तावाघाटमा मोटर पुल बनाइदै

0
2000

दार्चुला, माघ १५ गते ।
भारतको धारचुला तहसिलअन्तर्गत तवाघाटमा मोटरपुल निर्माण सुरु गरिएको छ । दुइ हप्ताअघि तवाघाटस्थित धौलीगंगा नदीमा राखिएको मोटरपुल भत्किएको भत्किएको थियो । सडक निर्माणमा संलग्न सरकारी निकाय ग्रिफले नयाँ पुल निर्माण सुरु गरेको हो ।
कैलाश मानसरोवर यात्रा मार्गमा पर्ने मोटरपुल अघिल्लो आइतवार भत्किएको थियो । क्षमताभन्दा बढी भारको ट्रकले मोटरपुल भत्किएको हो । सडक निर्माणमा संलग्न नीजि कम्पनीले ट्रकमा स्काइभेटर मेसिन ढुवानी गर्नेक्रममा पुल भत्किएको थियो ।
सन् २०१३ को वाढीले तवाघाटस्थित धौलीगंगा नदीमा बनाइएको पक्की आरसिसि मोटरपुल बगाएको थियो । त्यसपछि राखिएको बेलिब्रिज दुइ हप्ताअघि बढी भारवहनले भत्किएको हो । तवाघाटमा नयाँ बेलिब्रिज राख्न थालिएको ग्रिफले जनाएको छ ।
मोटरपुल भत्किएपछि तवाघाटभन्दा माथिको क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । व्यासक्षेत्रका एक दर्जन गाउँका वासिन्दा यसबाट प्रभावित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० हजारभन्दा बढी जनसंख्या पुल भत्किदा यातायात सेवाबाट प्रभावित बनेका छन् ।
तवाघाटमा ५५ मिटर लामो बेलिब्रिज राख्न लागिएको छ । एक हप्ताभित्रै पुल तयार हुने जनाइएको छ । धारचुलाका एसडिएम अनिलकुमार शुक्लाले ग्रिफका अधिकारीहरुसंग नियमित समीक्षा गर्दै पुल निर्माणको अनुगमन गरिरहेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।