छात्रवृत्ति व्यवस्थित र पारदर्शी हाेस्

0
2400

आफ्नो उद्देश्य तथा लक्ष्य प्राप्तिमा खासै काम गर्न नसकेको आरोप खेप्दै आएको अपी नाम्पा संरक्षण क्षेत्रले गत आर्थिक वर्ष वन विज्ञान अध्ययन गर्ने किशोरहरुलाई छात्रवृत्ति दिएको देखियो । हामीले संरक्षण क्षेत्रको जिल्ला परिषद् गठन भएदेखि नै दार्चुलाको युवा पुस्तालाई संरक्षणमा सरिक गराउन वन विज्ञान अध्ययन गराउन संरक्षण क्षेत्रले सहयोग गर्नु पर्ने र विद्यालय तहमा समेत संरक्षण सम्बन्धी पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी वन विज्ञान अध्ययनका लागि आधार तयार गर्नु पर्ने प्रस्ताव समेत राखेका थियौं तर पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण नगरे पनि वन विज्ञान अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कुराले वन विज्ञान पढ्न चाहने किशोरकिशोरीहरुमा उत्साह थपिएको छ ।
जिल्लाबाट वन विज्ञान पढ्ने र यो क्षेत्रमा काम गर्ने जनशक्ति नै औलामा गन्न सकिने अवस्थालाई यसले परिवर्तित गर्नेछ । छात्रवृत्ति पाएका किशोरकिशोरीहरुले आफ्नो अध्ययन मात्रै सम्झिएक छैनन् होला आर्थिक सहयोग गर्ने अपीनाम्पालाई पनि सम्झिरहेका होलान् । आफ्नो अध्ययनलाई थप प्राज्ञिक बनाउन उनीहरु हाम्रै गाउँ ठाउँमा आउँनेछन्, आफ्नै समाजमा संरक्षण र अन्य प्राज्ञिक कुरा गर्नेछन्, जसले यो क्षेत्रका आम नागरिकले पनि केही ज्ञान प्राप्त गर्नेछन् र हाम्रो समाज बिस्तारै संरक्षणका क्षेत्रमा क्रियाशील हुनेछ । समग्र समाजलाई संरक्षणतिर प्रोत्साहित गर्न यो कार्यक्रमले टेवा पुग्ने छ भने विद्यालय स्तरमा स्तरगत विषयवस्तु समेटेर पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सके छोटो समय मै संरक्षणका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हाँसिल हुने छ । यसप्रति सरोकारवाला निकाय र व्यक्तिहरुले विशेष जिम्मेवारी लिनु पर्ने हुन्छ ।
समग्र समाजलाई नै संरक्षणतिर प्रेरित गर्ने छात्रवृत्ति र छात्रवृत्ति दिने प्रक्रिया, यसका सिमा क्षेत्र, आवेदकको योग्यता जस्ता कुराहरु समेटिएको निर्देशिका वा कार्य विधि भने संरक्षण क्षेत्रले निर्माण गरेको देखिएन । निवदेन दिने सबैलाई छात्रवृत्ति उपलब्ध गराएको परिषद्का अध्यक्ष स्वयम्ले बताउँदै गर्दा चार जनालाई वितरण गरिएको छात्रवृत्ति रकम समेत समान देखिएको छैन । कुनै कार्यविधि र निर्देशिका नबनाई प्रदान गरिएको छात्रवृत्ति कुन आधारमा बितरण गरियो ? भनसुन र पहुँचको आधारमा त छात्रवृत्ति बितरण गरिएन ? यदि यस्तो हो भने संरक्षण क्षेत्रका बासिन्दाका नाममा गरिएको यो भ्रष्टाचार नै हो । बिना प्रक्रिया, आधार भने जतिलाई छात्रवृत्ति दिने हो कि निश्चित प्रक्रिया र आधार तोकेर न्यायिक हिसाबले छात्रवृत्ति बितरण गर्ने हो ? सम्बन्धित निकाय गम्भीर हुनै पर्दछ । अबका दिन छात्रवृत्तिलाई निरन्तरता दिने कुरा त छँदैछ, बितरण गर्ने कुरालाई पनि व्यवस्थित बनाईनु पर्दछ ।