तिंकर सडकमा जिलेटिन प्रयोगमा ढिलाई

0
3071

दार्चुला, भदौ १४ गते ।
दार्चुला तिंकर सडक निर्माणमा जिलेटिन प्रयोग गर्न ढिलाइ भएको छ । ‘लगातार वर्षा भइरहेको’ र ‘जिलेटिन पडकाउने प्वाल तयार नभएकोले’ जिलेटिन प्रयोगमा ढिलाइ भएको सम्बन्धित पक्षले बताएका छन् ।
दुई वर्षसम्म जिलेटिन अभावमा निर्माण ठप्प रहेको तिंकर सडकमा पछिल्लो समय भदौ ३ गते जिलेटिन प्रयोग सुरु गरिएको थियो । नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा जिलेटिन प्रयोग भइरहेको हो ।
दुहुँ गाँउपालिकाको वडा नम्बर १ पिपलचौरी स्थित विजयपुर भीरमा जिलेटिन प्रयोग भइरहेको छ । भदौ ३ गते ३३ किलोग्राम जिलेटिन प्रयोग गरिएकोमा त्यसपछि दोस्रोपटक प्रयोग हुन सकेको छैन ।
लगातारको वर्षाले जिलेटिन प्रयोगमा समस्या भएको दार्चुला तिंकर सडक योजना प्रमुख रामचन्द्र साहले बताउनुभयो । ‘ठेकेदार पक्षले जिलेटिन पडकाउन प्वाल तयार गरिरहेको छ, केही दिनमै जिलेटिन प्रयोग हुन्छ’ उहाँले भन्नुभयो ।
विजयपुर भीर क्षेत्रमा सडक निर्माणको जिम्मेवारी पाएको साप जागृति तुलसी दुर्गा जेभीका निर्माण व्यवसायी जयवहादुर पाल ‘वर्षाका कारणा प्वाल तयार गर्न ढिलो भएको’ बताउनुहुन्छ । ‘अहिले २० वटा प्वाल तयार भएका छन्, कठिन भूगोल र वर्षाका कारण प्वाल तयार गर्न समय लागेको हो’ उहाँले भन्नुभयो ।
विजयपुर भीरमा ‘भर्टिकल’ (ठाडो) चट्टान भएकाले प्वाल पार्न र चट्टान फोड्न चुनौतीपूर्ण रहेको तिंकर सडकका सुचना अधिकारी एवं इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । ‘केही दिनभित्रै उक्त क्षेत्रमा जिलेटिन पडकाइने’ उहाँले बताउनुभयो । उहाँका अनुसार विजयपुर भीरमा जिलेटिन प्रयोगका लागि करिब एक सय प्वाल तयार गर्न निर्माण व्यवसायीलाई भनिएको छ ।
जिलेटिन प्रयोगका लागि प्वाल तयार गर्ने कम्प्रेसर मेसिनका लागि तेलको अभाव रहेको निर्माण व्यवसायी जयवहादुर पालले बताउनुभयो । खलंगाबाट पिपलचौरीसम्मको सडक सञ्चालनमा नरहेकाले तेल ढुवानीमा पनि समस्या भएको उहाँको भनाई छ । तत्काललाई भने ५ सय लिटर तेलको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
विजयपुर भीर क्षेत्रमा वर्षाको बेला काम गर्न जोखिमपूर्ण भएकाले पनि काममा ढिलाइ भएको निर्माण व्यवसायी पालको भनाई छ । ‘भिरालो र जोखिमपूर्ण ठाँउ भएकाले कामदारले वर्षा भइरहदा काम गर्न मान्दैनन्’ उहाँले भन्नुभयो, ‘वर्षा रोकिएपछि कामले गति पाउछ ।’ निर्माण व्यवसायी पालका अनुसार गौरापर्वपछि मात्रै उक्त क्षेत्रमा दोस्रो पटक जिलेटिनको प्रयोग हुनेछ ।
जिलेटिन ढुवानी, भण्डारण र प्रयोगको सुरक्षा व्यवस्थापन गरिरहेको नेपाली सेनाले भने आफ्नो पक्षबाट जिलेटिन प्रयोगमा ढिलाइ नभएको बताएको छ । ‘सेनाको टोली जतिबेला पनि जिलेटिन प्रयोगमा सुरक्षा दिन तयार रहेको’ दार्चुलास्थित दुर्गादल गुल्मका गुल्मपति गणेश रावलले बताउनुभयो ।