जिल्लाभित्रै सरकारी गाडी चलाउन प्रशासनको अनुमति

2439

दार्चुला, माघ १९ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सरकारी गाडी सञ्चालनमा कडाइ गरेको छ । प्रशासनको अनुमतिविना सरकारी निकायहरुले जिल्लाभित्रै गाडी चलाउन नपाउने भएका छन् ।
माघ ६ गते बसेको कार्यालय प्रमुखहरुको बैठकबाट सरकारी सवारीसाधन चलाउन अनिवार्य प्रशासनको अनुमति लिने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले बताउनुभयो । सरकारी निकायका सवारीसाधन सञ्चालन व्यवस्थित बनाउन प्रयास गरिएको उहाँको भनाई छ ।
यसअघि जिल्लाबाहिर सरकारी निकायका सवारीसाधन जादा प्रशासनको अनुमति लिने अभ्यास रहिआएको छ । यो महिनादेखि जिल्लाभित्रै सरकारी निकायका सवारीसाधन सञ्चालन गर्नुपरेमा जिल्ला प्रशासनको लिखित अनुमति लिने व्यवस्था गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
सरकारी निकायहरुले सवारीसाधन आफुखुशी जिल्लाभित्र र बाहिर सञ्चालन गर्न थालेपछि प्रशासनले कडाइ गरेको स्रोतले बतायो । सदरमुकाम बाहिर जिल्लाभित्रै जुनसुकै प्रकारको सरकारी गाडी चलाउनुपरेमा पनि प्रशासन कार्यालयबाट लिखित अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
सडक सुविधाको विस्तारसंगै दार्चुलाका एक दर्जन सरकारी निकायहरुसंग गाडी छन् भने अधिकांश निकायसंग मोटरसाइकल छन् । प्रशासनले सरकारी निकायका गाडी र मोटरसाइकल दुबैको सञ्चालनमा कडाइ गरेको नायव सुब्बा पदमराज भट्टले बताउनुभयो ।
गाडी सञ्चालनका लागि सम्बन्धित निकायले प्रशासनसंग लिखित अनुरोध गर्ने अभ्यास छ । प्रशासन कार्यालयले गाडी सञ्चालनको उद्देश्य, अवधि, प्रयोगकर्ताको नाम, गाडी जाने गन्तव्यलगायतको विवरणसहित सवारी अनुमतिपत्र दिने गरेको छ ।
माघ महिनाको कार्यालय प्रमुखको बैठकपछि गाडी र मोटरसाइकल दुबै प्रयोग गर्दा चालकको लाइसेन्सको प्रतिलिपि अनिवार्य प्रशासनमा बुझाउने नयाँ व्यवस्था गरिएको छ । सरकारी निकायले सवारीसाधनको सञ्चालनको अनुरोध पत्रसंगै चालकको लाइसेन्सको प्रतिलिपि पनि पेश गर्ने अभ्यास थालिएको नायव सुब्बा भट्टले बताउनुभयो ।
सरकारी निकायका सवारीसाधनहरु मितव्ययी रुपमा सञ्चालन गर्न र सम्भावित दुर्घटनाको जोखिम घटाउन पनि अनिवार्य लाइसेन्सको प्रतिलिपि संलग्न गराइएको सहायक प्रजिअ टेकसिह कुवरको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !