तेह्र वर्षको उमेरमा आत्महत्या ‘गम्भीर सामाजिक अपराध’ ।

0
2287

नौगाड गाँउपालिकाको वडा नम्बर ३ दल्लेख जेबलधारका १३ वर्षिय वालक धनसिह बोहराले असार १० गते आत्महत्या गरेको घटनालाई ‘गम्भीर सामाजिक अपराध’को रुपमा सरोकारवालाले लिएका छन् । लटिनाथ मावि खारमा कक्षा ४ मा अध्ययनरत बोहराले आफ्नै घरनजिकको ओखरको रुपमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
‘कलिलो उमेरमा आत्महत्या गर्नु गम्भीर सामाजिक अपराध हो’ घटनास्थल पुगेका प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाको अभिलेखअनुसार अहिलेसम्मकै कम उमेरमा धनसिह बोहराले आत्महत्या गरेका छन् ।
आइतवार विहान ७ बजे घरबाट विद्यालय जान हिडेका बोहरालाई दिउसो १ बजेतिर रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी चौकी दल्लेखका इन्चार्ज असई मोहनवहादुर कैलाले बताउनुभयो । ‘सानो उमेरमा आत्महत्या गर्नुले सिंगो समाजलाई नै स्तब्ध र गम्भीर बनाएको छ’ उहाँले भन्नुभयो ।
असार १० गते धनसिह विद्यालयमा नपुगेको मावि खारका प्रधानाध्यापक करनसिह ठगुन्ना बताउनुहुन्छ । ‘घरबाट विद्यालयका लागि हिडे पनि विद्यालयमा पुगेको थिएन, खारखोला विद्युत गृह नजिकका पसलमा केही सामान किनेर घरतिर फिर्ता गएको रहेछ’ प्रअ ठगुन्नाले भन्नुभयो ।
आफ्नो घरभन्दा करिब ५ सय मिटरको दूरीमा रहेको ओखरको रुपमा भाङ (गाजा) को डोरीमा झुण्डिएको अवस्थामा धनसिहलाई विद्यार्थीहरुले फेला पारेका थिए । दिउसो १ बजे विद्यालय छुट्टी भएपछि घरजाने क्रममा विद्यार्थीहरुले धनसिहलाई देखेको प्रअ ठगुन्नाको भनाई छ ।
आत्महत्याको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाई छ । ‘घटनास्थल पुगेर मुचुल्का तयार गरेका छौ’ प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले भन्नुभयो, ‘अनुसन्धान प्रक्रिया थालिसकेका छौ र घटनाको कारण पत्ता लगाउन केही समय लाग्छ ।’ घटनाबारे प्रहरीले आफन्तजन, विद्यालयका शिक्षक र विद्यार्थी तथा स्थानीयवासीसंग सम्पर्क गरी बुझिरहेको दल्लेख प्रहरी चौकीका इन्चार्ज असई मोहनवहादुर कैलाले बताउनुभयो ।
घटना हुनुभन्दा ३÷४ दिन पहिले कक्षा ४ मा संगै पढ्ने एक विद्यार्थीसंग धनसिहको सामान्य विवाद भएको थियो । एक सय रुपैयाँ पाएको र गाडीको खेलौना पाएको बारेमा भएको विवाद धनसिहकै आफन्तको उपस्थितिमा समाधान भएको विद्यालयका प्रअ ठगुन्नाले बताउनुभयो ।
धनसिहले असार १० गते विहान आफ्नी आमासंग १ सय रुपैयाँ मागेका थिए । उक्त रुपैयाँले खारखोला जलविद्युत गृहनजिकका पसलबाट केही सामान किनेको स्थानीय वताउँछन् । घरबाट निस्किदा विद्यालय जान्छु भनेर राम्रै अवस्थामा गएको धनसिहका आफन्तजन बताउँछन् ।
कक्षा ४ मा अनुत्तिर्ण भएपछि धनसिहले फेरि यो वर्ष कक्षा ४ कै पढाइ गरिरहेका थिए । यसअघि कक्षा १ र ३ मा पनि धनसिह एकएक पटक अनुत्तिर्ण भएको विद्यालयका प्रधानाध्यापक करनसिह ठगुन्नाको भनाई छ ।
धनसिहका बुवा ललितसिह बोहरा दुई वर्षदेखि रोजगारीको सिलसिलामा कतारमा छन् । घरमा आमा र धनसिहसहित तीन छोरा मात्रै बस्दथे । धनसिहका कान्छा भाई कक्षा २ र कक्षा १ मा मावि खारमै अध्ययन गरिरहेका छन् ।
कलिलो उमेरमा आत्महत्याका घटनालाई गम्भीर रुपमा लिनुपर्ने नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताउनुभयो । ‘घटनाको गहन अनुसन्धान गरी घटनाको कारण खोजिनुपर्छ’ उहाँले भन्नुभयो ।
आत्महत्याका घटना बढिरहनुले गम्भीर सामाजिक समस्या देखिएको जिल्ला न्यायाधिवक्ता निरन्जन स्थापितले बताउनुभयो । आत्महत्याका घटना न्युनिकरणका लागि सचेतना फैलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘आत्महत्या न्युनिकरण गर्न जनचेतना अभिवृद्धि गर्नुपर्छ’ जिल्ला न्यायाधिवक्ता स्थापितले भन्नुभयो ।
दार्चुलामा चालु आर्थिक वर्षको अवधिमा १५ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । पानीमा हाम फालेर दुईजनाले ज्यान गुमाएका छन् भने भवितव्य घटनामा १५ जनाले ज्यान गुमाएका छन् । यसैगरी, फुटकर ज्यानतर्फ ६ जनाको मृत्यु भएको प्रहरी अभिलेख छ । प्रहरीका अनुसार आत्महत्या, भवितव्य, प्राकृतिक प्रकोप र अन्य कारणले २०७४ साउनदेखि हालसम्म ३८ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here