जौलजिविदेखि नोटिफाइड एरिया कायम गर्न माग

2430

दार्चुला, पुष २५ गते ।
भारतको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलका स्थानीय वासिन्दाले जौलजिविदेखि नोटिफाइड एरिया कायम गर्न माग गरेका छन् । सुरक्षा संवेदनशीलताका कारण हाल धारचुला तहसिलअन्तर्गत छियालेखदेखि माथि मात्रै नोटिफाइड एरिया रहेको छ ।
स्थानीय प्रशासन र सुरक्षा निकायको अनुमतिविना नोटिफाइड एरियामा आवतजावत गर्न नपाउने व्यवस्था छ । नेपाली र विदेशी नागरिकलाई मात्रै नभई भारतीय नागरिकलाई समेत नोटिफाइड एरियामा आवतजावत गर्न अनुमति चाहिन्छ ।
अखिल भारतीय युवा संगठनले नोटिफाइड एरियाको मागलाई उठाउदै पुष २४ गते धारचुलामा प्रदर्शन समेत गरेको छ । संगठनका अध्यक्ष वीरेन्द्रसिह नबियालको नेतृत्वमा गरिएको प्रदर्शनमा स्थानीय जनप्रतिनिधिहरुको समेत ऐक्यवद्धता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारत चीन व्यापार समितिका अध्यक्ष जीवनसिह रौंकली, रं युथ फोरमका अध्यक्ष पुरनसिह ग्वाल, पूर्व ग्राम प्रधान दानसिह बोनाल, राजेन्द्रसिह नबियाललगायतका अगुवाले नोटिफाइड एरियाको मागमा ऐक्यवद्धता जनाएका छन् । छियालेखदेखिको नोटिफाइड एरिया विस्तार गरी जौलजिविदेखि माथिको सबै क्षेत्र घोषणा गर्न माग गरिएको छ ।
देशको सुरक्षाका लागि सीमाक्षेत्रको सुरक्षालाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ । धारचुला तहसिल कार्यालयमार्फत स्थानीयले गृह मन्त्रालयमा नोटिफाइड एरियाको मागपत्र बुझाएका छन् । माग सम्बोधन नभएमा कडा आन्दोलनको चेतावनी समेत दिइएको छ ।
धारचुला तहसिलअन्तर्गतका स्थानीय वासिन्दाले उठाएको नोटिफाइड एरियाको माग पूरा भएमा नेपालको मालिकार्जुन गाँउपालिका वडा नम्बर ७ जोलजिविदेखि माथिको सबै सीमावर्ती क्षेत्र समेत प्रभावित हुनेछ । नोटिफाइड एरिया विस्तार भएमा नेपाली नागरिकले भारतीय प्रशासन र सुरक्षाकर्मीको लिखित अनुमतिमा मात्रै भारतीय बजारमा प्रवेश गर्न पाउनेछन् । स्थानीय वासिन्दाबाहेक अन्य भारतीय नागरिकले समेत स्थानीय प्रशासनको अनुमति लिएर मात्रै नोटिफाइड एरियामा प्रवेश पाउनेछन् ।
गुञ्जीका ग्राम प्रधान अर्चना गुञ्ज्याल, बुँदीका प्रधान लक्ष्मी रायपा, नपलच्युका प्रधान गंगोत्री नपलच्याल, सभासद् प्रेमा गब्र्याल, प्रेमावती कुटियाल, धनुली विष्ट, क्षमा गब्र्याल, बविता धामी, जसमा गुन्ज्याल, दशरथी कुटियाललगायत महिला नेतृहरुले समेत नोटिफाइड एरियाको मागमा ऐक्यवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !