जिसस प्रमुख र नगरप्रमुखको बीचमा जिसस उपप्रमुख

0
2350

दार्चुला, पुष ३० गते ।
नेपाल सरकारले जारी गरेको नयाँ मर्यादाक्रमअनुसार जिल्ला समन्वय समिति प्रमुख र नगरपालिका प्रमुखबीचको बीचमा समन्वय समितिका उपप्रमुखलाई राखिएको छ । यसअघिको मर्यादाक्रममा जिसस उपप्रमुखलाई उल्लेख नै गरिएको थिएन । पहिलो पटक नयाँ मर्यादाक्रमले समन्वय समिति उपप्रमुखको मर्यादा निर्धारण गरेको हो ।
जिल्ला समन्वय समिति उपप्रमुखलाई मर्यादाक्रममा नराखिदा जिल्लास्तरका औपचारिक कार्यक्रममा असजिलो हुँदैआएको थियो । जिसस महासंघले मर्यादाक्रममा उपप्रमुखलाई सम्बोधन गर्नुपर्ने माग सरकारसंग राखेको थियो ।
नयाँ मर्यादाक्रमअनुसार १० नम्बरमा प्रदेशसभा सदस्यपछि जिल्ला समन्वय समिति प्रमुखलाई राखिएको छ । १४ नम्बरमा नगरपालिका प्रमुखलाई राखिएको छ भने १५ नम्बरमा जिल्ला समन्वय समिति उपप्रमुखलाई राखिएको छ । समन्वय समिति उपप्रमुखसंगै गाँउपालिका अध्यक्ष, नगर उपप्रमुख र नेपाल सरकारका सहसचिवलाई मर्यादाक्रममा राखिएको छ ।
यसअघि जिल्ला समन्वय समिति प्रमुखलगत्तैको मर्यादामा राखिएका जिल्ला न्यायाधिशलाई नयाँ मर्यादाक्रमले गाँउपालिका अध्यक्ष र नगर उपप्रमुखभन्दा पछाडि राखेका छ । प्रदेश सरकारका सचिव, प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी र विश्वविद्यालयका सहप्राध्यापकभन्दा अगाडि जिल्ला न्यायाधिशलाई राखिएको छ । यद्यपि नेपाल सरकारका सहसचिवभन्दा जिल्ला न्यायाधिश पछाडि छन् ।
संघीय सांसदभन्दा प्रदेश मन्त्री अगाडि
नयाँ मर्यादाक्रमले संघीय सांसदभन्दा प्रदेशमन्त्रीलाई अगाडि राखेको छ । यसअघिको मर्यादाअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई ८ नम्बरमा राखिएको थियो भने प्रदेशसभाका सभामुख र प्रदेश सरकारका मन्त्रीलाई १० नम्बरमा राखिएको थियो ।
नयाँ मर्यादाक्रमअनुसार भने प्रदेशसभा सभामुख ८ नम्बरमा छन् । प्रदेश सरकारका मन्त्रीलाई नेपाल सरकारका सहायक मन्त्रीलगत्तै ९ नम्बरमा राखिएको छ । त्यसपछि मात्रै प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यको मर्यादा हुनेछ ।
प्रदेश राज्यमन्त्री, प्रदेशसभा उपसभामुख, नेपाल सरकारका मुख्य सचिव र प्रधानसेनापतिलाई भने संघीय सांसदपछिको मर्यादामा क्रमशः राखिएको छ ।