जिल्ला समन्वय अधिकारीलाई महाकालीको थप जिम्मेवारी

2538

दार्चुला, माघ १५ गते ।
दार्चुलाका जिल्ला समन्वय अधिकारी कमलवहादुर थापालाई महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पनि दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकवहादुर भण्डारी विदामा बसेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थापालाई थप जिम्मेवारी दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीले पुषको अन्तिम साता विदामा बस्न खोज्दा नगर प्रमुख हंसराज भट्टले विदा स्वीकृत नगरेको नगरपालिका स्रोतले बतायो । नगर प्रमुखले विदा स्वीकृत नगरेपछि प्रमुख प्रशासकीय अधिकृत भण्डारी पुष २६ गते दार्चुलाबाट हिडेका थिए । पुष २६ देखि ३ दिनको क्याजुअल विदा र त्यसपछि विदामा बस्ने गरी भण्डारीले दार्चुला छोडेका थिए ।
प्रमुख प्रशासकीय अधिकृतले विदा बस्ने भनेपछि आफुले कार्यालयमा कामको चाप भएकाले तत्काल विदा नबस्न भनेको नगर प्रमुख हंसराज भट्टले बताउनुभयो । दार्चुला छोडेर काठमाण्डौका पुगेका भण्डारीले मन्त्रालयबाट १५ दिनको विदा स्वीकृत गराइसकेका छन् ।
नगरपालिकाको दैनिक कामकाज प्रभावित भएपछि आफुले मन्त्रालयसंग पहल गरी जिल्ला समन्वय अधिकारीलाई नगरपालिकाको थप जिम्मेवारी दिलाएको नगर प्रमुख भट्टको भनाई छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ९ गते पत्राचार गरी जिल्ला समन्वय अधिकारी कमलवहादुर थापालाई थप जिम्मेवारी दिएको हो ।
जिल्ला समन्वय अधिकारी थापालाई “अर्को व्यवस्था नभएसम्मको लागि महाकाली नगरपालिकाको कार्यालय दार्चुलाको प्रशासनिक र आर्थिक अधिकार सहित प्रमुख प्रशासकीय अधिकृतको थप जिम्मेवारी दिइएको” पत्रमा उल्लेख छ ।
जिल्ला समन्वय अधिकारीले माघ १३ गतेदेखि नगरपालिकाको जिम्मेवारी सम्हालेका छन् । दैनिक रुपमा नगरपालिका र जिल्ला समन्वय समितिको कार्यालयमा दोहोरो जिम्मेवारी वहन गर्नुपरेको उहाँले बताउनुभयो । नगरपालिकाको प्रशासनिक र आर्थिक अधिकारसहितको जिम्मेवारी भएकाले प्रत्येक दिन कार्यालयमा पुग्नैपर्ने बाध्यता रहेको उहाँको भनाई छ । जिल्ला समन्वय अधिकारी थापाको दैनिक हाजिरी भने जिल्ला समन्वय समितिको कार्यालय हुनेछ ।
समन्वय समिति र नगरपालिकाको दोहोरो जिम्मेवारी केही समयका लागि मात्रै भएको उहाँले बताउनुभयो । “मन्त्रालयले निकट समयमै प्रमुख प्रशासकीय अधिकृत पठाउछहोला, मेरो दोहोरो जिम्मेवारी केही समयका लागि मात्र हो” जिल्ला समन्वय अधिकारी कमलवहादुर थापाले भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत लोकवहादुर भण्डारी ३ महिनाअघि मात्रै महाकाली नगरपालिकामा आएका थिए । सुरुदेखि नै जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत भण्डारीको बीचमा मतभेद रहदैआएको नगरपालिकाका एक कर्मचारीले बताउनुभयो । “पछिल्लो समय मतभेद बढ्दै गएपछि भण्डारीले विदामा बस्न खोजेका थिए, राजनीतिक दबावमा उनले काम गर्न चाहेका थिएनन्” महाकाली नगरपालिकामा कार्यरत ती कर्मचारीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !