तिगरम पुल सञ्चालनको गृहकार्य

0
2299

दार्चुला, भदौ ५ गते ।
पहिरोले आवतजावतमा जोखिम भएपछि तीनदिनदेखि बन्द नेपाल भारत जोड्ने तिगरम पुल सञ्चालनको गृहकार्य थालिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबार प्राविधिक टोली पठाएर झोलुंगेपुल क्षेत्रको अवस्थाबारे अध्ययन, विश्लेषण गरेको छ ।
महाकाली किनारको नेपालतर्फ झोलुंगेपुलको माथिबाट आएको पहिरोले आवतजावत जोखिमपूर्ण बनाएको छ । स्थानीय प्रशासनले आइतवारदेखि भारतीय पक्षसंग समन्वय गरी पुल बन्द गराएको छ ।
पुलक्षेत्रको अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन व्यास गाँउपालिकाको प्राविधिक टोली र सस्पेन्सन ब्रिज डिभिजनको साझेदार संस्थाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो ।
मंगलवार प्राविधिक प्रतिवेदन प्राप्त भएको र आवश्यक तयारी पूरा गरी पुल सञ्चालनमा ल्याइने प्रजिअ आचार्यले जानकारी दिनुभयो । झोलुंगेपुलको माथिबाट ढुंगा खस्ने जोखिम रहेकाले जोखिम कम गर्न गाँउपालिकालाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
पुलक्षेत्रमा पहिरोको जोखिम कम गरेपछि भारतीय पक्षसंग समन्वय गरी पुल सञ्चालनमा ल्याइने प्रशासनले जनाएको छ । पुलमाथिबाट पहिरो आएकोले ढुंगो खस्ने खतरा छ भने पुलछेउमा बाटो मर्मत गर्नुपर्ने व्यास गाँउपालिकाका इन्जिनियर गोपिचन्द बुढाथोकीले बताउनुभयो ।
आफुले झोलुंगेपुल क्षेत्रको स्थलगत भ्रमणपछि जिल्ला प्रशासन कार्यालयमा लिखित प्रतिवेदन बुझाएको बुढाथोकीले बताउनुभयो । वर्षा रोकिएको बेला सुरक्षाकर्मीको निगरानीमा पुलबाट आवतजावत सञ्चालन गर्न सकिने उहाँको भनाई छ ।
सोमबार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र कठायतको नेतृत्वमा प्राविधिकसहितको टोलीले झोलुंगे पुलक्षेत्रको निरीक्षण गरेको छ । पुलक्षेत्र पहिरोको जोखिममा रहेकाले गृह मन्त्रालय र सस्पेन्सन ब्रिज डिभिजनलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो ।
पहिरोको जोखिम उच्च भएकोले पहिरोको रोकथाम तथा व्यवस्थापन गर्नु आवश्यक रहेको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताउनुभयो । सावधानीपूर्वक १÷२ जना गरेर झोलुंगेपुलमा आवतजावत सुचारु गर्न सकिने उहाँको भनाई छ । तत्काल पहिरोको जोखिम कम गरी पुलबाट आवतजावत सुचारु गर्न स्थानीय प्रशासनले तयारी थालेको छ ।
व्यास गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले तिगरम पुल सञ्चालनमा ल्याउन आफुले सम्बन्धित निकायसंग समन्वय र पहल गरिरहेको बताउनुभयो । दुई वर्षअघि निर्माण सम्पन्न भएको तिगरम पुलको नेपालतर्फ करिब एक हजार वर्गमिटर क्षेत्रमा पहिरो गएको छ । पहिरोले आवतजावत जोखिमपूर्ण बनाए पनि झोलुंगेपुलमा क्षति भने भएको छैन ।
व्यास गाँउपालिकाका हुती, धौलाकोट, सुन्सेरा र सिनाका स्थानीयले तिगरम पुल भएर भारतीय मोटरबाटो हुँदै सदरमुकाम खलंगासम्म आवतजावत गर्दछन् । तीन दिनदेखि पुल बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here