तीन वर्ष देखि तिंकर सडकमा जिलेटिन अभाव ।

0
4241

त्रिदेशीय सीमाक्षेत्रमा जोडिने दार्चुला तिंकर सडक निर्माण तीन वर्षदेखि विस्फोटक पदार्थको अभावमा ठप्प प्रायः छ । सात नम्बर प्रदेशमा निर्माणाधिन रणनीतिक महत्वको यस सडक निर्माणले नेपाली सेनाले सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा निर्माण कार्य प्रभावित बनेको हो ।
सडक निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको व्यवस्थापन गर्न नेपाली सेनासंग सम्झौता भएकोमा सम्झौता अनुसार विस्फोटक पदार्थ उपलब्ध हुन नसकेको दार्चुला तिंकर सडक योजनाले जनाएको छ । पटक पटक पत्राचार गरी विस्फोटक पदार्थ आपुर्तिका लागि नेपाली सेनालाई अनुरोध गरिएको योजना कार्यालयको अभिलेख छ ।
२०७२ वैशाख १२ को भूकम्पपछि काठमाण्डौको स्वयंभूमा उत्पादन हुने विस्फोटक पदार्थ आपुर्तिमा समस्या भएकाले सडक निर्माण कार्य प्रभावित बनेको दार्चुला तिंकर सडक योजनाका सुचना अधिकारी दिनेश रैखोलाले बताउनुभयो । पूर्व सम्झौताअनुसार नेपाली सेनाले आवश्यक मात्रामा विस्फोटक पदार्थ आपुर्ति गर्न नसकेको उहाँले बताउनुभयो ।
कडा चट्टानी भूबनोटका कारण तिंकर सडक निर्माणमा विस्फोटक पदार्थ प्रयोग गर्नुको विकल्प छैन । उत्पादन कम भएकाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकिने जानकारी नेपाली सेनाबाट आएको समेत योजनाले जनाएको छ ।
दार्चुला सदरमुकामदेखि १ सय ३० किलोमिटर अगाडि चीनको सिमाना जोडिने तिंकर भञ्ज्याङसम्म सडक निर्माण गर्ने नेपाल सरकारको लक्ष्य छ । डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला आर्थिक वर्ष २०६५÷६६ देखि दार्चुला तिंकर सडक योजना सुरु गरिएको थियो ।
खलंगादेखि राप्लाको घाटिबगडसम्मको ६० किलोमिटर क्षेत्रमा टेण्डर खोली सडक निर्माणको सम्झौता समेत भइसकेको योजना प्रमुख रामचन्द्र साहले बताउनुभयो । सुन्सेरासम्मको करिब ४० किलोमिटर लामो सडकको ट्रयाक खोलिने क्रममा छ । केही स्थानमा चट्टान काट्न बाँकी रहेकाले सुन्सेरासम्म गाडी सञ्चालन भने हुन सकेको छैन । खलंगादेखि हिकिलासम्मको क्षेत्रमा भने ट्रयाक खोलिएको छ । तर राताकाठा भीरमा साघुरो र भिरालो सडक भएकाले यातायात सञ्चालन गर्नु जोखिमपूर्ण रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here