गरिएको थियो । गुल्मपति गणेश रावलले पहिलो पटक हिमाल दर्शन अपरेशनबारे सञ्चारकर्मीलाई खवर पुष्टि समेत गरेका थिए ।
नेपाली सेनाले नियमित रुपमा लामो दूरीको गस्तीलाई अपरेशनका रुपमा सञ्चालन गर्दैआएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताउनुभयो । ‘सबैजसो जिल्लामा यस्तो अपरेशन सञ्चालन हुन्छ, हिमाली जिल्लामा अपरेशनलाई हिमाल दर्शन नाम दिइएको छ’ उहाँले भन्नुभयो ।
सिमाक्षेत्रमा सेनाको गतिविधि बढ्दा स्थानीय वासिन्दा भने खुशी भएका छन् । भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको नजिकका वासिन्दाले सैनिक सक्रियतालाई सकारात्मक रुपमा बुझेका छन् । ‘सिमाक्षेत्रमा सुरक्षाकर्मीको सक्रियता हुनु राम्रो हो, नागरिकलाई सरकार भएको आभाष हुन्छ’ नेपाल वार एसोसिएसन दार्चुलाका सदस्य एवं अधिवक्ता गगनसिह धामीले भन्नुभयो, ‘सुरक्षाकर्मी मात्रै होइन, सिमाक्षेत्रमा राज्यका अन्य निकायको पनि निरन्तर उपस्थिति र सक्रियता आवश्यक छ ।’
त्रिदेशीय सिमाक्षेत्रमा लामो समयदेखि नेपाली सेनाको गस्ती हुन सकेको थिएन । २०३१ सालको खम्पा विद्रोह नियन्त्रण गर्न नेपाली सेना व्यासको तिंकर क्षेत्रमा परिचालन गरिएको थियो । २०५३ सालतिर कालापानीमा सिमा अतिक्रमण भएको मुद्दा उठेपछि दिपालयस्थित तत्कालिन बाहिनीपति चित्रवहादुर गुरुङले कालापानी क्षेत्रको अनौपचारिक भ्रमण गरेका थिए । ‘त्यतिबेला जर्नेल गुरुङले आफुहरुसंग कालापानी क्षेत्रसम्म पैदल भ्रमण गरेको’ तत्कालिन व्यास गाविस अध्यक्ष जहेन्द्रसिह ऐतवालले बताउनुभयो । २०७१ सालमा दार्चुलाको खलंगा ब्यारेकका तत्कालिन गुल्मपति प्रविण घिमिरेले प्रजिअ प्रेमसिह कुवरसंग तिंकर नाका भएर ताक्लाकोट भ्रमण गरेका थिए । तर घिमिरेको यो भ्रमण व्यक्तिगत थियो ।