जीप व्यवस्थापनबारे छलफल भइरहेको छ ः सुदूरपश्चिम ट्राफिक प्रमुख

2370

दार्चुला, मंंसिर १० गते ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक केदार रजौरेले जीप व्यवस्थापनबारे जिम्मेवार तहमा छलफल भइरहेको बताएका छन् । पछिल्लो समय प्रहरीले जीपको पछाडिको सिट हटाएपछि देखिएको समस्याबारे नीतिनिर्माण तहमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
सोमबार दिउसो दार्चुला पुगेका प्रहरी उपरीक्षक रजौरेले संघ र प्रदेश दुबैस्तरमा यसबारे छलफल भइरहेको बताउनुभयो । जीप व्यवसायीले क्षमताभन्दा बढी यात्रु बोक्न थालेपछि दुर्घटना बढेको भन्दै पछिल्लो समय जीपको पछाडिका सिट हटाइएका छन् । यातायात व्यवस्था विभागको अनुमतिअनुसार मात्रै यात्रु बोक्न भन्दै प्रहरी कडाइ गरेको छ ।
दार्चुलाका जीप व्यवसायीले भने जीपको पछाडिका सिटका यात्रु बोक्न नपाउदा डिजेलको खर्च समेत नउठ्ने भन्दै सेवा नै बन्द गरेका छन् । बुकिङमा मात्रै अहिले जीपहरु सञ्चालन हुने अवस्था रहेको यातायात व्यवसायी बताउँछन् ।
एसपी रजौरेसंग सोमबार दार्चुलाका यातायात व्यवसायीले जीपको पछाडिको सिटको अनुमति दिनुपर्ने माग राखेका छन् । यातायात व्यवस्था विभागलगायत जिम्मेवार तहमा यसबारे छलफल भइरहेको एसपी रजौरेले प्रतिउत्तर दिनुभयो । सांसदहरुसम्म समेत यो विषय पुगेकाले उपयुक्त निकास आउने उहाँको भनाई छ ।
माथिल्लो निकायबाट स्पष्ट व्यवस्था नहुदासम्म भने जीपको पछाडि सिट राख्न नपाइने प्रहरीको भनाई छ । एक हप्ताअघि मात्रै क्षमताभन्दा बढी यात्रु बोकेका गाडी दुर्घटना भए सम्बन्धित क्षेत्रका प्रहरी प्रमुखलाई कारवाही गर्ने कडा सर्कुलर आएको थियो । दार्चुला प्रहरीले मंसिरको सुरुमा जिल्लाका सबै जीपहरुको पछाडिको सिट हटाएको छ । कानुनी व्यवस्थाको पालना गर्नुको विकल्प नभएको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो ।
महाकाली यातायातका दार्चुला अध्यक्ष मोहनदेव पन्तले जिल्लाभरीका ६ दर्जन जीपहरु प्रभावित बनेको बताउनुभयो । जिल्लाका आधा दर्जन सडकमा जीपहरुले दिइरहेको नियमित सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो । व्यवसायीहरुको माग र स्थानीयको आवश्यकतालाई सम्बन्धित निकायबाट सम्बोधन गर्नुपर्ने व्यवसायीको माग छ । ५ सिट क्षमताको अनुमति भएका जीपहरुको पछाडि थप ५ सिटको अनुमति दिनुपर्ने व्यवसायीको माग छ । यसका लागि थप कर र वीमा शुल्क तिर्न समेत आफुहरु तयार रहेको अध्यक्ष पन्तले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !