तेब्बर भाडा तिरी यातायात बैठकमा सहभागी

0
2457

दार्चुला, मंसिर १० गते ।
आइतवार जिल्ला प्रशासन कार्यालय दार्चुलाले आयोजना गरेको सरोकारवालाको बैठकमा सहभागी हुन मार्मा गाँउपालिका प्रतिनिधिले तेब्बर भाडा तिरी गाडीको यात्रा गरेका छन् ।
यातायात सेवा सहज बनाउन आयोजना गरिएको बैठकमा सहभागी हुन मार्मा गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुष्करसिह विष्टले तेब्बर भाडा तिर्नुपरेको हो । मार्मा गाँउपालिकाको लटिनाथबाट खलंगासम्मको यात्रा गर्न आफुले तेब्बर भाडा तिर्नुपरेको उहाँले बताउनुभयो ।
बैठकमा सहभागिताका लागि जिल्ला प्रशासन कार्यालयले आमन्त्रण गरेपछि मार्मा गाँउपालिकाले वडाअध्यक्ष विष्टलाई पठाएको थियो । लटिनाथदेखि खलंगा आइपुग्न १ हजार २ सय ५० रुपैयाँ गाडीभाडा तिर्नुपरेको विष्टले बैठकमा बताएका थिए । जबकी लटिनाथदेखि खलंगाको जीपभाडा ४ सय ५० रुपैयाँ निर्धारित छ ।
लटिनाथदेखि खलंगा आइपुग्न ३ वटा गाडी परिवर्तन गर्नुपरेको वडाअध्यक्ष विष्टको भनाई छ । सार्वजनिक यातायात सेवा अस्तव्यस्त भएकोले यसमा तत्काल सुधार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । कुनै पनि स्थानबाट निश्चित समयमा गाडी छुट्ने व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जीपसेवा अस्तव्यस्त हुँदा सबैभन्दा बढी मार्मा गाँउपालिका क्षेत्र प्रभावित बनेको वडाअध्यक्ष विष्टको गुनासो छ ।